टी–२० विश्वकप : नेपाल आज वेस्ट इन्डिजसँग खेल्दै



काठमाडौं, फागुन ३ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज दुई पटकको विश्व विजेता वेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाली समयअनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा खेल सुरु हुनेछ । समूह ‘सी’ मा रहेको नेपाल हालसम्म अंकविहीन अवस्थामा छ भने वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ ।

नेपाल आजको खेलमा प्रतियोगिताको पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ भने वेस्ट इन्डिज लगातार तेस्रो जित हासिल गर्दै ‘सुपर आठ’ चरणमा स्थान सुरक्षित गर्ने योजनामा छ ।

नेपालले पहिलो खेलमा इंग्ल्यान्ड राष्ट्रिय क्रिकेट टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि चार रनले पराजित भएको थियो । १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

दोस्रो खेलमा भने नेपालको प्रदर्शन कमजोर रह्यो । इटाली राष्ट्रिय क्रिकेट टोली विरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १२३ रन मात्र बनायो, जुन लक्ष्य इटालीले कुनै विकेट नगुमाई सहजै पूरा गर्दै १० विकेटको जित दर्ता ग¥यो ।

भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा नेपालले समूह चरणका सबै चार खेल भारतमै खेलिरहेको छ ।

यसअघि खेलेका दुवै विश्वकपमा नेपाल समूह चरणभन्दा माथि पुग्न सकेको छैन । नेपाल हाल रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेलिरहेको छ ।

समूह ‘सी’ मा नेपालसँगै वेस्ट इन्डिज, इंग्ल्यान्ड, स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली र इटाली रहेका छन् । सुपर आठ चरणको सम्भावना कायम राख्न नेपाललाई वेस्ट इन्डिजविरुद्ध जित अनिवार्यजस्तै बनेको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्