विश्वकपको अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै



काठमाडौं, फागुन ५ । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले आज आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र स्कटल्यान्डको खेल नेपाली समय अनुसार मंगलबार साँझ ७ बजेर १५ मिनेटमा भारतको मुम्बईस्थित वनखेडे मैदानमा हुँदैछ ।

यो समूहबाट वेष्टइन्डिन र इंग्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेका छन् । इटाली र स्कटल्यान्डले दुईदुई अंक जोड्दा नेपाल भने अंकबिहीन छ । विश्वकपबाट बाहिरिसकेको नेपालमाथि आज सान्त्वना जित निकाल्ने अवसर बाँकी छ ।

पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो।

दोस्रो खेलमा कमजोर प्रदर्शन गर्दै नेपाल इटालीसँग १० विकेटले पराजित भयो। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले बनाएको १२३ रन इटालीले बिना विकेटको क्षतिमा भेट्टाएको थियो ।

तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयो । टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले १३३ रन मात्र बनाउन सक्यो । नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभरमा २ बलमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

समूह सीमा वेस्ट इन्डिज ६ अंकसहित शीर्ष स्थानमा छ भने इंग्ल्यान्डसमेत ६ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल रहेको समूहबाट यी दुई टिम सुपर आठमा प्रवेश गर्दा इटाली, स्कटल्यान्ड र नेपाल बाहिरीसकेका छन् ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्