काठमाडौं विश्वकै प्रदूषित शहरको तेस्रो स्थानमा, पहिलो स्थानमा लाहोर
काठमाडौं, फागुन २५ । काठमाडौं अहिले विश्वकै प्रदूषित शहरको तेस्रो स्थानमा पुगेको छ ।
वायु गुणस्तर कायम गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार सोमबार बिहान साढे ७ बजेको समयमा काठमाडौं एक्यूआई १ सय ८९ सम्म पुगेको हो ।
पाकिस्तानको लाहोर ३ सय ६ एक्यूआईसहित विश्वकै प्रदूषित शहरको पहिलो र भारतको दिल्ली २ सय २ एक्यूआईसहित दोस्रो स्थानमा रहेको हो । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ ।
५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ । १ सय १ देखि १ सय ५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १ सय ५१ देखि २ सयसम्मलाई अस्वस्थ, २०१ देखि ३ सयसम्मलाई निकै अस्वस्थ र ३ सय १ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग र क्यान्सर लगायत रोगको जोखिम बढ्छ । काठमाडौं उपत्यकाको वायु प्रदूषण आइतबारदेखि बढेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिदै जाँदा वायु प्रदूषण पनि बढ्दै गएको हो ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार
















