सात महिनापछि भोजपुर र खोटाङका विमानस्थल सञ्चालनमा


 


SAM_5826

भोजपुर, असार १७

बन्द भएको झण्डै सात महिनापछि पूर्वि नेपालको पहाडी जिल्ला भोजपुर र खोटाङका विमानस्थल सञ्चालनमा आएका छन्। मंगलबार यी विमानस्थलमा परीक्षण हवाई उडानसँगै सञ्चालनमा आएका हुन्।

यी दुवै विमानस्थलमा मंगलबार तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो। काठमाडौबाट खोटाङको खानीडाँडास्थित मनमाया राई विमानस्थल र भोजपुरको विमानस्थलमा एउटै जहाजले परीक्षण उडान गरेको हो। विमानस्थलको स्तरोन्नती हुन थालेपछि गत मंसिर ९ गतेबाट भोजपुरमा हवाई उडान बन्द भएको थियो। भोजपुर विमानस्थलको कालोपत्रेको काम बर्खामा नहुने भएपछि उडान सुरु भएको हो।

परीक्षण उडानसँगै दुबै विमानस्थलमा नियमित उडान सुरु हुने प्राधिकरणले जनाएको छ। भोजपुर विमानस्थलको स्तरोन्नती कालिका र प्यासिफिक संयुक्त निर्माण कम्पनीले पाँच करोड रुपैयाँमा ठेक्काको जिम्मा लिएका हुन्।

खानीडाँडा विमानस्थलको कालोपत्रेको काम भने सम्पन्न भएको छ। तर विमानस्थलको एप्रोन, ढल, टेवापर्खाल, ट्रनिङप्याड र कटिङफिलिङको काम बाँकी नै छ। खानीडाँडाँ विमानस्थल बुइल्डर्स र च्याङ्मिला संयुक्त निर्माण कम्पनीले सात करोड २४ हजार तीन सय ८० रुपैयाँमा स्तरोन्नतीको जिम्मा लिएका थिए। यी दुबै विमानस्थल गत जेठ १५ भित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिए पनि समयमा दुबै कम्पनीले काम सकेनन्।

भोजपुर विमानस्थलको पाँच सय ४५ मिटर लम्बाई र २० मिटर चौडाई स्तरोन्नती भएको छ। खानीडाँडा विमानस्थलको पाँच सय ९० मिटर कालोपत्रे गरिएको हो। भोजपुरमा नेपाल बायुसेवा निगमको जहाजले काठमाडौ–भोजपुर हप्तामा चार उडान गर्ने जनाएको छ ।

उस्ले आइतबार, मंगलबार, शुक्रबार र शनिबार नियमित उडान गर्ने जनाएको हो। तारा एयरले हप्तामा एक दिन काठमाडौं–भोजपुर उडान गर्दे आएको थियो। अब तारा एयरले पनि हप्तामा दुई दिन उडान गर्ने तयारी गर्देछ । यसअघि सोमबार उडान गर्दे अाएको तारा एयरले बिहिबार पनि उडानको तयारी थालेको हो ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्