म प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको हुँ भन्ने कुरा भ्रम मात्रै : रवि लामिछाने
ललितपुर । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू इतिहास लेख्ने यात्रामा रहेको बताएका छन् ।
पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा स्टाफ कलेज जाउलाखेल ललितपुरमा आयोजना गरिएको दुई दिने संसद् संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षणको समापन सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मलाई जीवनीमा ठूलो इच्छा छैन । जीवनी लेख्नु ठूलो कुरा होइन । हामी इतिहास लेख्ने यात्रामा छौं । सही ढंगमा राजनीतिलाई लिएर आऔं, संसदीय अभ्यासलाई मर्यादित बनाऔं भन्ने हो,’ लामिछानेले भने ।
रास्वपाका सांसदहरू नयाँ भएको कारणले मात्रै नभइ सधैं सिक्ने र सिकाउने प्रक्रिया जीवनको एक अभिन्न अंग भएको सभापति लामिछानेको भनाइ छ ।
साथै उनले आफु सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न हिंडेको भन्ने कसैलाई लागेको भए त्यो भ्रम मात्रै भएको बताएका छन् ।
‘पछिल्लो समय विश्व राजनीतिले नयाँ मोड लिंदै गरेको अवस्थामा मैले राजनीतिलाई धेरै ठूलो सपनाको रुपमा अघि सारेको थिएँ । तर नेताको रुपमा सरकारको तहमा पुगुला, सरकारमा मन्त्रीका रुपमा रहुला र प्रधानमन्त्रीको रुपमा रहुला भनेर होइन,’ उनले थप भने ।
जाउलाखेलमा राखिएको रास्वपाको दुईदिने प्रशिक्षण कार्यक्रम पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्लेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सांसदहरूलाई संसदीय भूमिका, नीति, समसामयिक राजनीति तथा प्रभावकारी प्रस्तुतीकरणलगायत विविध विषयमा प्रशिक्षण दिइएको छ ।
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार
















