पूर्वीपहाडमा क्रियाशील किरात जनवादी वर्कसले हतियार बुझायो


 


धरान, असार १८

पूर्वी पहाडमा सशस्त्र विद्रोह गर्दै आएका किरात जनवादी वर्कर्स पार्टी (विद्रोही) ले हतियार बुझाएको छ। सशस्त्र विद्रोह छाडेको घोषणा गर्दै उक्त पार्टीले शुक्रबार संसदीय समिति समक्ष हतियार बुझाएको वार्ता उपसमितिका संयोजक आनन्द ढुङ्गानाले जनाएका छन्।

उनीहरुले पार्टीसँग भएको चार थान थ्री नट थ्री मार्का राइफल, एउटा कटुवा पेस्तोल र तीन थान गोली वार्ता उपसमितिका संयोजक आनन्द ढुङ्गानालाई बुझाएका हुन्। उनीहरुले पार्टीले आफ्नो अर्द्धसैन्य बलको भरणपोषण र शहीद परिवारका लागि एकमुष्ट एक करोड रुपैयाँ उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

उनीहरुले आत्मनिर्णय अधिकार सहितको किरात स्वायत्त राज्यको घोषणा, पार्टीका नेता कार्यकर्तामाथि लागेको मुद्दा खारेज हुनुपर्ने माग गरेका छन्। यस्तै सशस्त्र संघर्षको क्रममा मारिएका पूर्वअध्यक्ष विवस विद्रोही र सदस्य खगेन्द्र जवेगुलाई शहीद घोषणा गरिनु पर्ने लगायत माग राखेका छन् ।

सभासद ढुङ्गानाले विभिन्न राजनितिक संघर्ष गर्ने समुहसँग सरकारले वार्ता गरिरहेको र त्यसैको परिणाम स्वरुप किरात जनवादी वर्कस पार्टीले हतियार छाडेर मुलधारमा प्रवेश गरेको बताए। उनले राज्यका अन्य नागरिकसरह सरकारले सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्