परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन भ्रमणमा जाँदै



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी मुलुक चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्री खनालको चीन भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।

चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीनको औपचारिक भ्रमणमा जान लागेका हुन्।

भ्रमणमा परराष्ट्रमन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्न र सहयोगलाई अगाडि बढाउन पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले चीनका उच्चस्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्न बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनेछन् । सो सम्मेलनमा उनले चिनियाँ व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

परराष्ट्रमन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।

स्वागत कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री खनाल असार ३ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

भारत भ्रमण सकेर नेपाल फर्किएको एक सातापछि परराष्ट्रमन्त्री खनालको चीन भ्रमण तय भएको हो ।

परराष्ट्रमन्त्री खनाल यही जेठ २२ गते मात्रै भारत भ्रमणमा गएर २४ गते काठमाडौं फर्किएका थिए । भारत बसाइको क्रममा उनले समकक्षी एस जयशंकर, सत्तारुढ भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले लगायतसँग भेटवार्ता गरेका थिए ।

खासगरी नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा खनालले स्पष्ट रुपमा आफ्ना अडान दोहोर्‍याएका थिए ।

चीन भ्रमणको क्रममा उक्त विषयले त्यहाँ पनि प्रवेश पाउनसक्ने भएकाले यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्