युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित
युरोपका विभिन्न देशहरू हाल कीर्तिमानी गर्मीको चपेटामा परेका छन्। जलवायु परिवर्तनका कारण युरोपेली महाद्वीपमा चरम गर्मीको नयाँ युग शुरु भएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्।
तापक्रममा भएको यो वृद्धिका कारण स्वास्थ्य, यातायात र अग्नि नियन्त्रण सेवाहरूमा ठूलो चाप परेको छ भने सम्बन्धित निकायहरूले स्वास्थ्य शतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेका छन्। फ्रान्समा गर्मीले दशकौँ यताको रेकर्ड तोडेको छ।
गत जुन २४ मा फ्रान्समा सन् १९४७ यताकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ । अत्यधिक गर्मीका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । विशेष गरी सडकमा बसोबास गर्ने असहाय व्यक्तिहरूमा यसको गम्भीर असर देखिएको सामाजिक सेवा अधिकारीहरूले बताएका छन्।
जर्मनीमा पनि गर्मीका कारण स्वास्थ्य समस्याहरू बढ्दै गएका छन्। अस्पतालका आकस्मिक कक्षहरूमा ’हिट स्ट्रोक’ का कारण वृद्धवृद्धाहरूको चाप उल्लेख्य रूपमा बढेको छ। त्यस्तै, लामो समयसम्मको उच्च तापक्रमका कारण जर्मनीको ‘ए२’ मोटरमार्गका कतिपय पुराना खण्डहरू तातेर बिग्रिएका छन्।
यता इटालीको स्वास्थ्य मन्त्रालयले रोम, मिलान, टुरिन, फ्लोरेन्स, बोलोग्ना, भेनिस र भेरोनासहित १८ वटा सहरमा ‘रेड अलर्ट’ जारी गरेको छ। इटालीको मध्य र उत्तरी भागमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान गरिएको छ।
स्पेनमा पनि जुन महिनाको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ । स्पेनको मौसम विज्ञान एजेन्सीकाअनुसार सन् १९५० यताकै उच्च औसत जुन तापक्रम यस वर्ष रेकर्ड गरिएको हो । स्पेनका कुल ८२८ मौसम केन्द्रहरूमध्ये १०० भन्दा बढी केन्द्रहरूमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, जसले देशको दक्षिणदेखि उत्तरसम्मको भूभागलाई प्रभावित पारेको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार












