सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन



यो आन्दोलन एउटा यस्तो प्रश्नबाट सुरु भयो, जुन आज लाखौँ भारतीय युवाको साझा चिन्ता बनेको छ । त्यो यदि भविष्य निर्धारण गर्ने परीक्षामै विश्वास गर्न सकिँदैन भने कसमा विश्वास गर्ने ?
केही सातापछि, गत सोमबार हजारौँ युवा भारतको संसदतर्फ र्‍याली गर्न निस्किए । प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्यास प्रहार गर्‍यो र लाठीचार्जसमेत गर्‍यो । त्यसयता पनि हजारौँ विद्यार्थी निरन्तर सडकमा उत्रिरहेका छन् ।

‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक संगठनको अगुवाइमा यो युवा आन्दोलन परीक्षा प्रश्नपत्र पटक–पटक चुहावट भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै सुरु भएको हो । छोटो समयमै यो भारतमा धेरै वर्षयताकै सबैभन्दा ठुलो विद्यार्थी आन्दोलन बनेको छ ।

आन्दोलनकारीहरूले शिक्षा प्रणालीमा व्यापक सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका छन् । आन्दोलनको केन्द्रमा रहेका सामाजिक अभियन्ता सोनम वाङचुक २६ दिनसम्म अनशन बसे । उनले बिहीबार राति अनशन तोडे पनि विद्यार्थी नेताहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

विद्यार्थी आन्दोलनमात्र कि ठुलो राजनीतिक परिवर्तनको सङ्केत ?

मुख्य प्रश्न अहिले यही छ– यो केवल अर्को विद्यार्थी आन्दोलन हो, वा यसले भारतमा अझ ठुलो राजनीतिक परिवर्तनको सङ्केत गरिरहेको छ ?

भारतीय इतिहासले दुवै सम्भावना देखाएको छ । विद्यार्थी आन्दोलनले भारतको राजनीतिलाई पटक–पटक प्रभावित गरेको छ । सन् १९७० को दशकमा गुजरातको नव निर्माण आन्दोलनले समाजवादी नेता जयप्रकाश नारायणको आन्दोलनलाई बल दिएको थियो, जसले तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीविरुद्ध देशव्यापी आन्दोलनको रूप लिएको थियो । यद्यपि केही विद्यार्थी आन्दोलन भने चाँडै सेलाएका पनि छन् ।

यो आन्दोलन किन फरक छ ?

विश्लेषकहरूका अनुसार सीजेपी आन्दोलनको विशेषता यसको आकारमात्र होइन, यसको मुद्दा पनि हो । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध विगत एक दशकमा भएका नागरिकता कानुन, कृषि कानुन वा अन्य नीतिसम्बन्धी आन्दोलनहरू मुख्यतः वैचारिक थिए । तर अहिलेको आन्दोलन विचारधाराभन्दा पनि सुशासन र निष्पक्षताको प्रश्नमा केन्द्रित छ ।

यसले राज्यले लाखौँ युवाले आफ्नो भविष्य निर्माण गर्ने माध्यमका रूपमा हेर्ने परीक्षा प्रणालीको निष्पक्षता कायम राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाएको छ ।

अमेरिकाको ब्राउन विश्वविद्यालयकी वरिष्ठ अनुसन्धानकर्ता यामिनी अय्यरका अनुसार परीक्षा र शिक्षा प्रणाली जात, वर्ग र लैङ्गिक सीमाभन्दा माथिको साझा मुद्दा हो । त्यसैले आन्दोलन कुनै एक समुदायको नभई धेरै व्यापक समूहको प्रतिनिधित्व गर्छ ।

दिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका अनुसन्धानकर्ता राहुल वर्माका अनुसार यो आन्दोलन भारतीय जनता पार्टी (भाजपा)का लागि फरक प्रकारको चुनौती हो । उनका अनुसार यो आन्दोलन सरकारको प्रशासनिक असफलतामाथि केन्द्रित छ । प्रश्नपत्र चुहावट रोक्न नसक्नु र निष्पक्ष परीक्षा सञ्चालन गर्न नसक्नु सरकारको शासन क्षमतामाथिको प्रश्न हो ।

भाजपाका आफ्नै समर्थक पनि आन्दोलनमा

वर्माका अनुसार आन्दोलनमा सहभागी धेरै युवा भाजपाका परम्परागत विरोधी होइनन् । यी ती युवा र उनका अभिभावक हुन्, जसले सरकारी परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेर सामाजिक र आर्थिक उन्नति गर्ने सपना देखेका छन् । त्यसैले यो आन्दोलनलाई विपक्षीको षड्यन्त्र भनेरमात्र खारेज गर्न सरकारलाई कठिन भएको विश्लेषकहरूको भनाइ छ ।

सामाजिक सञ्जालबाट सडकसम्म

पछिल्ला दुई सातादेखि यो आन्दोलनको तुलना सन् २०११ को भ्रष्टाचारविरोधी आन्दोलनसँग भइरहेको थियो । त्यसबेला धेरैले सामाजिक सञ्जालको लोकप्रियता वास्तविक आन्दोलनमा परिणत नहुने तर्क गरेका थिए ।

तर सोमबार संसदतर्फ भएको विशाल प्रदर्शनले डिजिटल समर्थन सडकमा पनि देखिएको सङ्केत दिएको छ । मिशिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पालका अनुसार सामाजिक सञ्जाल अहिले भावनात्मक विस्फोटको माध्यम बनेको छ । लामो समयदेखि सरकारप्रतिको असन्तुष्टि जम्मा भइरहेकाले यस्तो आन्दोलन अचानक ठुलो बन्न सक्छ ।

आन्दोलनले नयाँ मोड लियो

यामिनी अय्यरका अनुसार आन्दोलनमा विद्यार्थी संगठन, वामपन्थी समूह र दलित अधिकारवादी संस्था भीम आर्मीको उपस्थिति रहे पनि आन्दोलनको मुख्य शक्ति स्वतःस्फूर्त रूपमा देशभरबाट आएका विद्यार्थी थिए । उनका अनुसार, ‘हालको भारतको इतिहासमा यति व्यापक र स्वतःस्फूर्त विद्यार्थी सहभागिता निकै दुर्लभ हो ।’

उनले यो आन्दोलन अब सीजेपी वा सोनम वाङचुकको अनशनभन्दा धेरै ठुलो बनिसकेको बताएकी छन् । उनका अनुसार विद्यार्थीहरू केवल प्रश्नपत्र चुहावटको विरोधमा नभई लामो समयदेखि मनमा रहेको निराशा व्यक्त गर्न सडकमा आएका हुन् ।

सरकारको प्रतिक्रिया

सुरुमा मन्त्री र पार्टी प्रवक्ताले मात्र प्रतिक्रिया दिए पनि आन्दोलन चर्किएपछि भाजपाको शीर्ष नेतृत्व सक्रिय भएको छ । रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूले विद्यार्थीलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरेको आरोप लगाए । उनले सरकार संसदमार्फत समाधान खोज्न प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै युवाको भविष्यभन्दा महत्त्वपूर्ण अरू केही नभएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘प्रश्नपत्र चुहावटमा संलग्नलाई छिटो र कडा सजाय दिन विशेष अदालत गठन गरिनेछ । युवाको भविष्यसँग खेल्ने कसैलाई पनि छुट दिइने छैन ।’

असन्तुष्टि परीक्षा प्रणालीभन्दा धेरै ठुलो

तर यी आश्वासनले आन्दोलन रोकिने निश्चित छैन । यामिनी अय्यरका अनुसार आन्दोलनले सुस्त बन्दै गएको अर्थतन्त्र, रोजगारीको अभाव र भविष्यप्रतिको बढ्दो निराशालाई पनि उजागर गरेको छ ।

उनका अनुसार लामो समयदेखि सत्तामा रहेको सरकारप्रति जनतामा थकान देखिन थालेको छ । सरकारले आफ्ना पुराना बाचा पूरा गर्न नसकेको अनुभूति धेरै युवामा बढेको छ ।

उनी आन्दोलनको मुख्य सन्देश यस्तो रहेको बताउँछिन् ‘हामी थाकिसकेका छौं । अब विचार, सुशासन र परिणाममा आधारित नयाँ प्रकारको राजनीति चाहिन्छ ।’

आन्दोलनको भविष्य

यद्यपि सबै विश्लेषक आन्दोलन दीर्घकालीन राजनीतिक शक्तिमा परिणत हुनेमा विश्वस्त छैनन् । राजनीतिशास्त्री सुहास पालशीकरका अनुसार यो आन्दोलनले केही समय जनआक्रोश व्यक्त गर्ने अवसर दिन सक्छ, तर किसान आन्दोलनजस्तै बिस्तारै कमजोर पनि हुन सक्छ ।

उनले यसलाई केवल ‘जेन–जी विद्रोह’ भनेर व्याख्या गर्नु पनि गलत हुने बताए । उनका अनुसार आन्दोलनको राजनीतिक र वैचारिक स्वरूप अझै स्पष्ट भइसकेको छैन र विभिन्न राजनीतिक शक्तिले यसमा प्रभाव जमाउने प्रयास गर्नेछन् ।

तर एउटा कुरा भने स्पष्ट भएको उनी बताउँछन्– भारतीय युवाले राज्यको सामना गर्न तयार रहेको सन्देश दिएका छन् ।

लोकतान्त्रिक चेतनाको सङ्केत

दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका अर्थशास्त्री सुरजित मजुमदारका अनुसार यो आन्दोलन केवल प्रश्नपत्र चुहावटको विरोध होइन, भारतको शिक्षा प्रणाली र समग्र शासन व्यवस्थाप्रतिको युवाहरूको गहिरो असन्तुष्टिको अभिव्यक्ति हो ।

उनका अनुसार अघिल्ला विद्यार्थी आन्दोलनको तुलनामा अहिलेको आन्दोलन झन् व्यापक र ठुलो देखिएको छ । यामिनी अय्यरको निष्कर्षमा भारतमा अहिले एउटा नयाँ राजनीतिक प्रवृत्ति देखिएको छ, जहाँ नागरिकहरूले केवल चुनावमार्फत मात्र होइन, सडकबाट पनि सरकारसँग जवाफदेहिता मागिरहेका छन् ।

सीजेपी आन्दोलन क्षणिक आक्रोशमा सीमित हुन्छ वा भारतीय राजनीतिमा नयाँ अध्यायको सुरुआत बन्छ भन्ने प्रश्नको उत्तर भने आगामी दिनहरूले दिनेछन् ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार