बर्थ डे मनाएपछि आफ्नै साथीको हत्या, ४ जना पक्राउ



काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत साउन १ गते लजिन आफ्नो साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका थिए ।

त्यहाँ लजिन सहित सात जना साथीहरूले राति करिब १०ः३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

लजिन सो दिन घर नफर्किएपछि उनको परिवारले भोलिपल्ट अर्थात् साउन २ गते इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, पोलिग्राफ परीक्षण, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीहरुको समेत सहयोगमा अनुसन्धान अघि बढाएको थियो ।

साउन ९ गते बिहान ९:१५ बजेको समयमा सोही स्थानको मनखोलाको खोल्सामा लजिनको शव फेला परेको थियो ।

शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ ।

घटनामा संलग्न सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध यसअघि व्यक्ति बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान सुरु गरिएको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार आइफोनको विषयमा भएको विवादपछि कुटपिट हुँदा लजिनको मृत्यु भएको खुलेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार