फक्रिँदो फूलजस्तो भोजपुर



नौलो हुन थालेछ भोजपुर ! बजारतिर निस्कँदा पहिले नचिनेका कोही भेटिँदैनथे । अहिले चिनेका भनेका कता कति मात्रै बाँकि रहेछन् । दिउँसोको कार्यक्रम उज्यालैमा सकिएको हुनाले साँझ नखस्तै बजार घुम्ने मन बनाएँ मैले । सामुदायिक भवनदेखि अदालत अघिको तेर्पायाँ उकालो चढ्दासम्म चिनेको एउटा अनुहार नदेखेपछि मन दुख्यो चिरिक्क । भोजपुर छोडेर हिँड्ने म मात्र होइन रहेछु जस्तो लाग्यो ।

‘मेरो पुस्तैले पो भोजपुर छोडेछ कि क्या हो !’ मनमनै निस्सासिएँ म ।

कहाँ पुगेका होलान् यति धेरै भोजपुरेहरु !

म पुगेको थिएँ भोजपुर २०६७ साल फागुन महिनाको ६ गते दिउँसो । नेकपा एमालेको जिल्ला परिषदको उद्घाटन मेरो मूल कार्यक्रम थियो । तर जिल्लामा पाइलो हाल्दाहाल्दै मैले फागुन ७ गतेको राष्ट्रिय प्रजातन्त्र दिवसमा सहभागीताको निम्तो पनि पाइहालेँ । सँगसँगै पाएँ विद्योदय उच्चमाध्यमिक विद्यालय र चोमोलोङमा एफ. एम.को निम्तो । मैले पढेको विद्योदय हाई स्कूल नै अहिलेको विद्योदय उच्चमाध्यमिक विद्यालय हो भन्ने जानकारी मसँगै थियो अनि बजारको माथि सिरानमा खुलेको एफ.एम. रेडियो मेरो सपनाको सँसार थियो । सरकारी स्तरमा २०५२ सालमा मैले आरम्भ गरेको एफ.एम. रेडियो मेरो जन्मस्थलसम्म आइपुगेको थियो ।

अहिले भोजपुरमा मसँग सिधै जोडिने केही छैन । म जन्मिएको थिएँ भोजपुर बजारबाट पश्चिमतिर देखिने पाखाको गोगने गाउँमा । त्यहाँ मेरो मावलीघर थियो । थियो भन्नुको अर्थ त्यो घर पनि अहिले अस्तित्वमा छैन ।

म हुर्किएको थिएँ पोखरेमा । मैले छुनुमुनु खेलेको घर र कोठेबारी पनि अहिले त्यहाँ छैन । तर पनि भोजपुर मेरो मातृथलो भएको हुनाले दुनियाको जुन कुनामा पुगे पनि म भोजपुरलाई बिर्सन सक्दिन । पोखरे गाउँ माथिको बाक्लो जङ्गल र त्यसको सिरानमा ठिङ्ग उभिएको काफ्लेको बर डाँडो (अहिले त त्यो बरको रुख पनि रैनछ), त्यहाँभन्दा माथिको लेखर्क अनि सुन्तले, मेरो स्मृतिमा सधैँभरि नाचिरहने प्राकृतिक सौन्दर्यका भूतल हुन् ।

मध्यपहाडी लोकमार्गमा पर्ने पान्धारे र भिउटावरको जग बस्न थालेको टेम्के त यतिबेला मुलुकभरि नै चर्चाको विषय बनेका छन् । बेलाबेलामा मनले भन्छ – त्यस्तो सुन्दर प्रकृतिबाट कसरी उखेलिन सकेको हुँला म ! तर यसपालि थाहा भयो, उखेलिएको म मात्र होइन रहेछु ।

पहाडी जिल्लामा नेपालमा तीन जिल्लालाई सबैभन्दा सुन्दर छन् भन्ने गरेको छु मैले । यद्यपि मैले मनाङ, रोल्पा, मुगु, हुम्ला, बैतडी र दार्चुलाको भूआकृतिको रसास्वादन गर्न पाएको छैन । भूमिगत यात्रामा मैले घुमेका डाँडाकाँडा र खुला भएपछि मैले टेकेका धेरै जिल्लाहरुमा इलामपछिको सुन्दर जिल्ला भोजपुर नै हो भन्ने मेरो ठहर छ । भोजपुरपछिको सुन्दर जिल्ला डडेलधुरा हो भन्ने लाग्छ मलाई ।

आफू उखेलिए पनि भोजपुर शब्दले जादुको तागत दिन्छ मलाई । काठमाण्डौमा थुप्रिन पुगेका हजारौँलाई पनि जन्मभूमिको नामले यस्तै तागत दिन्छ होला ।

ज्ञानीहरुले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ भनेर शायद यही मनको दुःखलाई भनेका हुन् कि ! ज्ञानीहरुले सिर्जना गरेको यो वाक्य सधैँ मेरो मनमा रहिरहोस् भन्ने म भित्रको भावना कहिल्यै नमरोस् ! भोजपुरलाई सम्झिँदा सधैँभरि मेरो मनमा ‘जननी जन्मभूमिश्च … ’ को रस बगिरहोस ।

प्रदीप नेपाल

यसो भनेर तर, मैले जिल्ला माथि हकदावी गर्न खोजेको होइन । म भोजपुरमा जन्मिएँ । भोजपुरकै अन्नपानीले, सिरसिरे बतासले मलाई कवि बनायो । त्यही कविले मलाई कथाकार बनाउँदै आख्यानमा लगेर थन्क्यायो । त्यसै आज आफ्नो भोजपुरे परिचय नभए पनि म भोजपुरमा जन्मिएको र हुर्किएको नेपाली साहित्यकार हुँ भन्न मलाई मन लाग्छ ।

मैले भोजपुरका दुइटा स्कूलमा पढ्ने मौका पाएको थिएँ । एउटा थियो पोखरेको सरस्वती मिडिल स्कूल (अहिलेको सरस्वती निम्नमाध्यमिक विद्यालय), र अर्को थियो विद्योदय हाई स्कूल (अहिलेको विद्योदय उच्चमाध्यमिक विद्यालय) । सरस्वतीमा मैले कक्षा सातसम्म पढेको थिएँ । बीचको एक वर्ष मैले चैनपुरको सरस्वती हाई स्कूलमा पढेको थिएँ ।

नौ र दश मैले विद्योदय हाई स्कूलमा पढेको थिएँ । भोजपुर बजार अहिले भन्दा धेरै सानो थियो उतिबेला । बजारलाई पूर्व पश्चिम र उत्तर दक्षिण पारेर भाग लगाउने स्थानलाई भन्ज्याङ भनिन्थ्यो । त्यो भन्ज्याङबाट पूर्वतिर जाने छोटो पोखरे लाइन । दक्षिणतिर टुँडिखेलको मुखसम्म दोहोरो लाइनको मुल बजार ।

त्यो बजारपछि लामो सुनसान बाटो आउँथ्यो र त्यसपछि मात्र डाँडागाउँका राता तले घरहरु भेटिन्थे । त्यतिबेला डाँडागाउँ बजार जस्तो पनि थिएन । डाँडागाउँबाट स्कूलतिर ओरालो लागेपछि त हामी गाउँघरमै पसिहाल्थ्यौँ । भन्ज्याङबाट पश्चिमतिर ओरालोको लाइनलाई त्यतिबेला भोटेपसल भनिन्थ्यो । त्यो पनि छोटै थियो । उत्तरतिर त शायद पाँच सात घर मात्रै थिए ।

तर अहिले फेरिएछ भोजपुर बेस्सरी । पूर्वतिरको बजार झण्डै झण्डै उस्तै रहेछ तर दक्षिणतिर भने बाक्ला घरहरु, टुँडिखेललाई पनि छिचोलेर डाँडागाउँसम्मै तन्किएछन् । त्यतिमात्रै होइन, उतिबेला एउटा पसलको साथी भएको विद्योदय उच्चमाध्यमिक विद्यालय अहिले बजारको साँध हुन थालेको रहछ । उत्तरतिर त बजार चिताइनसक्नु गरी तन्किइरहेको रहेछ । काफ्लेका सुनसान बारीका डीलहरु बजारको लहरले छोपिई सकेका रहेछन् । चोमोलोङ्मा एफ.एम. मा अन्तरवार्ता दिन जाँदा उकालोको बजार बीचबाट हिँड्दा म छक्कै परेको थिएँ ।

विद्योदय हाई स्कूल त्यतिबेला जिल्लाभरिको एस.एल.सी. परीक्षा दिने केन्द्र थियो । खोटाङ जिल्लाका विद्यार्थीहरु पनि एस.एल.सी. दिन विद्योदयमै आउँथे । एस.एल.सी.को टेस्ट परीक्षा सकिएपछि भोजपुर बजार नयाँ नयाँ अनुहारले भरिन्थ्यो । एस.एल.सी. परीक्षा सकिएपछि बजार फेरि रैथाने नागरिकहरुसँगै रमाउन थाल्थ्यो ।

विद्योदय हाई स्कूलमा त्यतिबेला रुद्र प्रधान प्रधानअध्यापक हुनुहुन्थ्यो । हामीलाई रत्न तमोट, पार्वतीकुमार पराजुली, कमल श्रेष्ठ, केदारनाथ श्रेष्ठ, केदारनाथ हलवाई, पूर्ण महत सरहरुले पढाउनु हुन्थ्यो । अरु सरहरुको नाम स्मृतिबाट हराएछ । यसका लागि क्षमायाचना गर्नु बाहेक अहिले अरु के गर्न सकिएला र ! लालधन शाक्य कार्यालयको एकमात्र कर्मचारी हुनुहुन्थ्यो । आजको समृद्ध विद्योदय उच्चमाध्यमिक विद्यालयको निर्माणमा, उहाँहरुको ठूलो योगदान छ । हामीजस्ता हजारौँ विद्यार्थीहरुलाई ज्ञानी नागरिक बनाएर विश्वभरि छर्ने हाम्रा गुरुहरु हामी सबैका लागि वन्दनीय हुनुहुन्छ ।

विद्योदयमा अध्ययन गर्दाको एउटा सकारात्मक पक्षका बारेमा यहाँ उल्लेख गर्दा राम्रो होला भन्ने मलाई लागेको छ । मैले २०२४ र २५ साल विद्योदय हाई स्कूलमा बिताएको थिएँ । हाम्रो कक्षामा सूर्य रणपहेली, दिवा विश्वकर्मा, दुर्गा विश्वकर्मा लगायतका उतिबेला अछुत भनिने विद्यार्थीहरु पनि अध्ययन गर्थे ।

तर हामी सँगै चिया खान्थ्यौँ । हाम्रा बीचमा पानीको छोइछिटो हुँदैनथ्यो । हाई स्कूलभन्दा पूर्वतिर एउटा मात्र पसल थियो, (अहिले त त्यहाँ अरु पसलहरु पनि थपिएछन्) । त्यो पसलको भित्तातिर उभिएर हामी कहिलेकाहीँ आलुदम र चिउरा खान्थ्यौँ । सँगै उभिएर खान्थ्यौँ । त्यहाँ बस्ने बेन्ची थिएन । बेन्ची भएको भए हामी सँगै बसेर खाजा खान्थ्यौँ । विद्योदयको त्यो उदाहरणीय कामले हाम्रो कक्षा समूहमा जातपातप्रतिको विश्वास हटाउन धेरै सहयोग पु¥याएको थियो ।

जसले जन्माएको भए पनि जातीप्रथा नेपालको सबैभन्दा घृणित प्रथा हो । मानिस छुत र अछुत हुँदै हुँदैन । मान्छेलाई छुत र अछुतमा विभेद गर्ने गरी गरिएका भ्रामक प्रचारको अस्तित्व वेद र उपनिषद जस्ता ज्ञानका ग्रन्थहरुमा पनि पाईँदैन । तर पनि कुसँस्कारबाट प्रताडित मानिसहरु यो घृणित प्रथाका शिकार भएका छन् ।

विद्योदय हाई स्कूल नभएको भए म अहिलेको अवस्थामा पुग्ने थिइन । विद्यालयको फलामे बार मानिने एस.एल.सी. परीक्षा मैले दोश्रो श्रेणीमा यही विद्यालयबाट पार गरेको थिएँ । त्यतिबेला एकजना विद्यार्थी, कृष्णप्रसाद शर्मा मात्र प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए । नेपालमा छँदा उनी पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारसम्म भएका थिए ।

पछि उनी प्रवासी भए । अहिले उनी क्यानडामा बसोबास गर्छन् । विद्योदयका केही उत्पादनहरु अहिले अमेरिकातिर पनि भासिएका रहेछन् । शायद केही विद्यार्थीहरु हङकङमा पनि पुगेका होलान् । विद्योदयको ज्ञानले मलाई भने प्रजातन्त्र प्राप्तीको लडाईँको सेनानी बनायो । त्यही ज्ञानले मलाई साँसद बनायो । मन्त्री बनायो ।

“भाइ, तँ हाम्रो जिल्लाबाट क्याबिनेटस्तरमा पुग्ने पहिलो मन्त्री होस्” स्वर्गीय दाजु चण्डीप्रसाद कोइरालाले २०५१ सालको मङ्सिर महिनामा सूचना तथा सन्चार मन्त्रीको कुर्चीमा बसेको बेला आशिर्वाद र बधाइ दिनुभएको थियो ।

भोजपुर बजारको पोखरेमा हुर्किएको निम्नपुँजीपति परिवारको एउटा सानो मान्छे मन्त्री हुन पुग्नु नै ठूलो कुरो थियो मेरा आफन्त र बन्धुबान्धवका लागि । तर मलाई भने मेरो साहित्य नै प्रिय लाग्छ सधैँभरि ।

‘पिखुवा खोलाको पानीमा कविता बग्छ, तपाईँ पिखुवाको पानीलाई छुनुस् मात्रै, तपाईँ साहित्यकार बन्नुहुन्छ’ यो मेरो मनको भनाइ हो । बीसौँ शताब्दीका बैयाकरण नेपाल, वृद्धिलाल नेपाल, बालागुरु षडानन्द अधिकारी, माता योगमायाबाट आरम्भ भएको साहित्यको बीउ यो एक्काइसौँ शताब्दीमा पनि कावा दोभानतिर बगिरहेछ ।

मैले यहाँ साहित्यचर्चाको उठान गर्नुको कारण पनि सरस्वती मिडिल स्कूल र विद्योदय हाई स्कूल नै हुन् ।किनभने बीचमा कक्षा ८ मलाई पढाउने चैनपुरको सरस्वती हाई स्कूलमा वर्षदिनमा एउटा पनि साहित्य गोष्टी भएन । तर भोजपुरको सरस्वती मिडिल स्कूलमा शुक्रबार ‘अतिरिक्त कृयाकलाप’ को बार हुन्थ्यो भने विद्योदय हाई स्कूलको शुक्रबार, साहित्यको बार हुन्थ्यो । त्यहाँ कविता वाचन गर्ने दर्जनौँ साहित्यकार अहिले नेपालदेखि अमेरिकासम्म छरिएका छन् ।

शिक्षामन्त्री हुँदा मैले आफू नौ र दश कक्षामा पढ्दाको विद्यालय भवन जर्जर भएको जानकारी पाएँ । भारतीय दुतावास, नेपालमा विद्यालय भवन बनाउन सहयोग गरिरहेछ भन्ने जानकारी पाएपछि मैले दुतावासकी उपप्रमुख खिया भट्टाचार्यसँग ‘आफू पढेको विद्योदय हाई स्कूलको भवन निर्माणमा पनि सहयोग गरिदिनु हुन्छ कि’ भन्ने अनुरोध गरेको थिएँ । यस्तै अनुरोध मुख्यसचिव विमल कोइरालाले पनि गरेका रहेछन् ।

खियाले अत्यन्तै सहज ढङ्गले ‘मन्त्रीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा हामीलाई खुशी लाग्छ’ भनिन् । उनले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई पहलकदमी लिन र योजना सहितको निवेदन बुझाउन दुतावास पठाइदिन सुझाव दिएकी थिइन् । मेरो सानो सँलग्नता भएको त्यो भवन कस्तो बन्यो भन्ने जानकारी ०६७ सालको फागुन आठ गते मात्र भयो मलाई ।

भोजपुर विमानस्थलबाट बजार जाँदा प्रहरीको गाडिमा जानु परेकोले मैले आफ्नो ज्ञान मन्दीरलाई प्रणाम गर्न पाइन । त्यसैले बजारबाट विमानस्थलतिर ओरालो लाग्दा मैले पैदलै झर्ने निर्णय गरेँ । ओरालोमा म एकछिन भोजपुर क्याम्पस पसेँ र बाटोको एउटा पसलमा चिया खाएर विद्योदय उच्चमाध्यमिक विद्यालयतर्फ तेर्सिएँ ।

अहा ! कति सुन्दर ! कति रम्य ! भारतीय दुतावासको सहयोगमा बनेको विद्यालयको रुप भव्य देखिँदो रहेछ । दक्षिणतिरको मैदान र पुरानो बारीका गरामा तीन नयाँ घरहरु थपिएछन् ।

गुरुहरुले अब उच्च माध्यमिक विद्यालयमा विज्ञान सङ्कायको कक्षा शुरु गर्ने सोच बनाएको कुरा राख्नु भयो चिया खाँदाखाँदै । त्यसमा पनि सानो टेवा दिन सकूँ भन्दै म अन्तरकृया भैरहेको कोठाबाट बाहिर निस्किएँ ।

उँभौली लागेको यो उमेरमा उहिलेको विद्योदय हाई स्कूल पढदाको समयलाई बिर्साउने खालका आफ्नो उमेरका नाति नातिनाहरुलाई हेर्दै मैले प्रार्थना गरेँ, “हे विद्योदय सधैँभरि ज्ञानको ज्योति बनेर तिमी यहाँ उभिई रहु । विश्वभर छरिएका नागरिकका पुस्ता पुस्ताले तिम्रो भक्ति गीत गाइरहने छन् ।”

विद्योदय उच्च माध्यमिक विद्यालय नाम गरेको त्यो शिक्षा मन्दिरलाई नमस्कार गरेर म खिकामाछाको विमानस्थलतिर ओरालो लागेँ ।हवाइजहाज आउला कि नआउला भनेर विमानस्थलमा पर्खिरहँदा दिउँसो साढे १२ बजे सिक्तेल खोलाको दक्षिणी पाखैपाखा नेपाल एयरलाइन्सको विमान घुइँय गर्दै विमानस्थलतिर हेलिएको देखियो ।

हामी सबैले झोलाझाम्टा मिलायौँ । हेर्दाहेर्दै जहाज घाँसे चहुरमा टेकिन आइपुग्यो । धेरैबेर थकाइ मार्न मन गरेन जहाजले । हामीलाई थपक्क आफ्नो पेटभित्र हुलेर त्यो आकासतिर हेलियो । स्वच्छ अक्सिजन बोकेर पातला वादलसँगै उडने शितल भोजपुरे बताससँग विदा भएको ४० मिनेटपछि म प्रदुषणको भारीले थिचिएको काठमाण्डौ विमानस्थलमा ओर्लिएँ ।

२०६७ फागुन
काठमाण्डौ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News