खाडीका ६ देश र मलेसियामा निःशुल्क भिसा र टिकटको व्यवस्था लागु


 


काठमाडौं, असार २१

खाडीका ६ मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क हवाई टिकट र प्रवेशाज्ञाको व्यवस्था अाजदेखि लागु हुने भएको छ ।

श्रम तथा रोजगार मन्त्रालयको गएको जेठ २६ गते कतार, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (दुबई), ओमन, कुबेत र मलेसियाका लागि निःशुल्क टिकट र प्रवेशाज्ञा लागु गर्ने निर्णय सोमबारदेखि कार्यान्वयनमा आएको हो । निःशुल्क हवाई टिकट र प्रवेशाज्ञा सहित कामदारको माग भएकालाई मात्रै वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ ।

यो निर्णय कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीमा जाने कामदारले आवधिक जीवन बिमा, अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण शुल्क र कल्याणकारी कोषको शुल्कमात्रै बुझाउनुपर्नेछ ।

त्यस्तै कामदार आपूर्ति गरेबापत विदेशको संस्थाले सेवा शुल्क नदिएको अवस्थामा मात्रै यहाँका म्यानपावर कम्पनीले १० हजार रुपैयाँसम्म कामदारबाट सेवा शुल्क लिन पाउनेछन् ।

नयाँ व्यवस्था लागु भएपछि १० हजार देखि २० हजार रुपैयाँको हाराहारीमा मात्रै कामदारले यी सात मुलुकमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने हुन्छ । यसअघि नेपाली कामदार एक लाख रुपैंयाभन्दा बढी तिरेर रोजगारीमा जाँदा गएको लागत खर्च उठाउनै वर्षदिन लाग्ने अवस्थाले कामदार मारमा पर्दै आएका थिए ।

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्