अाज अमेरिकासँग भिड्दै नेपाल


 


काठमाडौं, असार २५
नेपालले शुक्रबार अमेरिकासँग खेल्दै छनोट प्रतियोगिताको सुरुआत गर्दैछ। सबैखाले क्रिकेटमा गरी दुई देशबीच यसअघिका १९ खेलमा नेपालले ११ खेल जितेको थियो। जबकि ट्वान्टी–२० मा भने २०१३ को विश्वकपअघि खेलिएको अभ्यास खेलमा अमेरिकाले ५ विकेटको जित पाएको थियो।
अमेरिकासँग यसपालि आयरल्यान्ड भ्रमणमा उनीहरूका सबैभन्दा विष्फोटक ब्याट्सम्यान स्टेभन टेलर हुने छैनन्। तथापि २० ओभरको खेलमा अमेरिकाका अरू ब्याट्सम्यान पनि उपयुक्त मानिन्छन्। जबकि नेपाली बलिङ लाइनमा युवा खेलाडीको बाहुल्य भएकाले अनुशासित प्रदर्शन मुख्य चासो बन्नेछ।
नेपाली टोलीका प्रशिक्षक पुबुदु दासानायके भारत तथा युरोपको भ्रमणबाट टोलीको आत्मविश्वास र परिपक्वता बढेको कारण सफल नतिजा ल्याउनेमा आशावादी छन्। ‘प्रतियोगिताको पहिलो खेलमा सधैं दबाब हुन्छ। तर, खेलाडीमा पछिल्ला दुई भ्रमणले दबाब झेल्ने परिपक्वता बढेको छ। अमेरिकी टोलीमा पनि धेरै नयाँ खेलाडी छन्, तर हामी उनीहरूलाई जित्न सक्षम छौं,’ पुबुदुले भने।उता ज्ञानेन्द्रले अमेरिकासँगै हङकङ, नामिबिया र पपुवा न्युगिनीजस्ता बलिया टोलीको बीचमा नेपालले कडा प्रतिस्पर्धा गर्नुपर्ने स्वीकारेका छन्। ‘हाम्रो समूहमा धेरै बलिया टिम छन्। हङकङ, नामिबिया र पपुवा न्युगिनीले पछिल्लो समय राम्रो गरिरहेका छन्। अमेरिकालाई पनि हामी पर्याप्त सम्मान गर्छौ,’ उनले भनेका छन्, ‘तर, हामी विपक्षीबारे धेरै सोच्ने छैनौं। हामीले सबैसँग खेलेका छौं र सबैलाई हराउन सक्छौं भन्ने विश्वास छ।’

‘हाम्रो टोलीमा केही असाधारण युवा प्रतिभा छन्। उनीहरूसँग अनुभव अली कम भएको मात्र हो। विस्तारै ती प्रतिभाले नेपाललाई ठूलो सफलतातिर डोर्यासउने छन्,’ उपकप्तान ज्ञानेन्द्रलाई उद्धृत गर्दै क्रिकइन्फोले अगाडि भनेको छ।

प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्