नेपालले जित्यो


 


Nepal

काठमाडौं, असार २५
आयरल्यान्डमा भएको आइसीसी विश्व ट्वान्टी २० छनौट प्रतियोगिताको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध शानदार जीत दर्ज गराएको छ। नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो। २० ओभरमा अलआउट हुँदै अमेरिकाले २२ रनको लक्ष्य दिएको थियो।

नेपालले दुई बल बाँकी हुँदै ४ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको हो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए। अनिल मण्डलले २९ रनको योगदान दिए ।

कप्तान पारस खड्काले १७ बलमा २१ रन बनाएर नटआउट रहे। विनोद भण्डारी ७ र सागर पुन ६ रन बनाएर पेभेलियन फर्किए । शरद भेषावकर २ रनको अवस्थामा नटआउट रहे।

यसघि बलिङ गर्दै नेपालका लागि शक्ति गौचन, बसन्त रेग्मीले ३–३ विकेट लिए । सोमपाल कामीको पोल्टामा दुई विकेट पर्‍यो भने सागर पुनले एक विकेट लिए।

४ ओभर बलिङ गरेका कप्तान पारस खड्काले १० डट बल फाल्दै २४ रन दिए । सुरुका ओभरमा नेपाली बलरहरुलाई दवाबमा पार्दै अमेरिकालाई आफ्नो स्कोर बढाएको थियो।

४ ओभरमा १ विकेट गुमाउँदा अमेरिकाले १ विकेट क्षतिमा ४१ रन बनाइसकेको थियो ।सोमपालले ७ ओभरमा अमेरिकाको दोस्रो विकेट ढालेपछि विस्तारै नेपालले दवाब घटाउँदै लग्यो।

९ ओभरमा ७० रनको स्थितिमा बसन्त रेग्मीले पहिलो विकेट लिँदै नेपालको खेल सम्हालेका थिए। त्यसपछि नेपालका लागि शक्ति गौचनले सशक्त प्रदर्शन गरे। खेलमा शक्ति र बसन्त हावी हुँदै गएपछि अमेरिकाले ठूलो स्कोर बनाउन सकेन।

प्रकाशित मिति: २५ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्