१५० तह जित्ने कांग्रेस र १०० तह जित्ने माअाेबादीको दावी किन भएन पूरा ? यस्तो छ निष्कर्ष


 


काठमाडौं, असार २३

स्थानीय तहको दोस्रो चरण निर्वाचनमा १५० स्थानीय तह जित्ने अनुमान गरेको कांग्रेसले अनुमानअनुसार जित हात पार्न सकेन । ११७ स्थानमा जित हात पारेको कांग्रेस अहिले पाँच स्थानमा अग्रस्थानमा छ । यी सबै स्थान जिते पनि कांग्रेस आफ्नो लक्ष्य भेट्टाउन असफल हुने निश्चित भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेसले जितेका ११७ तहमध्ये ४४ वटा नगरपालिका छन् भने ७३ वटा गाउँपालिका छन् । मतगणना जारी रहेका दुई नगर र पाँच गाउँपालिकामा कांग्रेसको अग्रता छ । दुवै चरणमा गरी कांग्रेसले अहिलेसम्म २२१ तहमा जित्दा प्रमुख प्रतिपक्षी दल एमालेले २६८ तह जितिसकेको छ ।

कांग्रेस किन हुनुपर्यो निराश ?
कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे अपेक्षा गरेका पूर्वी सहर, प्रदेश नम्बर ५ का दाङसहितका सहरी क्षेत्रमा हार्न पुग्दा पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको बताउँछन् । ‘१५० वटा तह जित्छौँ भन्ने लागेको थियो,’ घिमिरेले नयाँ पत्रिकासँग भने, ‘तर, जित्नैपर्ने ठाउँमा समेत हामी हार्न पुग्यौँ ।’ अन्तर्घात, असहयोगजस्ता पक्षले कांग्रेसले जित्दाजित्दै हार्न पुगेको उनको भनाइ छ ।

माअाेबादी केन्द्रको लक्ष्य किन भएन पूरा ?

पहिलो चरण निर्वाचनमा ४६ स्थानीय तह जितेर तेस्रो भएको माओवादीले दोस्रो चरणमा एक सयभन्दा बढी स्थान जित्ने दावी गरेको थियो । दुवै निर्वाचनपछि १५० तहमा जित्ने उसको अपेक्षा थियो ।

तर, मतपरिणामले उनको दावी र अपेक्षा असत्य सावित गरिदिएको छ । एक स्थान जित्ने दावी गर्ने माओवादी त्यसको एकतिहाइभन्दा केही बढी मात्र अर्थात ३८ तहमा सीमित भएको छ ।

अपेक्षा र दावी गरेभन्दा निकै कम तह जितेपछि माओवादीले यो निर्वाचन परिणाम निराशाजनक बताएको छ । ६ वटा प्रदेशको ५८८ वटा स्थानीय तहमा निर्वाचन सकिँदा माओवादीले जम्मा ८१ तह मात्र जितेको छ । अझ सहरी क्षेत्रमा उसको उपस्थिति निकै कमजोर देखिएको छ । उसले जितेका ८१ मध्ये अधिकांश गाउँपालिका छन् भने नगरपालिका न्युन छन् ।

अधिकांश ठाउँमा किन हार्यो माओवादी ?
माओवादी नेता मणि थापाको बुझाइमा चुनावी राजनीतिमा माओवादी केटाकेटी देखियो । उनले एकीकृत योजना बनाएर जान नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको बताए । एमालेले सत्तासाझेदारीविरुद्ध प्रचार गर्दासमेत त्यस्तो आरोप चिर्न नसक्दा माओवादीले क्षति व्यहोर्नुपरेको निष्कर्ष माओवादीले निकालेको थापाले जानकारी दिए ।

‘अरू पार्टीका नेताहरू आफैँ मैदानमा उत्रिए । पार्टी प्रतिष्ठाका रूपमा चुनाव लडे,’ थापाले भने, ‘हाम्रा कार्यकर्ताले मात्र चुनाव लडे । नेताले चुनाव लडेनन्, उनीहरूलाई चुनाव लागेन । हाम्रा नेतामा चुनावको जोश, जाँगर र उत्साह देखिएन ।’ न्यूनतम स्रोत–साधन जुटाउन नसक्दा पनि कमजोर परिणाम आएको माओवादीको निष्कर्ष छ ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्