काँग्रेस नेता रामहरि जोशीको निधन


 


काठमाडौँ, असार २९

नेपाली काँग्रेसका पुराना नेता एवम् पूर्वमन्त्री रामहरि जोशीको आज साँझ निधन भएको छ । दम र निमोनियाको उपचारमा रहनुभएका नेता जोशीको आज साँझ ७ः३० बजे ग्राण्डी अस्पतालमा निधन भएको उहाँका भतिजा विष्णु जोशीले जानकारी दिनुभयो ।

घरको शौचालयमा लडेर चोट लागेपछि उहाँलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उहाँ ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनुभएको थियो ।

विसं १९८३ मा सर्लाहीमा जन्मनुभएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

नेता जोशीको शुक्रबार बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । काँग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रुपमा रहनुभएका उहाँ अविवाहित हुनुहुन्थ्यो ।

आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा पर्नुभएका उहाँ विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्थ्यो ।

काँग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्