अलैंचीको विरुवाको माग धान्नै मुस्किल


 


भोजपुर, असार २९
aliechi biruwaजिल्ला कृषि विकास कार्यालय भोजपुरमा यो बर्ष अलैंचीको नयाँ विरुवाका लागि कृषकहरुले पाँच लाख भन्दा बढी माग गरे । तर, तिन लाखको हाराहारीमा मात्र नयाँ विरुवा आयो । कार्यालयले झण्डै साढे दुई लाख विरुवा जिल्ला बाहिरबाटै भित्रायो ।

तर कृषकको माग भने धान्न सकेन । कार्यालयका अनुसार एक लाख ८४ हजार विरुवा इलामबाट र ४५ हजार धनकुटाबाट ल्याएको जनाएको छ । ७० हजार हाराहारीमा भोजपुरकै विभिन्न गाविसबाट अलैंचीका विरुवा उत्पादन भए ।

यति हुँदा पनि कृषि विकास कार्यालयले कृषकको माग गरे अनुसार विरुवा वितरण गर्न नसकेको जनाएको छ । कृषि विकास कार्यालयले अनुदानमा विरुवा उपलब्ध गराउन थालेपछि कृषकहरुको माग ह्वात्तै बढेको थियो ।

कार्यालयले ५० प्रतिशत अनुदानमा विरुवा उपलब्ध गराएको हो । यतिबेला विरुवा प्रतिगोटा तीन रुपैयाँका दरले वितरण गरिएको कुषि विकास कार्यालय भोजपुरले जनाएको छ ।

तीन लाख अलैंचीको विरुवा कृषकहरुलाई वितरण गरिएको कृषि विकास कार्यालय भोजपुरका प्रमुख सरोजकान्त अधिकारीले बताए । विरुवा अलैंची कृषक समूह र ब्यक्ति दुबैलाई वितरण गरिएको हो ।
अलैंची ग्रामिण भेगका किसानका लागि आयआर्जनको राम्रो माध्यम बन्न थालेपछि कृषकहरु यो खेतीतर्फ आर्कर्षित भएका हुन् । प्रत्येक बर्ष यसको खेती विस्तारमा कृषकहरु लागेका छन् ।

कृषि विकास कार्यालय भोजपुरका अनुसार गत बर्ष तीन सय ३८ हेक्टर जमीनमा अलैंची खेती कृषकहरु गर्दे आएका थिए । यो बर्ष बढेर तीन सय ६० हेक्टर जमिन पुगेको छ । भोजपुरमा यो बर्ष प्रतिमन एक लाख १० हजार रुपैयासम्म अलैंचीको किनबेच भयो ।

अलैंचीलाई पूर्वि पहाडी जिल्लामा खोल्साको सुन भनेर पनि चिनिने गरेको छ । कृषकहरु बर्षेनी यो खेतीमा आकर्षित र विरुवाको माग बढ्न थालेपछि नयाँ विरुवा उत्पादन तथा वितरणका लागी १२ नर्सरी समेत स्थापना भएका छन् ।
यी नर्सरीबाट ७० हजार हाराहारीमा विरुवा वितरण भएको छ । बाहिर जिल्लाबाट पनि भनेजति विरुवा उपलब्ध हुन छाडेपछि जिल्लामै नर्सरीको ब्यवस्था गरिएको हो ।

कार्यालयका अनुसार यो बर्ष जिल्लामा अलैची विक्रिबाट ३१ करोड बढी आम्दानी भित्रिएको छ । यतिबेला भोजपुरमा मात्र एक सय ७० अलैंची कृषक समूह बनेका छन् । यो समूहमा एक हजार नौ सय बढी घरधुरी आबद्ध रहेको कुषि विकास कार्यालय भोजपुरले जनाएको छ ।

यो बर्ष भोजपुरमा एक सय ८८ मेट्रिकटन अलंैची उत्पादन भएको छ । गतबर्ष २ सय २२ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । कृषकहरु प्रत्येक बर्ष अलैंची खेतीमा आकर्षित भए पनि अलैंचीमा देखिएको रोगले भने उनिहरु चिन्तित बनेका छन् ।

खेती विस्तार भए पनि रोगका कारण अलैंची उत्पादनमा ह«ास समेत आएको छ । जिल्लामा अलैंची दोभाने, बोया, हेलौछा, खावा, भैसिपंखा, चम्पे, तिवारीभन्ज्याङ, श्यामसिला, किमालुङ, खार्तम्छा, कुदाककाउले, यँु लगायतका गाविसमा उत्पादन हुँदै आएको छ । अलैंचीका लागि पूर्वि नेपालका खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, तेह«थुम, ताप्लेजुङ्ग र इलाम जिल्ला प्रख्यात छन् ।

प्रकाशित मिति: २९ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्