हरिवंशका यस्ता छन् सुख, दुःख



downloadदुःखलाई जति अस्वीकार गरे पनि मान्छेको जीवन सुख र दुःख दुई रंगको समिश्रण हो । दुःखले नै मान्छेलाई सुख खोज्ने अवसर र ऊर्जा दिन्छ ।

दुःखको अनुभूति नहुने हो भने न सुखको खोजी हुन्छ र न सुख के हो भन्ने नै बुझिन्छ । सफल ब्यक्तिका सुख–दुःख र संघर्ष आफौंमा प्रेरणा र संग्रहका पाठ बन्ने गर्छन् । लोकप्रिय कलाकार हरिबंश आचार्यले आफ्ना सुख–दुःखबारे यसरी कुरा गरेका छन् । 

जीवनमा सुख र दुःख 

जीवनमा सुख र दुःख दुवै हुन्छ तर, मान्छे दुःख बढी सम्झन्छ । दुःख सम्झेर फेरि दुःखैमा पर्छ । यो मान्छेको स्वभाव पनि हो । सुख वरीपरी हुन्छन्, साना सुखलाई हामीले वास्ता गरेका हुँदैनौं । तर, स–साना सुखले नै हामीलाई ठूलो सुख फेला पार्न मद्दत गर्छ । सधैँ दुःखी भएर त दुःखैको घर हुन्छ, दुःखैको झ्याल–ढोका हुन्छ, अनि सुख त भित्र आउनै पाउँदैन । फेरि, हामीले दुःखलाई जति नकारे पनि दुःखको अस्तित्व रहन्छ । त्यो त्यसै मेटिएर जाँदैन ।  मेरा दुःख धेरै छन् । सायद सबैका दुःख धेरै हुन्छन् । फेरि पनि यहाँ थोरै दुःख धेरै सुख भन्नुपर्नेछ । सुरुवात सुखैबाट गरौँ ।

एसएलसी पास

म तीनपटकमा बल्ल एसएलसी पास भएको हुँ, त्यो पनि थर्ड डिभिजनमा । यो कुरा धेरै ठाउँ आइसक्यो । दई पटक फेल भएपछि पास हुँदा मलाई निकै सुख मिलेको थियो ।

अचेलका भाइबहिनी एसएलसीमा डिस्टिङ्शन आएन, फस्र्ट डिभिजन आएन भनेर दुःखी हुन्छन् । तर, त्यो बेला थर्ड डिभिजनमा पास हुँदा पनि मैले ठूलै सुखको अनुभव गरेँ । बिहेबारी बिहे अघिदेखि म मीरालाई मन पराउथेँ । पछि उनैसँग बिहे भयो ।

मन परेको मान्छेलाई नै जीवनसाथी पाउँदा खुसी हुने नै भएँ । उनिसंग जति समय बिताएँ, त्यो जीवनको निकै सुन्दर समय हो ।  जीवनको यो ठूलो सुख हो ।

मदन दाइसँगको भेट

imagesमेरो जीवनको अर्को सुख मदनदाइ(मदनकृष्ण श्रेष्ठ)सँगको भेटपछि कलाकारिता क्षेत्रमा प्राप्त सफलता नै हो । यो सुखको सृंङ्खला लामो छ । फेरि पनि यो एउटै सुख हो । जब हामी मह जोडी बनेर कलाकारितामा लाग्यौँ, हाम्रो प्रहसनले चर्चा पाउन थाल्यो । हाम्रा क्यासेटले बजार लिन थाले । म एक्लै भएको भए के हुन्थ्यो, थाहा छैन । तर, मदनदाईलाई भेटेर मह सञ्चार खोल्यौँ । यसपछि मैले जागिर खोज्दै हिंड्नु परेन, सफल भइयो । त्यसैले मदनदाइसँगको भेट र सहकार्य मेरो ठूलो सुख हो ।

मोटरसाइकल किन्दा

म कामको सिलसिलामा यताउता हिँड्दा सार्वजनिक गाडी चढ्थेँ । आफ्नै सवारी नहुँदा मलाई निकै गाह्रो हुन्थ्यो । अहिले त मसँग अरु साधन पनि छन् । अहिले अरु साधन भएका वेला भन्दा पहिलो पल्ट मोटरसाइकल किनेको दिन म निकै खुसी भएँ ।

सन्तान सुख

बिहेपछि सन्तान हुनु स्वभाविक हो । छोरो, लोग्ने हुँदै बाबु बनियो । छोराहरु जन्मे, हुर्के । सन्तान सुख पनि ठूलै कुरा हो ।

घर  बनाउँदा

यो मेरो सबैभन्दा ठूलो र महत्वपुर्ण सुख हो । सानैमा बा–आमा गुमाएँँ । बा–आमा गुमाएपछि गैह्रीधाराको मेरो पुख्र्यौली घर अर्कैले खाइदियो । कसरी, कसले खायो त्यतातिर नलागौँ । आफ्नो कमाईले ०४० सालमा घर बनाएँ, घट्टेकुलोमा । आफ्नै कमाइले घर बनाउने सपना धेरैको हुन्छ । घर बनाएर सकिएको दिन मलाई सबैभन्दा सुखको अनुभव भयोे ।

रमिलाको साथ

HariBangshaAcharyaहुन त यो ठूलो दुःखपछिको सुख हो । जब मैले श्रीमती मीरालाई गुमाएँ । त्यसपछि मेरो जीवनमा रमिला आइन् । मलाई सहारा दिइन् । उनको सहारा नपाएको भए यत्तिको सम्हालिन सक्दिनँथेँ होला । दर्शक र श्रोतासामु पुग्न सक्दिँनथेँ होला । रमिलाको साथ मेरो जीवनको पछिल्लो सुख हो ।

मीराले छोडेर जाँदा 

मीराले छिटै यो संसार छाडिन्, मलाई छाडिन् । छोराहरुलाई पनि छाडेर गइन् । उनलाई गुमाउनु जीवनको सबैभन्दा ठूलो दुःख हो ।

बाबु–आमा र घर गुमाउँदा 

मैले सानै उमेरमा बाबु–आमा गुमाएँ । बुवा गुमाउँदा ६ वर्षको थिएँ र १३ वर्ष नपुग्दै आमालाई गुमाएँ । आमा–बुवा बितेपछि हाम्रो पुख्र्यौली जग्गा अर्कैले खाइदियो ।

बाबुआमा पनि गुमाउनु, घरबास पनि गुमाउनु, यो मेरो जीवनको ठूलो दुःख हो ।  मान्छेको जीवनमा ब्यक्तिगत सुख र दुःखको प्रत्यक्ष प्रभाव हुन्छ । तर, समाजसँग जोडिएका सुख–दुःख पनि ब्यक्तिगत जीवन प्रभावित हुन्छ ।

हाम्रो देशले अहिलेसम्म सुख पाएको छैन । सुखको बाटोमा हिंड्न त खोजेका छौं तर, प्राप्त सुख संस्थागत भइसकेको छैन । किनभने, जनआन्दोलन सफल भयो, गणतन्त्र आयो । संविधानसभाको निर्वाचन भयो ।

संविधान बनेर आन्दोलनका उपलब्धि संस्थागत भएपछि मात्रै देशले सुख पाउँछ । आशा गरौँ, संविधान बनेर देशले सुख पाउनेछ, अनि सबै जनता सुखी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News