नेपाल ‘गर या मर’ को अवस्थामा


 


काठमाडौं, असार ३१

विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । पपुवा न्युगिनीसँगको खेल नेपालका लागि ‘गर या मर’को हुनेछ ।

प्रतियोगिताअन्तर्गत् बुधबार भएको आफ्नो चौथो खेलमा हङकङसँग ५ विकेटले पराजित भएसँगै नेपालको विश्वकप प्रवेशको सम्भावना निकै कठीन बनेको छ ।

समूहमा शीर्ष ४ स्थान ओगट्ने राष्ट्र छनोटको दोस्रो चरणमा प्रवेश गर्ने छन् । अब नेपालले शीर्ष चारभित्र स्थान सुरक्षित गर्न बाँकी दुई खेल जितेर मात्रै पुग्दैन, अन्य टोलीको खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

प्रतियोगिताअन्तर्गत् बुधबार भएको खेलमा नेपालका ब्याट्सम्यानहरुले पुनः एक पटक खराब ब्याटिङको नमुना प्रस्तुत गरेपछि नेपाल पराजित भएको हो । कुनै समय १२ ओभरमा टोलीको स्कोर ५ विकेटको क्षतिमा ३८ रन भएको अवस्थालाई उकास्दै शरद भेषवाकर, राजेश पुलामी र सोमपाल कामीले २० ओभरमा टोलीको स्कोर १०९ रन बनाउँदै नेपालको नाक जोगाएका हुन् ।

खेलमा १ सय १० रनको झिनो चुनौती हङकङले ५ विकेट गुमाउँदै पाँच बल बाँकी छँदै भेट्टाएको थियो । नेपालका लागि बसन्त रेग्मीले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए पनि अन्य बलरहरुले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा नेपालले पराजय टार्न सकेन ।

प्रकाशित मिति: ३१ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्