तपाईको बिर्सने बानी छ ? त्यसो भए यसो गर्नुस्



उमेर बढ्दै जाँदा हामी आफ्नो दिमागलाई सकेसम्म तीक्ष्ण राख्न चाहन्छौं। तर दिमागलाई चनाखो राख्ने उपाय के के हुन् त ? ४० उमेर कटेका जो कसैलाई सोध्नुस्, तपाइँलाई सबैभन्दा बढी के कुराले पिरोल्छ? जवाफ आउँछ- स्मरण शक्ति गुम्ने डर।

म चिन्तित हुन्छु कि मलाई नाम सम्झन कठिन हुन्छ र मलाई सम्झाउने फोन भएन भने म थुप्रै दैनिक भेटघाटको काम पनि बिर्सिन्छु।तपाइँ आफ्नो मानसिक स्वास्थ्य अवस्था राम्रो राख्न चाहनुहुन्छ भने पक्कै केही कुराहरु छन् जसलाई तपाइँले त्याग्न सक्नुपर्छ।

प्रकृया

जस्तै कि धुम्रपान, ज्यादा तौल र टाइप टु डाइविटिज। तर दिमागलाई बलियो बनाउन के गर्न सकिन्छ? न्यूक्यासल विश्वविद्यालयको सहयोगमा ३० जना स्वयंसेवीहरुमार्फत हामीले यो कुरा खोज्ने प्रयास गरेका थियौं।

हामीले परिक्षण आरम्भ गर्नुअघि सबै स्वयंसेवीहरुलाई, उनीहरुको स्मरण शक्ति, समस्या समाधान गर्ने क्षमता र प्रतिक्रिया जनाउने समय (जेनेरल साइकोमोटर स्पीड) को जाँच गर्न विभिन्न जाँच लिएका थियौं।

त्यसपछि सबैलाई उनीहरुमा शारिरिक सक्रियता मापन र अनुगमन गर्ने उपकरण जडान गरियो।

ती स्वयंसेवीलाई तीनवटा समूहमा छुट्याएर अर्को आठ हप्ताका लागि एउटा निश्चित काममा खटाइएको थियो।

एउटा समूहलाई हामीले दिनको तीन घन्टा तीब्र गतिमा हिँड्नका लागि भनेका थियौं ताकि उनीहरुको स्वासप्रस्वास बेस्सरी बढोस्।

यसको उद्देश्य के थियो भने तीब्र गतिको हिँडाइ वा कुनै पनि किसिमको कडा ब्यायमले पर्याप्त अक्सिजन भएको रगत तपाइँको दिमागसम्म पुर्याउन सकोस्।

तर यो सबैका लागि उपयोगी चयन भने भएन।

दोस्रो समूहलाई शब्द र अंकहरु मिलाउनुपर्ने कोठेपद र सुडोकु जस्ता खेलहरु पूरा गर्न भनिएको थियो।

फाइदा

यो पनि उनीहरुले प्रत्येक हप्ता तीन घन्टाको लागि गर्नुपर्थ्यो। यस्तो काम लगाउनुको ध्येय चाहिँ मानिसको मस्तिष्क पनि शरिरको मांसपेशी जस्तै हो जसलाई परिश्रम गराएर फाइदा लिन सकिन्छ।

कि त दिमागको प्रयोग गर्नुपर्छ नत्र फाईदा लिन गुम्छ।

तेस्रो तथा अन्तिम समूहलाई चाहिँ एउटा नग्न पुरुषलाई एक सातामा तीन घन्टासम्म एकटकले हेर्नुपर्ने काम दिइएको थियो।

अथवा, अझै स्पष्ट भन्नुपर्दा उनीहरुलाई स्टिभ नामको नग्न पुरुषको चित्र बनाउनुपर्ने एउटा चित्रकला कक्षामा सहभागी हुन भनिएको थियो।

हाम्रो ८ हप्ते प्रयोगपछि हिँड्नुपर्ने जिम्मा पाएको पहिलो समूहका सबैले आफ्नो स्वास्थ्यमा ठूलो सुधार आएको ख्याल गरे।

पजल खेल्ने जिम्मा पाएको दोस्रो समूहले सुरुमा पजल निकै गाह्रो भएको पाए।

तर आठौं साताको अन्त्यसम्म पुग्दा उनीहरु त्यसप्रति यति अभ्यस्त भएकी सुडाकु हल गर्ने उपाय साटासाट गर्न समेत थाले।

यद्यपी निकै उत्सुक समूह भने चित्रकलाको कक्षा नै थियो। समूहका केहीले हप्ताको एकपटक त्यस्तो कक्षा लिँदा केही अप्ठ्यारो भएको बताएका थिए भने केहीले भने सबैले नै आफूलाई कक्षा रमाइलो लागेको प्रतिक्रिया दिएका थिए।

तर कुन समूहको दिमागको शक्तिमा ठूलो सुधार आएको देखियो त?

हाम्रा वैज्ञानिकहरुले उनीहरुले प्रयोग आरम्भमा गरेका परिक्षणहरुलाई पुन: ती स्वयंसेवकहरुमाथि दोहोर्याए। र, नतिजा स्पष्ट थियो।

नतिजा

सबै समूहहरुले आफूमा केही सुधार भएको पाए। तर सबैभन्दा बढी प्रगति भने कलाको कक्षा लिनेहरुमा देखियो।

तर कलाको कक्षामा बस्नुले स्मरण शक्तिलाई किन फरक पार्दो रहेछ त?

क्लिनिकल मनोचिकित्सक तथा न्यूक्यासल विश्वविद्यालयका डेनियल कोलेरटोन भन्छन्- प्रगतिको एक भाग त नयाँ शीप सकेको कारणले देखियो।

उनले भने, “केही नयाँ कुरा सिक्दा त्यसले दिमागलाई सक्रिय बनाउँछ।”

चित्र बनाउन सिक्नु हाम्रो समूहको निम्ति एउटा कुनै नयाँ चुनौती मात्र नभइ पजलरहरुको दाँजोमा यो शीप सिकाइमा दक्षताको विकास गर्ने कार्य पनि पर्छ।

एउटा तस्वीरलाई कागजमा उतार्नु बौद्धिक हिसाबले चुनौतीपूर्ण त हो नै यसले पेन्सिल र ब्रसहरुलाई सही तरिकाले प्रयोग गर्न हातको मांशपेशीलाई चलाउने शीप सिक्ने कुरा पनि यसमा पर्दछ।

कला कक्षामा जानुको अर्को फाइदा हप्ताको तीन घन्टा चित्र कोर्दा उभिनु पनि हो। शरिरमा रहेको क्यालोरी घटाउन र मुटुलाई तन्दरुस्त राख्न लामो समयसम्म उभिनु पनि राम्रो उपाय हो।

कला कक्षा सामाजिक हिसाबले पनि निकै सक्रिय थियो, जुन दिमागलाई तीक्ष्ण राख्ने अर्को महत्वपूर्ण उपाय हो। यो समूह प्रायजसो कक्षा बाहिर पनि भेटघाट गर्थ्यो र उनीहरु इमेल आदानप्रदान गर्न निकै उत्सुक देखिन्थ्यो।

यी सबैको अर्थ हो यो समूहले आफ्नो मानसिक स्वास्थ्यलाई थप बलियो बनाउन तीन प्रकारले फाइदा लियो। एकजना स्वयंसेवी, लिनले चित्र बनाउन सिक्दा त्यसले अन्य अनपेक्षित फाइदा पुर्याएको बताइन्।

उनले भनिन्, “मेरो काम लेख्नु र नयाँ उपायहरु प्रस्तुत गर्नु थियो जुन आफैँमा एउटा लम्बेतान र कठिन प्रक्रिया हो। ममा रहेको अक्षर चिन्न गाह्रो हुने समस्याले पनि यसमा व्यवधान थपेको छ। तर कला कक्षामा सहभागी भएपछि मेरो लेखाइको गति बढेको छ र एकाग्रतामा सुधार आएको छ। यसले मेरो दिमाग खुलाएको जस्तो लाग्छ। म ठ्याक्कै यसलाई व्याख्या गर्न सक्दिन तर मलाई यत्ति थाहा छ कि यसले केही फरक पारेको छ।”

यसले देखाउँछ कि सक्रियता बढाउने र नयाँ शीप सिक्न सघाउने कुनै पनि सामुहिक क्रियाकलापले दिमागको विकासमा मद्दत पुर्याउँछ।

बिबिसी नेपालीबाट

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News