“चोट के हो व्यथा के हो…”


 


ललितपुर, साउन ६

‘चोट के हो व्यथा के हो

म जस्तो घाइतेलाई सोध

मिलन के हो खुसी के हो

मसँग कहिल्यै सोध्दै नसोध…’

गायक अरुण थापा बाँचेका हुन्थे भने अहिले यो गीत गाउनुको मर्मबारे उनका शुभचिन्तकले अनेकौं प्रश्न तेस्याउँथे होलान्। कागजको टुक्रामा लेखिएको गीत सुवासचन्द्र ढुंगेलले अरुणलाई २०३९ ताका थमाएका थिए। कुन मुडमा लेखियो, सुवास स्वयंलाई पनि अहिले सम्झना छैन। तर, यो गीतको जन्म जति पुरानो हुँदै छ यसको सन्दर्भ र भाव उत्तिकै अमर बन्दै छ। १६ औं अरुण थापा स्मृति सभामा गीतकार ढुंगेललाई धेरैले जिज्ञासा राखे, ‘चोट के हो व्यथा के हो?’

ललितपुर झम्सीखेलमा प्रकाश सायमी, ढुंगेल लगायत कुनै बेलाका हितैषी मंगलबार अरुणको स्मृति दिवस पारेर सांगीतिक कार्यक्रम गरेका थिए, जहाँ ढु्ंगेलले गीतको अर्थ खुलाउनुपरेको थियो। खासमा उनले गीत अञ्जानमै लेखेका थिए, कुनै पनि घटना या सन्दर्भबिना। तर संयोग, अरुणको जीवनमा त्यही गीत यर्थाथजस्तै बनिदियो।

उनका हितैषीका अुनसार अरुणको जीवन संघर्ष संगीत र प्रेम दुई पक्षसँग जोड्न सकिन्छ। असफल प्रेमका कारण जीवनका पछिल्ला दिनहरू निराशामा बिताएका उनी पोखरामा अध्ययन गर्दा बुबाको माध्यमबाट संगीतकार नातिकाजी र शिवशंकरसँग जोडिन पुगेका थिए, त्यही कारण संगीतमा उदाए।

तर, अव्यवस्थित पारिवारिक माहोलका कारण उनका दिनहरू दु:खमा बित्यो। पोख्रेली युवा सांस्कृतिक परिवारका तर्फबाट २०३५ मा रेडियो नेपालमा स्वर परीक्षणपछि अरुणले ओमविक्रम विष्टको संगीत र आश्विन गुरुङको रचनामा ‘कतै टाढा पुगें भने…’ गीत गाएका थिए। ‘सम्झेर नरुनु…’, ‘ठूलो छ संसार…’ लगायत गीत गाए पनि यी गीतले त्यति चर्चा भने पाउन सकेन। ‘२०३९ मा गाएको ‘चोट के हो व्यथा के हो…’ गीत साँच्चिकै अरुणको जीवनसँग मिल्थ्यो’ लेखक अरुणका साथी प्रकाश सायमीले भने, ‘तिनताक अरुणको पोखरेली एक नेवार युवतीसँग प्रेम परेको थियो।’

सायमीका अनुसार उनका दाजु विश्व अत्यन्त मिल्ने साथी पनि थिए अरुणका। जात नमिलेको कारण प्रेममा अवरोध आएपछि प्रेमिका लिएर भागेका अरुणले आफ्नी प्रेमिकासित जीवन बिताउन भने पाएनन्। ‘परिवारले छिट्टै दुवैजनाको औपचारिक रूपमा बिहे गरिदिने भन्दै ललाई फकाई प्रेमिकालाई फर्काएर लगे,’ सायमीले भने, ‘त्यसको केही दिनमै प्रेमिकाको अरूसँगै बिहे भएको थाहा पाएपछि अरुणको जीवन अँध्यारियो।’ उनले दोस्रो बिहे पनि गरे। तर, खुसीसाथ रहन सकेनन्। विवाह गरेर एक छोरी समेत जन्माएका अरुण विस्तारै कुलतमा फस्दै गए। र, कुलतबाटै जीवन समाप्त पारे।

प्रेमविछोड र अव्यवस्थित पारिवारिक माहोलले अरुण दिनानुदिन खिइँदै गए पनि उनका स्वरचाहिँ झनै तिखारिए। अरुणले ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ…’, ‘जति माया लाए पनि…’, ‘मेरो गीत सबै तिमीलाई…’, ‘आँखाको गीत…’, ‘साँझको जुन संगै…’ लगायत मन छुने गीत गाए। चलचित्रकर्मी एवं गीतकार चेतन कार्कीले अरुण थोरै गीत गाएर धेरै चर्चाको शिखरमा पुगेका गायक भएको बताए। उनले ६३ वटा मात्रै गीत गाए। ती सबै कालजीय बनेका छन्। स्मृति सभामा संगीता थापा शाक्य, सरिता प्रजापती, शैलेश सिंह, देवेन्द्रमान सिंह, सत्यनारायण मानन्धर, डा. लोचन रिजाल लगायतले अरुणको सम्झनामा गीत गाए।

त्यस्तै निरञ्जन भण्डारीले बाँसुरी, परशुराम पौडेलले तबला र रामकुमार अर्यालले सितारमा अरुणको गीतका धुन सुनाएको खबर अाजको कान्तिपुर दैनिकले खबर प्रकाशित गरेको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्