मदनकृष्ण श्रेष्ठका यस्ता छन् सुख दुःख



madankrishnaजीवनमा धेरै सुख–दुःख हुन्छन् । सम्झेर साध्य छैन । सुख–दुःख जीवनका दुई पाटा हुन् । आइरहन्छन्, गइरहन्छन् । जसरी हामीले सास फेरेको थाहा पाइँदैन, कतिपय सुख–दुःख पनि त्यस्तै हुन्छन् । सुख हुन्छ एकछिन हाँसेर सकिन्छ, दुःख हुन्छ एकछिन रोएर सकिन्छ । यसलाई सम्झिइरहनु पनि हुन्नजस्तो लाग्छ । तर, कतिपय सुख–दुःख मनमा गढेर बसेका हुन्छन् ।

सुख सम्झिन गाह्रो हुने रैछ । पहिला सुख लागेका कतिपय कुरा पछि सामान्य हुँदै जाँदो रहेछ ।  त्यस्तै, कतिपय पहिले सामान्य लागेका कुरा पनि पछि सुख लाग्ने हुँदो रहेछ । कति गज्जबको कुरा सोध्नुभयो कि दुई दुःख सात सुख । सात दुःख दुई सुख भनेको भए सम्झिहाल्थें होला । फेरि पनि सानासाना सुख धेरै नै छन् । सुखबाटै सुरु गरौं ।

सात सुख

नेपाली हुन पाएँ

नेपालमा जन्मन पाएकोमा बडो सुख लाग्छ । साँच्चिकै सुन्दर छ मेरो देश, प्राकृतिक सौन्दर्यले भरिएको । यो सुन्दर देशमा जन्मिएँ, कलाकारितामा लागेर नेपालीमाझ चिचिन पाएँ, यो नै मेरा लागि सबैभन्दा सुखको कुरा हो ।

एसएलसी पास

एसएलसी पास हुँदा पनि सुखको अनुभूति भएको थियो । किनभने, तीनपटकमा एसएलसी पास भएको हुँ । ०२३ सालमा दिएको एसएलसी ०२५ सालमा कटाएँ । दुईपटक बिग्रियो । पास हुँदा हाइसन्चो भएको थियो । त्यति बेला त एसएलसी पास हुनु पनि के के नै लागेको थियो । तर पछि आइकम पास हुँदा एसएलसी सामान्य लाग्यो ।

हरेक प्रहसनपछि

मञ्चमा प्रहसन हेर्दा सजिलै गरे जस्तो लाग्छ । तर, त्यसका लागि निकै मेहनत गर्नुपर्छ । हरिवंश र मैले थुप्रै प्रहसन गर्यौँ । मेहनत पनि खुबै गर्यौँ । स्टेजजानु अघि के होला कस्तो होला भन्ने हुन्छ । दर्शकले मन पराउने हुन् वा होइनन् भन्ने चिन्ता पनि हुन्छ । फेरि पनि हामी थुप्रै प्रहसनमा सफल नै भयौँ भनौँ । प्रहसनपछि दर्शकको ताली पाउँदा, तिमीहरुले राम्रो गर्यौ भन्ने भावमा चिच्याउँदा, मलाई बेसरी सुखको अनुभूति हुन्थ्यो, हुन्छ । यो एउटै सुख हो, तर धेरैपल्ट पाएको छु ।

जनआन्दोलनका घाइतेलाई सहयोग गर्दा

जनआन्दोलनमा थुप्रै घाइते भए । यो दुःखको कुरा हो । तर, त्यतिबेला हरिवंश र मलगायत साथीहरुले थुप्रै घाइतेको उपचार गर्यौँ, जनताका माझमा गएर सहयोग उठाएर । सबैले दिल खोलेर सहयोग गर्नुभयो । त्यतिबेला जनता एक ढिक्का भएर उर्लिएका थिए । हामी सहयोग माग्न जहाँ–जहाँ पुग्यौं, त्यहाँ जनताले लाइन लागेरै सहयोग गरे । मागी हिँड्ने जोगीले समेत पैसा दिएका थिए । त्यतिबेला झन्डै दुई करोड ५० लाख रुपैयाँ उठेको थियो । त्यो सहयोगले थुप्रै घाइतेको उपचार गर्यौं । यसरी जनआन्दोलनका घाइतेको उपचार गर्न पाउँदा निकै सुखको अनभूति भएको थियो ।

शान्ति सम्झौता हुँदा

देशमा शान्ति, समृद्धि हुनु नै नागरिकका लागि सबैभन्दा ठूलो सुख हो । राष्ट्रमा शान्ति भए नै जनताका मनमा शान्ति हुन्छ । लामो समयको सशस्त्र संघर्षपछि माओवादीले हतियार बिसाए । शान्ति सम्झौता भयो । शान्तिसम्झौता गरेको दिन जब माओवादी अध्यक्ष प्रचण्ड र गिरिजाप्रसादले हात मिलाए, मैले टिभीमा हेरिरहेको थिएँ । अहो, अब त देशमा शान्ति हुने भो भन्ने लाग्यो । निकै सुख लागेको थियो । पछि हतियार व्यावस्थापन हुँदा पनि खुसी लागेको थियो ।

अन्तर्जातीय विवाह गर्दा

मैले अन्तर्जातीय विवाह गरेको हुँ । म श्रेष्ठ, मेरी श्रीमती सुवेदी । अन्तर्जातीय विवाह गरेर राम्रो काम गरेंछु भन्ने लाग्छ र खुसी लाग्छ । किनभने समाजमा अशिक्षा, अन्धविश्वासका जुन विभेद छ, यो गलत छ । मैले अन्तर्जातीय विवाह गरेर समाजमा विभेद हटाउन सहयोग पुर्याएँ जस्तो पनि लाग्छ । मैले मन पराएकीसँग विवाह गरें, घरबार गरें, खास सुख त यही नै हो । भाग्यले मलाई राम्रो जुराइदियो । अन्तर्जातीय विवाहका कारण पनि मेरो सोच फरक छ ।
घर बनाउँदा

०३८ सालमा मैले धोबीधारामा घर बनाएँ । त्योभन्दा अघि भोटेवहालमा डेरामा बस्थेँ । घर बनाएर सर्ने दिन पनि मैले ठूलै सुखको अनुभूति गरें । घर सरेको दिन हरिवंश र मसँगै थियौँ । बेलुका हामी छतमा बस्यौं, जुन हेर्यौँ । मैले हरिवंशलाई भनेँ, ‘हेर हरिवंश यो घरमात्रै मेरो होइन, यहाँ बसेर देखिन जूनतारा पनि मेरो हो । हिजो जून हेर्न पनि मैले भाडा तिर्नुपथ्र्यो ।’ हरिवंशले ठट्टा गर्दै भन्यो, ‘हो दाइ, यो जुन तपाईंकै प्राइभेट हो । यो घरमाथिको आकाश पनि तपार्इंकै हो । आकाशका जूनतारा पनि तपाईंकै हो ।’
दुई दुःख

श्रीमतीलाई क्यान्सर

जब मैले थाहा पाएँ, श्रीमतीलाई क्यान्सर भएको, क्यान्सर पनि अन्तिम अवस्थामा पुगेको, आकाशै खसेजस्तो लाग्यो । यो तीन वर्षअघिको कुरा हो । अहिले किमोथेरापी उपचार भइरहेको छ ।
बाबु गुमाउँदा

मैले आमा गुमाएको थाहै पाइन । म ६ महिनाको हुँदा आमा खस्नुभएको हो रे । बुवा ०३२ सालमा खुस्नुभएको हो । बुवा खस्दा म धेरै दुखी भएँ । त्यो बेला हामी झोंसेमा बस्थ्यौँ । पैसाको अभाव थियो । त्यतिबेला मैले जागिर खाइसकेको थिएँ । तर, मेरो तलब बुवालाई औषधि किन्न पुग्दैनथ्यो । बुवालाई हरेक दिन दुइटा ट्याबलेट खुवाउनुपथ्र्यो, १४–१४ रुपैयाँको । उतिबेला २८ रुपैयाँ अहिलेको २८ हजारभन्दा ठूलो थियो । बुवा बितेर हामी घर गयौँ । सरासर भित्र छिर्यौँ । घरको ढोका खुल्लै थियो । सुरुमा त ख्यालै गरेनौँ । पछि थाहा भयो, चोरले ढोका फोडेको रहेछ । दुःखमाथि दुख पर्यो ।

चक्रपथडटकमबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News