कथा : साहसी दीप


 


कुमार काफ्ले

दयाराम सरलाई सेनाले क्रुरतापूर्वक हत्या गरेपछि त्यो गाउँमा मुर्दा शान्ति छाएको थियो । छिमेकी गाउँ र बस्तीहरूमा पनि रगतको होली खेल्दै उनीहरू अगाडि बढिरहेका थिए ।

हरेक साँझ रेडियो नेपालबाट समाचार बज्थ्यो दोहोरो भीडन्तमा यतिजना आतंककारीको मृत्यु, सेनाको नियन्त्रणबाट भाग्न खोज्दा फलानो आतंककारीको गोली लागेर घटनास्थलमै ज्यान गयो आदि आदि । समाचारमा सत्यता नभए तापनि सुन्न र तर्सिन विवश थिए सोझा सिधा गाउँलेहरू । घटना एउटा घट्थ्यो तर प्रचारप्रसार नितान्त भिन्न तरिकाले गरिन्थ्यो ।

घरमा पानी मागेर खाएको, दिएको निहुँमा, बास बसेको, खाना खुवाएको आरोपमा गाउँलेहरूले धेरैपटक खप्की र चड्कन खाईसकेका थिए । हरियो बर्दीधारीहरूले पानी खाएर वा कुराकानी गरेर गएको थाहा पाएपछि राता मान्छेहरू आउँथे र थर्काउँथे अनि सफाया गर्ने भन्थे । उनीहरू आएर गएको सुराकी पाएपछि फेरि हरियो बर्दीवालाहरू आउँथे र अनेक यातना दिन्थे, वेपत्ता पार्थे कतिको त हत्या नै गर्दथे । दुवैथरि आउँथे र तिनीहरूसँग तेरो के साँठगाँठ छ ? के सल्लाह गरिस् भनेर खेर्दथे,यातना दिन्थे ।

दुवैथरि अतिवादीहरूको चपेटामा सर्वसाधारण गाउँले परेका थिए । हुन त त्यहाँ ज्यानको सवाल थियो, थोरै होस नपुर्याउँदा, शत्रुपक्ष र उसको सम्बन्ध, साँठगाँठ कोसँग कस्तो छ ? भनेर ख्याल नगर्दा ज्यानै जान सक्थ्यो । आफ्नो ज्यानको त्यति सारो माया नगर्नेहरू त युद्धमा होमिएकाहरू नै हुन् तथापि उनीहरू पनि जीवन जिउन त हरसंभव प्रयास गर्दारहेछन् । यो सब कुराको साक्षी तिनै गाउँलेहरू थिए जो यस्तो द्वन्द्वका बेलामा समेत गाउँघर छोड्न सकिरहेका थिएनन् ।

उनीहरूको टेक्ने र समाउने जे भने नि त्यही गाउँ थियोे त्यसैले धनीमानीले झैँ आफ्नो थातथलो छोड्न सकेका थिएनन् । त्यस्तो गाउँको मायाले भन्दा पनि बाध्यताले भइरहेको थियोे । गाउँका हुनेखाने, पूर्वप्रधानपञ्च र मुखिया भएर गरीब, निमुखा गाउँलेहरूलाई शोषण, दमन गर्नेहरूले त पोहोर परारै गाउँ छोडिसकेका थिए भने कतै जान नसक्नेहरू, उत्पीडितहरू दुवैथरिको निशानामा परेका थिए । झन स्व. दयाराम सरको परिवारलाई त कहिल्य‌ै नपरेको पीडाको साथमा गरीबि र अभावले कक्रक्क पारेर कक्र्याएका थिए । एकहुल मान्छेहरू आएर दयाराम सरलाई शहीद घोषणा गरेर गएका थिए तर त्यसले मनको सन्तोषभन्दा बढी केही दिदैनथ्यो ।

निर्दोष छोरालाई अनाहकमा मारेपछि बूढा बाआमा ठेगानका कुरा गर्न छोडेका थिए भने मास्टर्नीको झन बेहाल भएको थियोे । सानो छोरो र काखे छोरी हुर्काएर खुट्टामा उभिन सक्ने बनाउनु थियो । ठूलो छोरो भने पन्ध्र वर्ष लागिसकेको थियो तर उसको पनि कम चिन्ता थिएन उनलाई । कहिले बाबाको सपना पूरा गर्न घर छोडेर क्रान्तिमा होमिन्छु भन्थ्यो त्यहाँ माथि बाबाका साथीहरू आएर फकाउथें । उसले कहिले घर छोड्ने हो भनेर रातोदिन पीरमा थिइन् उनी । बाउलाई गुमाए पनि यिनै सन्तानको मुख हेरेर चित्त बुझाउने बलजफ्ती कोशिस गरिरहेकी उनलाई कहिलेकाहीँ त आफै हिडौं कि भन्ने पनि नलागेको होइन ।

स्व.दयाराम सरको जेठो छोरो निकै बुझ्ने भइसकेको थियोे । कलिलै उमेरमा उसले बुबाले पढेका, पढ्न ल्याएका प्राय:सबै पुस्तकहरू पढिसकेको थियोे । बुबालाई शत्रुहरूले निर्ममतापूर्वक मारेपछि ती किताबहरू पुनः मनोयोगका साथ दोहोर्‍याए पढि सिध्यायो । आमा कहिलेकाहीँ भन्थिन् “बाबु, तेरा बाउ पनि यस्तै किताबहरू पढेर अकालमै गए, तँ पनि बाउकै मति गर्दैछस् । भो नपढ् यस्ता किताब ! म लगेर खोलामा फाल्दिन्छु ।”

“हैन आमा!हाम्रा बुबाका सम्झना भनेकै यिनै किताब त हुन् , यिनलाई त फाल्ने होइन संरक्षण गरेर पो राख्नुपर्छ ।”

पढाइ, अनुभव, दु:ख र संघर्षले खारिएकाले उ उमेरभन्दा ठूलो र पत्याउनै नसकिने किसिमका कुरा गर्थ्यो । उसलाई बुबाले नाम राखिदिएका थिए ‘दीप’ ।आमा छोराले सल्लाह गरेर ती सबै किताबहरू बोरामा हाले र पारि पाखामा लगेर ओढारभित्र लगेर लुकाए । घरमै राख्दा कुनै दिन ती हरिया बर्दीधारी मान्छे वा सुराकीहरूले थाहा पाउन सक्थे र खतरा हुन सक्थ्यो ।

बाख्रा चराउन जाँदा दीप जहिले पनि त्यही ओढारमा गएर छानीछानी किताब निकालेर पढ्थ्यो । कतिपय कुराहरू आमालाई पनि सुनाउथ्यो , केही बुझ्थिन् धेरै बुझ्दैनथिन् । तर यतिचाँहि प्रष्टताका साथ बुझ्थिन् कि दीप अब धेरै बुझ्ने र सही गलत छुट्याउने भइसकेको छ ।

किताब पढ्ने अभिलाषाले दीप बाख्रा जहिल्यै त्यही पाखामा लान्थ्यो । पाखो अप्ठ्यारो थियो,मूलबाटो भन्दा त्यस्तै डेढ दुई सय मिटरमाथि उसको अध्ययन कक्ष ओढार थियोे । त्यहाँ भन्दा माथि अक्कर तारेभीर थियोे न त बाटो थियोे न कोही आउजाउ नै गर्दथे । त्यो दिन पनि उसले बिहानको खाना खाएर बाख्रा चराउन लिएर हिँड्यो।खोलापारि पुगेपछि विपरीत दिशाबाट पन्ध्र बीसजना मान्छे आफूतिरै आउँदै गरेको देख्यो ।

ति अपरिचित मान्छेहरूको बीचमा अन्दाजी तीस पैंतीस वर्षको युवालाई हतकडी लगाईएको थियो र उ खाली खुट्टा अप्ठ्यारो गरेर हिँडिरहेको थियो । त्यो मान्छेलाई अरूहरूले तथानाम गाली गर्दै बुट लाएका खुट्टाले लात्ती हान्दै खोलातिर लगिरहेका थिए भने त्यस युवकको मुखबाट खुन बगिरहेको थियो । ती हिंस्रक मान्छेलाई देखेर दीपका बाख्रा पनि तर्सेर भागे । उसलाई रुखो स्वरमा ओइ बाटो छोड् भनेर हप्काउँदै उनीहरू अगाडि बढे । पशुले समेत मन नपराउने यी कस्ता खराब मान्छे रहेछन् भनेर सोच्यो तर केही बोलेन।दीप बोलीबाटै मान्छे कस्ता हुन् भनेर चिन्न थालिसकेको थियोे । एकथरिको बोलीबचनमा नरमपना र मिठास थियोे ।

आफूभन्दा ठूलालाई बुबा ममी,सानालाई बाबु नानी भन्थे , नमस्कार गर्थे , हात मिलाउथें । अर्काथरिको बोलीबचन कर्कश र रुखो थियोे , मुखमा जे आयो त्यही बोल्ने , तँत मम गर्ने असभ्य खालका थिए । हेर्दाहेर्दै तिनीहरू खोलामा पुगे र त्यस युवकलाई मनमा केही दयामाया नराखी पिट्न थाले । केहीबेरमा ड्याङ्ग…ड्याङ्ग आवाज सुनियो । गोली लागेर पनि त्यो युवकको साहस गर्व गर्न लायक थियोे , उसले दह्रोसँग मुठ्ठी कसेर हात ठड्यायो ।

फेरि ड्याङ्ग ड्याङ्ग दुई पटक गोली चल्यो,दीपलाई लाग्यो एउटा होनहार मान्छे ढल्यो । त्यही खोलामा त्यो युवकको इहलीला समाप्त भयो । उसको मनमा आँधी , तुफान चल्न थाल्यो । यी पापिष्टहरूले मेरो बाबालाई पनि यसैगरी मारे होला भन्ने सम्झेर उ भावविह्वल भयो र मनमा प्रतिशोधको ज्वला दन्किन लाग्यो ।

बाख्रा धपाउँदै अलिक पर पाखामा पुगेको दीपको होशहवास् तब उड्यो जब त्यहाँ बाँसघारीमा एकजना अधबैंसे मान्छे पानी पानी भनेर छट्पटाइरहेको थियोे । त्यसको अनुहारभरि रगतैरगत लतपतिएको र चोटैचोटले विक्षिप्त भएको थियोे।उसलाई त्यो मान्छे कताकता देखेजस्तो लाग्यो र छेवैमा गयो । पानी ! पानी !!आमा !!!… भनेर त्यो मान्छे एकोहोरो अलापिरहेको थियो ।

दीपलाई लाग्यो सबैभन्दा पहिला यसलाई पानी खुवाउनुपर्छ ! र दौडदैं नजिकैको खोल्सामा गएर शिरको टोपी निकाल्यो , पानी हाल्यो अडिएन । त्यसपछि टोपीमा केही पात हाल्यो र उसैगरि दौडदैं आयो । टोपीमा केही थोपा पानी अडिएर बाँकी चुहिइसकेको थियोे जसरी उसको सबैथोक सकिएर घिटिघिटि प्राणमात्रै बाँकी थियो ! त्यही प्राण पनि केही क्षणमै रित्तिदैं थियोे । दीपले टोपी निचोरेर केही थोपा पानी त्यसको मुखमा हालिदियो , पुलुक्क उतिर हेरेर त्यो घाइते अलिकति मुस्कुरायो र सधैंका लागि आँखा चिम्लियो ।

दीप किंकर्तव्यविमूढ भएर एकछिन त्यहीँ थचक्क बस्यो । उसलाई डर पनि लाग्न थाल्यो , छट्पटी बढ्यो , के गर्नु के नगर्नु केही सोच्नै सकेन । अहिले फेरि ती अघिका मान्छेले देखे भने के गर्लान् भन्ने सोच्यो । मर्नदेखि त उ डराउदैनथ्यो तर मर्ने भनेर त्यत्तिकै मर्नुहुन्न , जीवन र मरण दुवै उद्धेश्यमूलक र गर्व गर्न लायक हुनुपर्छ भन्ने उसको बुझाइ थियोे । एकपटक त्यो भर्खरै शहादत भएको मान्छेलाई सलाम गर्यो , तत्पश्चात सधैं जाने त्यही ओढारमा गएर एकछिन पल्टियो ।

किताब पनि पढ्न मन लागेन । सम्झ्यो किताब पढेर र रटेर मात्रै परिवर्तन संभव छ‌ैन । त्यसपछि त्यो किशोर दीपले के सोच्यो कुन्नि ! ढुङ्गा बटुल्न थाल्यो । उसले लगातार दुई तीन घण्टासम्म सयौं साना ठूला ढुङ्गा ओसारेर थुपार्यो । ऊ घरि बिहानै खोलामा गोली हानेर मारेको युवकलाई सम्झन्थ्यो घरि आफूले पानी खुवाउँदाखुवाउँदै केही घण्टा अगाडि मरेको मान्छेलाई सम्झन्थ्यो । सम्झनाकै लहरोमा उ आफ्ना बुबालाई पनि सम्झन्थ्यो र भक्कानिदैं रुन्थ्यो । अनि फेरि साहस बटुलेर ढुङ्गा जम्मा गर्नतिर लाग्थ्यो ।

अघाएपछि बाख्रा बाटैबाटो शुरुशुरु घरतिर लागे । सदा उ पनि बाख्रा पछिपछि लाग्थ्यो तर आज उसलाई घर जान मनै लागेन । ऊ अझ जोशका साथ ढुङ्गा बटुल्दै थियो , ढुङ्गाको ठूलो थुप्रो बनिसकेको थियोे । यत्तिकैमा निधारको पसिना पुछ्दै खुइया गरेर उभियो र गाउँतिर नजर पुर्यायो । घाम डुब्न लागिसकेको त्योबेला माथि भञ्ज्याङ डाँडामा घामको पँहेला किरण फैलिएर सुनौलो रङले रङ्गिएझैं देखिन्थ्यो । हठात् उसका नजर बिहान गएकै बाटोबाट फर्किरहेका हरिया बर्दिधारीहरूको हुलमा पर्यो ।

उनीहरू मातेर हल्लाखल्ला गर्दै आइरहेका थिए।तिनीहरूलाई देखेपछि दीपको मनमा फेरि आक्रोशको ज्वला दन्किन थाल्यो , बिहान हत्या गरिएका र आफ्ना बुबालाई सम्झ्यो । सम्झनाका लहर र प्रतिशोधको भावना यसरी बटारिएर आए कि उसले आफूलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्यो।ठीक सिधा तल तिनीहरू आइपुगेपछि अघि देखि बटुलेर राखेका ढुङ्गाहरू बर्साउन थाल्यो । एक्कासि माथिबाट ढुङ्गा ओइरिन थालेपछि बर्दीवालाहरूले केही सोच्नै सकेनछन् क्यारे ! केहीछिनमै चार पाँच जना त त्यहीँ लडे ।

कोही भाग्न खोजे , केहीले अन्धाधुन्ध फायरिरङ गर्न थाले तर केही बेरमै सबै घाइते भए । दीपको अदम्य साहस अझै बढिरहेको थियो।उ पागलसरि भएर ढुङ्गा लडाइरहेको थियो । ढुङ्गाले लागेपछि ति मान्छेहरू ढन्फनिदैं भीरमा लड्थे र ज्यान गुमाउथे । त्यहाँ एकजना पनि सद्दे देखिदैनथे भने दीपका ढुङ्गा अझै सकिएका थिएनन् ।

सायद रक्सीको मात र मान्छे मारेको उन्मादले नै बर्दीवालहरूको यो दुर्गति भएको होला ! एउटा पन्ध्र वर्षे ठिटाले हातहतियारसहितका पन्ध्र बीसजना तालिमप्राप्त मान्छेलाई एकैगाँस बनाएको थियोे । उसले नसोचेको , कल्पनाबाहिरको सफलता हासिल गरेको थियो । त्यसपछि दौडेर ऊ घर पुग्यो । घरमा पुग्दा झम्के साँझ परिसकेको थियो र सबैले उसकै चिन्ता गरिरहेका रहेछन् ।

बन्दुक पड्केको, ढुङ्गा लडेको आवाज सारा गाउँलेहरूले सुनेका थिए र पनि नसुनेझैं गरेर बसेका थिए । बढी चासो र खोजीनिति गर्नु आफैलाई खतरा हुन्थ्यो । दीप सदाभन्दा गम्भीर देखिन्थ्यो र आमाले कहर गरेपछि दिनभरको वृतान्त सबै सुनायो । छोराको साहस र आँट सुनेपछि आमाको छाती गर्वले फुलेर आयो तर भित्रभित्रै डर पनि लाग्यो, अब यसलाई पनि यो गाउँमा बाँच्न दिदैंनन् जस्तो लाग्यो ।

उनी त भक्कानो छोडेर रुन पो लागिन् । दीपले आमालाई सम्झाउँदै भन्यो “आमा हजुरले अब मेरो चिन्ता गर्नुपर्दैन , मैले के गर्नुपर्छ , कसरी जोगिनुपर्छ भनेर योजना बनाइसकेको छु ।” आमाले फेरि छोराको अनपेक्षित उत्तर आउने डरले के छ त तेरो योजना बाइ भनेर सोध्न पनि सकिनन् । दीप आफै भन्न थाल्यो “म पनि अब यो गाउँ छोड्छु आमा !”

“काँ जान्छस् त बाइ तँ सानै छस् ।”

आमाले दीपबाट शहर या मुग्लान जान्छु भन्ने जवाफ पर्खिरहेकी थिइन् तर उसले दृढ र स्पष्ट स्वरमा भन्यो “म अब क्रान्तिमा सामेल हुन्छु आमा ।” रातभरजसो आमा छोरा गन्थन गरिरहे, दुवैजना झुपुक्क निदाएनन् । आमालाई छोराको धेरै पीर थियो र थोरै सन्तुष्टि पनि ! पीर यसर्थमा कि उसलाई असमयमै गुमाउनु पर्ला भन्ने !

सन्तुष्टिचाँहि एक बहादुर सपुत जन्माएकोमा जो आफ्ना बाले देखेको सपना पूरा गर्न सबथोक गुमाउन तयार थियो।झोला बोकेर उ हजुरबा , हजुरआमा सुतिरहेको ठाउँमा गयो र ढोग्यो, निदाइरहेका भाइबहिनीको हातमा फुकिदियो, आमाको गालामा बगिरहेको आँशु पुछिदियो र ढोकामा पुगेर एक निमेष आमातिर हेर्यो अनि सरासर अगाडि बढ्यो । झिसमिसे उज्यालो हुन लागेको थियो, आमाले छोरो गएको बाटोतिर निकैबेर नियालेर हेरिन् र अब छिट्टै उज्यालो हुने अनुमान गरिन् किनकि त्योबेला पूर्व क्षितिज रातो भइसकेको थियो ।

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्