मासिक आठ अर्बको खसीबोकाको मासु खपत, दशैंमा अत्यधिक


 


काठमाडौं, असोज ४
नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ । आजको अन्नपूर्णमा खबर छ ।

नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन् । यसमध्ये झन्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार गोटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएको तथ्यांक छ । खसीबोका आयातको ९८ प्रतिशत हिस्सा भारतको छ ।

नेपाली बजारमा स्वदेश र आयातित खसीबोका औसत ३० किलोका भित्रिने गर्छन् । ३० किलोको खसीबोकाबाट २४ किलो तयारी मासु बन्छ । एक किलो खसीबोकाको मासुको उपभोक्ता मूल्य औसत आठ सय रुपैयाँ पर्छ । यसमा दसैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन ।

दसैंका बेला सामान्यभन्दा झन्डै आठ दोब्बर बढी मासु खपत हुने पाइएको छ । दसैंको समयमा हुने कारोबारलाई जोड्दा वार्षिक करिब डेढ खर्ब मूल्यको खसीबोकाको मासु खपत हुँदै आएको छ ।

चौपाया खरिदबिक्री सेवा संघका अनुसार बढ्दो सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा खसीबोकाको मासु खाने प्रवृत्ति बढेको छ । आम उपभोक्ता अहिले मासुका विभिन्न परिकारको स्वादमा रमाउन थालेका छन् ।

साना रेस्टुराँदेखि पाँचतारे होटेलसम्म खसीबोकाको मासुका विभिन्न परिकार मेनुमा पस्किन थालेपछि उपभोग दर बढेको हो । ‘मासुबाट बनाइने विभिन्न परिकारको खपत बढ्दै गएको हो,” संघका अध्यक्ष गोविन्द पाठकले भने ।
अहिले झन्डै मासुबाट बनेका दुई दर्जन परिकार बन्ने गरेका छन् ।

पाठकका अनुसार खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कबाफ, सिंक कबाफ, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुस्लिम कबाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कबाफ, सेकुवा, मटन बिर्यानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकारका कारण उपभोग दर बढ्दै गएको हो ।
मासिक २२ करोडका खसीबोका आयात
नेपालमा मासिक २२ करोड रुपैयाँबराबरको खसीबोका आयात हुन्छ । दसैंबाहेक सामान्य समयमा भारत, अमेरिका र अस्ट्रेलियाबाट मासिक २१ करोड रुपैयाँबराबरका ३० हजार गोटा खसीबोका नेपालमा भित्रिने गर्छ । भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने गत साउन महिनामा मात्रै भारतसहित तेस्रो मुलुकबाट यो परिमाणमा मासुका लागि खसीबोका आयात भएको हो ।

दसैंमा अत्यधिक खपत
पशु सेवा विभागका महानिर्देशक डा। विमल निर्मलका अनुसार दसैंका अवसरमा बलि दिन र मासु खाने चलन बढ्दै गएकाले सामान्य दिनबाहेक करिब ६० हजार खसीबोका (१२ लाख किलो मासु) खपत हुन्छ । उपत्यकामा सामान्य दिनमा एक हजार गोटा खसीबोका बिक्री भए पनि दसैंमा करिब दैनिक तीन हजारको संख्यामा बिक्री हुन्छ ।

उपत्यकामा दसैंको अवधिमा मात्रै करिब ६० हजार खसीबोका, १० हजार च्यांग्रा, तीन हजार भेडा र सयभन्दा बढीको संख्यामा राँगा खपत हुन्छ । दसैंको अवधिमा मात्रै विदेशी र स्वदेशी गरी करिब ५६ करोड रुपैयाँबराबरका खसीबोकाको कारोबार हुन्छ ।

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्