खुकुरी बेचेर छोरालाई इन्जिनियर


 


सिरहा, साउन १६

खुकुरी बेचेर गरेको आम्दानीले भोजपुरको गुप्तेश्वर २ का टंकबहादुर विश्वकर्माले छोरालाई इन्जिनियर बनाएका छन् । उनले सिरहाको बडहाडामाल २ मा आफ्नो घरेलु उद्योग सञ्चालन गरेका छन् । आफ्नो उद्योगमा गाडीको स्प्रिङ पत्तीको खुकुरी बनाएर बिक्री गर्दै आएको बताए । आफ्नो उद्योगमा भोजपुरे, सिरुपाते, चैनपुरे, बुदुनेलगायतको विभिन्न आकारको खुकुरी उत्पादन गर्ने गरेको बताए । उनले खुकुरीको आकार हेरेर ८ सयदेखि ५ हजारसम्ममा बिक्री गर्ने गरेको सुनाए ।

उनले आफूले उत्पादन गरेको खुकुरी आफ्नै घरमा खोलेको पसलबाट, धरान, पोखरा, काठमाडौंलगायत देशभरि निर्यात गर्ने गरेको बताए । व्यापारी घरमा नै खरिद गर्न आउने गरेको र उत्पादन बढी भएको बेलामा आफू पनि पोखरा र काठमाडौंमा लगेर बिक्री गर्ने गरेको बताए । उनले आफ्नो उद्योगमा दैनिक १० देखि १५ वटा खुकुरी उत्पादन हुने गरेको जनाए ।

टंकबाहदुर खुकुरी बनाउने पुख्र्यौली पेसामा आफू भोजपुरस्थित गाउमा ५ कक्षा पास गरेदेखि नै लागेको बताए । उनले ५ कक्षासम्मको पढाइ पूरा गरेर १५ बर्षको उमेरदेखि सुरु गरेको खुकुरी बनाउने काम गर्दै आएको बताए । उनले भोजपुरस्थित आफ्ना गाउमा सञ्चालन गरेको खुकुरी उद्योग बन्द गरेर २०४६ सालमा धरानमा शुरु गरेको बताए ।

उनले धरानमा त्यो समयमा २०/२५ हजार खुकुरी बिक्री गरेर भइरहेको आम्दानी छोडेर अझै बढी पैसा कमाउने उद्देश्यले २०५० सालमा वैदेशिक रोजगारीमा साउदी अरेबिया गएको सुनाए । ‘त्यहाँ ५ हजार मात्रै बचत हुने भएपछि २०५२ सालमा फर्केर धरान आएर पुन: खुकुरी बनाउने पेसा सुरु गरें,’ उनले भने, ‘खुकुरी बिक्री गरेर भएको आम्दानीले धरानमा परिवार पालेर ६ कठ्ठा जग्गा खरिद गरेको र १ बिघा ऐलानी जग्गा जोडेको थिएँ ।’

‘आफ्नो उद्योगमा अहिले भोजपुर र तेह्रथुमका १३ जना कालिगढले काम गरिरहेकाले उनीहरूको पनि परिवार चलेको छ,’ उनले भने, ‘आफूलाई सबै खर्च कटाएर मासिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेको छ ।’ टंकबहादुरले खुकुरी बिक्री गरेर गरेको आम्दानीले आफ्ना २ छोरा र १ छोरीमध्ये जेठो छोरा विष्णुकुमार लकान्द्रीलाई रुसबाट इन्जिनियर पढाए ।

विष्णु रुसबाट पढेर आएपछि अमेरिकामा बस्न थालेको उनले बताए । उनले अमेरिकामा छोरा बुहारी र नातिनातिनी बस्दै आएको सुनाए । विष्णुलाई रुस पठाउने बेलामा भएको ऋण तिर्न १ कठ्ठा ५ धुरमा रहेको घर र जग्गा १७ लाखमा बिक्री गरेको उनले बताए । ‘बुवाबाजेको नासोका रूपमा रहेको यो खुकुरी बनाउने सीप आफूसम्ममा नै बिराम लाग्ने भएकाले गुणस्तरमा सम्झौता गर्दिनँ,’ उनले भने, ‘त्यसैले मानिसहरू आफ्नो उद्योगको नाम खोज्दै यहाँसम्म खुकुरी खरिद गर्न आउछन् ।’

उनले यसअघि खुकुरी आम्दानीको लागि बनाएर बिक्री गर्ने गरेको तर अहिले नाम र शानका लागि मात्रै बनाउने गरेकाले गुणस्तरमा कसैले गुनासो गर्न नआएको सुनाए ।उनको भोजपुरे खुकुरीको नाम सुनेर मानिसहरू देशभरिबाट खरिद गर्न आउने गरेको स्थानीय व्यापारी रामप्रकाश महतोले बताए ।

प्रकाशित मिति: १६ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्