परिवारका तिनै भाई दृष्टिविहिन


 


drsitibihin 3 dajuvaiलेखर्क (भोजपुर) साउन १७
यहाँको लेखर्क गाविस–४ का भिम बहादुर गुरुङ्ग (४७) घरबाट गाईभैंसी फुकाएर चौरमा चराउन लान्छन् । बाल्यकालदेखि नै उनको प्रायः दैनिकी गाईभैसी चराउनु बनेको छ । जित बहादुर गुरुङ्ग (४२) गाईभैंसीलाई दिनहुँ घाँस काट्छन् ।

गुरुङ्गले घाँस नकाटेको सायदै दिन होला । विरेन्द्र गुरुङ्ग (३७) गीत संगीत सिकिरहेका हुन्छन् । फुर्सदमा घरको मेलोपात गर्नु उनको थप जिम्मेवारी हो । भोजपुर सदरमुकामबाट पश्चिममा रहेको यो ठाउँका यी गुरुङ्ग दाजुभाई एउटै परिवारका तीन छोरा हुन् ।

विडम्बना ! उमेरले पाँच वर्ष अन्तरालमा जन्मेका र फरक दैनिकीमा भेटिने यी तिनै भाई दृष्टिविहिन हुन् । सानो उमेर छदा राम्ररी आँखा देख्ने तिनैजना दाजुभाई दृष्टिविहिन बनेको वर्षाे वितिसकेको छ ।

२० वर्षको उमेर छदासम्म राम्ररी आँखा देख्ने भिमबहादुले एसएलसीसम्म पास गरेका छन् । दुई छोराछोरीका बाबु समेत रहेका उनी यतिबेला अनुमानको भरमा लौरोलाई साथी बनाउँदै चौरमा गाईभैसी चराउँन जान्छन् ।

बाल्यकालमा उज्यालो संसार देखेका जित बहादुरको उमेर बढ्दै जादा त्यही संसार अध्याँरोमा परिणत भयो, जसले ९ कक्षाबाटै पढाई छाडे । उनका तीन छोरी र एक छोरा छन् । संगीत साधनामा ब्यस्त देखिने विरेन्द्रले १० कक्षा माथिको पढाईलाई निरन्तरता दिन सकेनन् । विरेन्द्र अविवाहित हुन् ।

परिवारमा जन्मेका आठ सन्तान मध्ये पाँच छोरीको आँखामा कुनै समस्या छैन् तर तिनै भाई छोराले भने बाल्यकाल बाहेक उज्यालो संसार कहिल्यै देख्न पाएनन् । २०–२२ को उमेरबाटै पुरै आँखा देख्न छाडेपछि भाईहरुको हेरचाहका लागि दुई दिदिवहीनीले पनि विवाह गरेनन् । तीनजना दिदिको भने पहिले नै विवाह भईसकेको भिमवहादुरले बताए ।

०५० सालसम्म आँखामा समस्या थिएन, त्यसपछि विस्तारै समस्या बढ्दै गयो, यतिबेला केही देखिदैन्, साथमा रहेको लौरो देखाउँदै भने यतिबेला हिडडुलको सहारा यँही बनेको छ । विस्तारै तिनै भाईले आँखा देख्न छाडेपछि उपचारका लागि सिराहाको लहान, इटहरी हुँदै काठमाडौको तिलगंगा आँखा अस्पतालसम्म पुग्दा पनि सुधार हुन सकेन ।

अस्पतालहरुले रेटिनाको समस्या रहेको बताएको उनिहरु बताउँछन् । धेरै वर्ष अघि उपचारमा गएका उनिहरु यतिबेला लौरो र परिवारका सदस्यहरुको सहारामा दैनिकी सञ्चालन गर्दे आएका छन् ।

अनुमानको भरमा दिनँहु घाँस काट्ने जितबहादुर भन्छन् घाँस काट्दा कहिले सर्प समेत काटिन्छ, अगाडी के छ थाहा छैन् सबै अनुमानकै भरमा चल्छ । कतै टाढा जानु पर्याे भने परिवारका सदस्यले डो¥याउँदै लान्छन् वरिपरि हिड्दा लाठीको सहायतामा डिड्ने गरेको विरेन्द्रले सुनाए ।

परिवारका सदस्यहरुले मेरो पनि विवाह गर्न कर गर्छन, म आफै यस्तो छु, त्यसैले संगीत साधनामा लागेको छु । धरानमा संगीत सिक्न गएका उनको संगीत मोह फस्टाउँदै गएको छ । दृष्टिविहिनताले पुरै कक्षा लिन नपाएका उनी संगीतमा दिनहुँ घरमै अभ्यासरत हुन्छन् ।

दृष्टिविहिनताले कष्टपूर्ण दैनिकीमा रहेका भिमबहादुर र जितबहादुरले पूर्ण अपांगताको रातो परिचय पत्र पाएका छन् भने कान्छो भाई विरेन्द्रले आंशिक अपांगको परिचय पत्रबाट प्राप्त सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका छन् ।

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्