जहाँ पुजिन्छन् खसी–बोका


 


download (10)गुल्मी, साउन १७
फोक्सिङका रानाथरका मगरहरूले भने गाईलाई जस्तै बाख्रालाई पनि सम्मान र पूजाआजा गर्दै आएका छन्। फोक्सिङका विभिन्न टोलमा रहेका २८ घरधुरीका चितउरे गोत्रका रानामगरहरूले बाख्रालाई आमा र खसी–बोकालाई परिवारका सदस्य मान्दै पुज्ने गरेका हुन्।

५५ वर्षीय पूर्णबहादुर रानाका अनुसार धेरै वर्षअघि रानाथरकै एक महिलाको सुत्केरी हुनासाथ मृत्यु भएपछि उनको शिशुलाई बाख्राको दूध खुवाएर हुर्काएकाले त्यसयता बाख्रालाई आमासरह सम्मान दिने चलन चलेको किंवदन्ती छ। ‘खसीबाख्राको मासु नखाने हाम्रो पाँचौं पुस्ता अघिदेखिको परम्परा हो,’ फोक्सिङ ३ तिलुङमंगलस्थानका रानाले भने, ‘फोक्सिङमा भएका रानाथरका समुदाय सबै बाख्राको दूध खाएर हुर्किएका पुस्ताका सन्तान हौं।’

त्यसैले पुस्तौंदेखि कसैले खसीबोकाको मासु नखाने र बाख्रालाई आमासरह पुज्नुका साथै बोकालाई परिवारकै सदस्य मान्ने परम्परा कायमै रहेको उनले बताए। चितउरे गोत्र रहेका रानामगरहरू फोक्सिङ ३ मा ९ घर, ५ मा ३ घर, ४ मा ७ घर र ८ मा ९ घर गरी २८ घरपरिवार छन्। बाख्राको नजिकै जाँदा शिर झुकाएर सम्मान गर्ने उनले बताए।

फोक्सिङ ५ का २५ वर्षीय ऋषिराम रानाले भने, ‘बुढापुस्ता त मानेरै आएका छन्, हामी तन्नेरी पनि जहाँ पुगे पनि बाख्रा, खसीबोकाको मासु खाँदैनौं। पुराना पुस्ताले चलाएको चलनलाई आफूहरूले पनि मान्दै आएको उनले बताए। अरू समुदायमा यस्तो चलनबारे नसुनेको बताएका ऋषिरामले भने, ‘हाम्रो जातिको चलन र इतिहास बताउने गरी हामी किताब निकाल्न लागेका छौं।’

स्थानीय सामाजिक परिचालक सरस्वती सापकोटाले भनिन्, ‘सुरुमा उनीहरूको गाउँ पुगेर यो थाहा पाउँदा मलाई पनि अनौठो लाग्यो। पाल्न चाहिं पाल्ने तर अरू समुदायलाई बेच्ने चलन रहेछ।’ आयआर्जनका लागि बाख्रापालन सजिलो भएकाले यहाँका रानामगर समुदायले घरैपिच्छे पालेको देख्न पाइने भए पनि हुर्काएर बेच्ने गरेको उनले बताइन्। यो खबर अाजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति: १७ श्रावण २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्