एउटै रुद्राक्ष बोटको बैना २५ लाख !


 


Rudrachhyaसंखुवासभा, साउन १८

सामान्यतया घरजग्गा किनबेचका क्रममा बैना गर्ने चलन छ । तर संखुवासभाको खाँदबारी नजिकैको एउटा गाउँमा रुद्राक्षका बोटको बैना गरिएको छ । त्यो पनि पूरै फल लाग्न नपाउँदै ।

सदरमुकाम खाँदबारी ढुंगेधाराका किसान लक्ष्मीकुमार श्रेष्ठले हुर्काएको रुद्राक्षको रुख २५ लाख रुपैयाँमा बैना गरिएको छ । व्यापारीले २५ लाखमा रुद्राक्षको बोटै किन्न खोजेपछि उनले २ लाख रुपैयाँ बैना रकम लिएका छन् । भोजपुर दिंग्लाका व्यवसायी शेरबहादुर बस्नेतले बैना गरेका हुन् ।

‘जेठमा व्यापारीहरू आएर यो रूखमा फलेका रुद्राक्षका दाना हाम्रो भयो, मूल्य गर्नुस् भन्न थाले,’ उनले भने, ‘त्यसपछि २ लाख बैना समातें ।’ २५ लाख मूल्य भनिए पनि दाना धेरै फल्यो भने त्यस बेलाको बजार मुल्यअनुसार रकम बढाउने सर्तमा बैना लिएको उनले बताए । फलेको दाना बस्नेतले लिनेछन् ।

तीन वर्ष अघिदेखि फल्न थालेको यो बोटको सबै रुद्राक्ष एकनाशको र बोक्रा नखोलीकनै उनले राम्रो आम्दानी गरेका छन् । ‘पोहोर यो बोटमा १ हजार ३ सय रुद्राक्षका दाना फलेका थिए,’ उनले भने, ‘त्यो बेला १२ लाखमा रूखै बेचेको थिएँ ।’ पोहोर पनि भोजपुरकै बस्नेतले उनको रूख किनेका थिए ।

कमाइ भएको पैसाले साहुको ऋण तिरेको र छोराछोरीलाई पढाउन सहज भएको उनले बताए । ‘रूद्राक्ष खेती गरेर राम्रो आम्दानी लिनका लागि एकमुखे रुद्राक्ष नै हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘ठूलाखालका ५ मुखे रुद्राक्ष भए पनि त्यसको मूल्य राम्रै हुन्छ ।’ गत वर्ष १३ सय दाना फलेको बोटमा यसपालि ४ हजारभन्दा बढी फल्ने अनुमान उनको छ ।

रुद्राक्ष व्यापारीले फूल फुल्नुअघि नै बगान एक वर्षका लागि किन्ने गरेको अर्का व्यापारी मोती शंकरले बताए । ३ वर्ष अघिसम्म ५ मुखे रुद्राक्षका दाना प्रतिकिलो ३० रुपैयाँसम्ममा बिक्री हुँदै आएको थियो । पछिलो पटक चीनमा रुद्राक्ष जान थालेपछि अरूको भन्दा ५ मुखेको मूल्य बढेको शंकरले बताए ।

‘३ वर्षअघि ५ रुपैयाँ बिक्री हुने रुद्राक्ष अहिले गोटाको २ हजारसम्म बेच्ने गरेको छु,’ उनले भने, ‘कन्ठे नाम गरेको रुद्राक्षको माग धेरै छ तर बजारमा पाउन गाह्रो छ ।’ प्रत्येक वर्ष भदौदेखि सुरु हुने रुद्राक्षको कारोबार फागुनसम्म बढी व्यापार हुने गरेको छ । संखुवासभा र भोजपुरमा उत्पादित रुद्राक्षको मुख्य बजार सदरमुकाम खाँदबारी हो ।

विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको छ । मुख र आकारले रुद्धाक्षको मूल्य निर्धारण गर्ने हुँदा यसको मूल्य मुख र आकारका आधारमा कम र बढी हुने गरेको व्यापारीको भनाइ छ । सामान्यत: गत वर्ष दुईमुखेलाई २० देखि ३० हजार र तीनमुखे ३ सय देखि ५ सयसम्म ६ मुखेलाई ४० रुपैयाँदेखि सयसम्म ७ मुखेलाई ५ सयदेखि हजारसम्म किनबेच हुने गरेको छ ।

यसैगरी ८ मुखेलाई १५ सयदेखि ३ हजारसम्म, ९,१० र ११ मुखेलाई ५ हजारदेखि १० हजारसम्म र १२ मुखेलाई ७ हजारदेखि १२ हजारसम्म, १३ मुखे १० देखि १५ हजार, १४ मुखे २५ हजारभन्दा बढीमा बिक्री भएका थिए । २० मुखे ५ देखि १५ लाखसम्म, २१ मुखे २५ लाखभन्दा माथि २७ र २८ मुखेलाई ४० लाखभन्दा माथि खाँदबारी बजारमा किनबेच हुने गरेको छ ।

संखुवासभामा वार्षिक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायीहरू बताउँछन् । तीन वर्षयता ४, ५ र ६ मुखेको रुद्राक्ष माग अत्यधिक बढेको छ,’ उनले भने, भोजपुरको

दिङ्ला क्षेत्र र संखुवासभामा फलेको एउटै रुद्राक्ष ५० लाखसम्ममा बिक्री हुने गरेको छ । यहाँ उत्पादित रुद्राक्ष देशका विभिन्न सहर, भारत र चीनसम्म पुग्ने गरेको छ ।

रुद्राक्ष कारोबार फस्टाउन थालेपछि केही वर्षदेखि श्रेणी विभाजन गरी जिविसले कर लिन थालेको छ । एक हजारभन्दा बढी व्यापारीलाई जिविसले लाइसेन्स वितरण गरेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्