अंग्रेजी नजान्दा दयाहाङलाई अफसोच !


 


dayahang raiकाठमाडौं, साउन १९

अंग्रेजी खरर बोल्न नजानेकोमा अफसोच मान्ने नेपालीहरु कति होलान् ? तीमध्ये एक अभिनेता दयाहाङ राई पनि हुन् ।  ‘मेरो अंग्रेजी बच्चैदेखि खराब होे,’ उनी सुनाउँछन्, ‘तर सुधार्ने प्रयास गर्नुभन्दा कमजोरी लुकाउने प्रयास गर्दै आएँ ।’

त्यसो त बाल्यकालमा पढाइमा तेज थिए दयाहाङ । गाउँको स्कुलमा सात कक्षासम्म एकचोटि दोस्रो नत्र निरन्तर प्रथम भए । सरकारी स्कुलमा पढेका उनले तीन कक्षामा आएर बल्ल एबीसीडी चिने भने ४ कक्षामा ‘गुड मर्निङ सर’ भन्न सिके ।
‘गुड मर्निङ सर भन्नलाई पनि जिब्रो लट्पटिन्थ्यो,’ दयाहाङ सम्झिन्छन्, ‘सुगा रटाइ रटेको भरमा अंग्रेजी विषयमा पास हुन्थेँ ।’

आठ कक्षामा आएर उनले स्कुल फेर्नुपर्‍यो, जहाँ प्रतिस्पर्धा बेसी थियो । त्यसपछि पहिलो तीन नम्बरभित्र अटाउन सकेनन् । यता अंग्रेजीले सपनामा पनि लखेट्न थाल्यो । एसएलसीमा अंग्रेजी कसरी कटाउने होला भन्ने चिन्तामा उनी दुब्लाउँदै गए ।

‘साइन्समा पो गुल्टिएँ’
तर, भइदियो अर्कै । उनी अंग्रेजीमा पास भए, तर साइन्समा फेल । दयाहाङ भन्छन्, ‘मेरो सबैभन्दा राम्रो म्याथ र साइन्स थियो । परीक्षा पनि राम्रै भएको थियो । कल्पनै नगरेको विषयमा गुल्टिएँ ।’

त्यसपछि उनलाई झ्याउ लाग्यो । स्कुलका सरहरुले रिटोटलिङ गर्न सुझाव दिए पनि उनी निच मारेर बसे । एक वर्ष खेर गयो । अर्को वर्ष पढ्दै नपढी साइन्सको परीक्षा दिँदा ५१ नम्बर आएर पास भएको उनले सुनाए ।

एसएलसीपछि दयाहाङ जसरी हुन्छ अंग्रेजीबाट भाग्न चाहन्थे । भोजपुरको क्याम्पसमा मेजर नेपाली राखेर भर्ना भए । आइए पास गरेपछि काठमाडौं आएर आरआर क्याम्पसमा बीए पढ्न थाले ।

तर, त्यतिञ्जेलसम्म उनलाई अंग्रेजीसित मात्रै नभएर पढाइसितै मोह भङ्ग हुन थालेको थियो । ‘कोर्सका किताब पढ्न मन नलाग्ने । त्योभन्दा बढी परीक्षा दिनै अल्छी लाग्ने भयो,’ दयाहाङ भन्छन्, ‘स्टोरी र नोभलहरुमै हराउन थालेँ ।’

जब सर्टिफिकेट हरायो
यसैबीच उनले अंग्रेजी सुधार्नका लागि विश्वभाषा क्याम्पसमा पढ्ने सुर कसे । तर, भर्ना हुने बेलामा एकजना साथीलाई सबै सर्टिफिकेट जिम्मा लगाएर आफू मुस्ताङ डुल्न हिँडे । तर, फर्केर आउँदा साथीले उनको भर्ना गरिदिएको रहेनछ ।

‘किन भर्ना नगरेको भन्दा केही बोल्दैन । पछि पो थाहा भयो, उसको लगेज चोरी भएको रहेछ, जसमा मेरा अहिलेसम्मका सबै प्रमाणपत्र थिए ।’ दयाहाङले भने, ‘मलाई पनि एक किसिमको हाइसञ्चो जस्तो भो ।’ त्यसपछि उनले प्रमाणपत्रको नक्कल निकाल्न निवेदन दिएनन् । औपचारिक पढाईमै पूर्णविराम लगाइदिए । आजको मितिमा उनीसित पढाइको एउटा पनि सर्टिफिकेट छैन ।

‘मलाई सर्टिफिकेट देखाएर कतै जागिर खानु थिएन, त्यसैले अर्को निकालिँन,’ अहिले निर्धक्कसित भन्छन् ।

अंग्रेजी नजान्दाका दुःख
औपचारिक पढाइमा मन नलागाए पनि कोर्ष बाहिरका किताबमा पहिल्यैदेखि लगाव थियो दयाहाङको । नेपाली साहित्यका कथा कविता र उपन्यास खुबै पढे पनि अंग्रेजीकै कमजोरीले विदेशी किताब त्यति पढ्न सकेका छैनन् । नेपालीमा उल्था गरिएका केही किताब पढे पनि त्यति मजा नआएको उनको अनुभव छ ।

कलाकारिताका क्रममा विभिन्न देशहरुमा आयोजना हुने कार्यक्रममा गइरहन्छन् दयाहाङ । त्यस्तो बेलामा अंग्रेजी नजानेको अफसोच हुने उनको अनुभूति छ । ‘कहिलेकाहीँ त विदेशीहरुसित ईशारामा कुरा गर्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘अन्तरंग कुरा गर्न नसक्दा दुख लाग्छ ।’

कहिले विदेशबाट विद्यार्थीहरु थेसिस लेख्न आउँछन्, मलाई भेट्छन् । त्यतिबेला उनले दोभाषे राखेर गफ गर्नुपर्छ । उनीहरुसित रेगुलर सम्पर्कमा रहन सक्दैनन् । यो उनका लागि अर्को दुख हो । अंग्रेजी सुधार्ने आफूसित तत्कालै कुनै कार्यक्रम नभएको उनी बताउँछन् ।

अनलाइनखबर डटकमबाट

प्रकाशित मिति: १९ श्रावण २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्