श्रवण मुकारुङ भन्छन् – हतारमा लेखिन्न कविता


 


sraban mukarungचालीसको दशकदेखि कविता लेखनका क्षेत्रमा प्रवेश गरेका कवि श्रवण मुकारुङ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पनि हुन्। समकालीन नेपाली कवितामा ‘बिसे नगर्चीको बयान’ उनको मास्टरपिस कविता हो। ‘सुन रे सियाराम’को लोकप्रियता र चर्चाले उनको उचाइ अझ बढाएको छ।

थुप्रै गीत लेखेका उनका ‘माथिमाथि शैलुंगेका चौंरी डुलाउनेलाई’, ‘म त तारेभीर तिमी लहरा’, ‘बाटो हेरे हुन्छ आमा म त आउँदैछु’ जस्ता गीत सदाबहार चर्चित छन् । पछिल्लो समय निबन्ध संग्रह ‘भावालय’ निकालेका मुकारुङसँग समकालीन कविता लेखन र यसप्रतिको धारणाबारे फणीन्द्र संगमले गरेको छोटो संवाद प्रस्तुत छ।

पछिल्लो कृतिका रूपमा निबन्ध संग्रह निकाल्नुभयो, ‘भावालय। बजारमा खासै चर्चा पाएन नि। फ्लप नै भएको हो?
फ्लप नै भएको त म मान्दिनँ। २०६४ तिरै निस्किएको ‘तर्कहरूको विपक्षमा’ लेख संग्रहको परिमार्जित संस्करण हो यो। यसमा नयाँ केही विचारहरू पनि समेटेको छु। प्रकाशकबाट राम्रै रोयल्टी पनि पाइसकेँ। अहिले पनि पुस्तक बिकिरहेकै छ भने यसलाई असफल मान्न मिल्दैन।

निबन्ध भनेको कविताजस्तो छिट्टै पढिहाल्ने वा आख्यानले जस्तो आकर्षित गरिहाल्ने विधा पनि होइन। यसभित्र वैचारिक चिन्तन र परिवर्तित समाज–राजनीतिप्रति लेखकको दृष्टिकोणसमेत अट्ने भएकाले पाठक पनि भिन्न हुन्छन्। बौद्धिक वृत्तका व्यक्ति र मेरा कविता पढेका पाठकहरूबाट भावालयप्रतिको प्रतिक्रिया राम्रै पाइरहेको छु। मेरा गीत र कविता मन पराउने पाठकलाई निबन्ध शैलीबारे चासो पनि होला, तिनीहरूले रुचाएका छन्।

मूल लेखन कविता भईकन पनि अन्य विधामा आकर्षित हुने लेखकहरूको प्रभावले निबन्धको पुनर्मुद्रण गर्नुभएको त होइन?

होइन। कविताबाहेक अन्य विषयक्षेत्रमा पनि म लेखिरहेकै थिएँ। लेख, निबन्ध, भूमिकाहरू पहिलेदेखि नै लेख्थेँ म। डायस्पोरिक कविहरूकै कृतिमाथि धेरै भूमिका लेखिसकेको छु।

सामाजिक–राजनीतिक परिवर्तनपछि चलायमान समाजका मुद्दामाथि विभिन्न पत्रपत्रिकामार्फत वैचारिक दृष्टिकोण राख्दै आएको छु। अन्य केही कविहरू आख्यानतिर लागेकैले मैले निबन्धको पुस्तक निकालेको मनोवैज्ञानिक प्रभावचाहिँ होइन। यो एउटा लेखकको स्वाभाविक रचना प्रक्रिया हो।

कुनै पनि सर्जक लेखनको मूल विधा छोडेर किन अन्य विधामा पनि लहसिन्छ? यसलाई एक प्रकारको लोभ या मोह भन्न मिल्छ?

कतिपय आफ्नो मूल विधा समातेर त्यसमै साधना गरिरहने पनि होलान्। तर, एउटा कविले आख्यान या निबन्ध लेख्नै हुन्न भन्ने त होइन। त्यो उसको लेखन क्षमताले निर्धारण गर्ने कुरा हो। कवितामा राम्रो काम गर्नेहरूका राम्रा आख्यान पनि आइरहेका छन्।

बजारमा हिट नै छन्। कसैको क्षमता असाधारण छ भने उसले कविता पनि लेखे भयो, नाटक र आख्यान लेखे पनि भयो। तर, लेख्नकै लागि लेखिनुहुन्न।

पाठकहरूले तपाईंका नयाँ कविता पढ्न नपाएको निकै भयो। प्राज्ञिक कर्मले सिर्जनाशक्तिमा असर पारेको हो?

म पहिले पनि ढिलो लेख्ने मान्छे हुँ। भोलि कविता वाचन गर्नुछ भने आज रातारात लेखेर तयारी गर्ने खालको पनि होइन। किनकि कविता हतारमा लेखिने हलुका वस्तु होइन।

कति कविहरूमा आशुकवित्व होला, त्यो ममा छैन। अहिले एकेडेमीकै जिम्मेवारीले पनि लेख्ने समयको व्यवस्थापनमा असर परेको छ। अर्को त लेख्नका लागि विषयले आग्रह गर्नुपर्छ मलाई।

त्यसखाले विषय खोजी गरिरहेको छु। विकृति, विसंगति, राजनीतिक मुद्दा, संविधानकै कुरा छन्, महिला मुद्दाका यावत् विषय छन्। लेख्नलाई विषयकै अभाव छ भन्न खोजेको होइन।

तर, आफूले लेख्ने खालको विषय–सन्दर्भ भेटिरहेको छैन। कविताको सोच बनेपछि र त्यसले मस्तिष्कमा गर्भाधान गर्दासम्म सन्तुष्ट भएँ भनेमात्र म कविता लेख्न बस्छु।

बिसे नगर्चीको बयानजनआन्दोलनले जन्मायो र शक्तिशाली बन्यो पनि। विषयको आग्रह भन्नाले के त्यस्तै आन्दोलन, घटना, दुर्घटनाको अपेक्षा हो र?

कविले सधैं न्यायको पक्षमा बोल्छ। आन्दोलनमै किन नहोस्, त्यहाँ कविले नै कवितामार्फत चेतनाका कुरा गर्ने हो। आन्दोनलमा कथा वा उपन्यास सुनाउने कुरा त हुँदैन।

यसले नै देखाउँछ, कविताको शक्ति कति छ! अर्को कुरा, विशेष रचनाका लागि उपयुक्त समय र विशेष परिस्थिति आवश्यक हुन्छ। अरूले लेखिसकेका विषयलाई पुनरावृत्ति गर्नुहुन्न भनेर म सचेत छु। यदि लेख्नै परे तीभन्दा फरक दृष्टिकोण र शैली प्रयोग गर्न सकिन्छ। संसारका सबै कविका सबै कविता लोकप्रिय छैनन्। सबै स्मरणीय पनि हुँदैनन्।

महाकवि देवकोटाकै सम्पूर्ण कविता स्मरणीय छैनन्। भूमि, रिमाल, सिद्धिचरणले जीवनभर कवितै लेखे। तिनका पनि सबै कविता राम्रा भन्न सकिन्न। केही उत्कृष्ट छन्, ती विशेष समयमा लेखिएकैले अहिलेसम्म लोकप्रिय बनिरहेका हुन्। विशेष समयलाई सम्बोधन गरेर लेखिएका कविता अमर बनेका छन्।

कविताको प्रभाव कहाँ देखिनुपर्छ? अहिलेका कविता प्रभावकारिताको सवालमा कति सफल छन्?

अन्य विधाभन्दा कविताको चरित्र फरक हुन्छ। कुनै विषयमा पनि कविताले ठ्वाक्कै भन्न सक्नुपर्छ। सिधा संवाद गर्न सक्नु कविताको चरित्र हो। देश संविधान निर्माणको उत्कर्षमा छ।

नागरिकका आवाज र मुद्दाहरू उठाउनका लागि कविताले प्रभावकारी भूमिका खेल्न सक्छ। आख्यानभन्दा कविताको प्रभाव छिटो देखिन्छ। तर, राज्यको नेतृत्व तहमा बसेकाहरूले कति बुझे वा बुझेनन्, त्यो महत्त्वपूर्ण हो ।

अहिले विशेषगरी सीमान्तकृत, किनारीकृतहरूको आवाज समेटेर जति कविता आएका छन्, राम्रा छन्। तर, अझै घनीभूत रूपमा आउन सकेका छैनन्। पहिचानको मुद्दाहरू अर्को उठेको विषय हो।

राजनीतिक चेतना बोकेर बहुल सांस्कृतिक चिन्तनमा पनि अहिलेका कविहरू सचेत रूपमा आएका छन्। विविध जाति–जनजातीय सांस्कृतिक मिथकको प्रयोग र तिनको पुनर्व्याख्याले कविताको नौलो स्वाद पाइरहेको छ।

यस्ता लेखनबाट राज्यका नेतृत्व तहमा बस्नेहरूलाई सुसूचित गराउने काम कविको हो। मेरा समकालीन साथीहरू पनि भुइँमान्छेका आवाज उठाइरहेकै छन्। प्रभावकारिताको दृष्टिले त्यति सशक्त बन्न नसकेको हो कि भन्नेचाहिँ लागेको छ। आखिर प्रयासले नै हो सफलता पाउने। समय लाग्छ, उत्कृष्ट कविता पनि आउनेछन्।

कविता लेख्नका लागि केले प्रेरित गराउँछ?

जब चेतनाको तहबाट असन्तुष्टिहरू जन्मिन्छन्, सम्भावनाहरू सिद्धिन्छन्, रित्तोपनको अनुभव हुन्छ; तब म कविता लेख्छु। अभावको बोध भएपछि त्यो रिक्तता पूरा गर्न म कविता लेख्छु।

कविता लेख्छु भनेर सोच बनेपछि त्यसले पूर्णता पाउन्जेलसम्म कस्तो कसरत गर्नुपर्छ?

म त एउटा कविता पूरा गर्नै धेरै समय लगाउँछु। कति साथीहरू अहिलेको अहिल्यै भटटट लेखिदिन्छन्, त्यो उनीहरूको क्षमता होला। भरखरै भूकम्प–कविताहरू अत्यधिक आए।

केही राम्रा पनि छन्। भूकम्प त उहिल्यैदेखि आएको हो, त्यस बेला पनि यसखाले कविता लेखिए होलान्। ती रचना हेर्नुपर्योम र विश्लेषण गर्नुपर्यो,, अनिमात्र त्यो स्तर वा चेतनाभन्दा फरक कोणले लेख्नुपर्यो । अनि पो कविता राम्रो बन्ने हो।

मचाहिँ कुनै विषयले छोयो भने त्यसमाथि पहिले लेखिएका कविताबारे अध्ययन गर्छु। मलाई चित्त बुझ्यो यो, राम्रा छन् भने भइहाल्यो। यदि ती सिर्जनाले चित्त बुझाउन सकेनन् भने त्योभन्दा फरक दृष्टिकोण बनाउँछु र मेरो कला त्यहाँ प्रस्तुत गर्छु। कविता त आलोचकीय सिर्जनकर्म पनि हो। विमर्श पनि हो। त्यसैले सानो आकारको कवितालाई पूर्णता दिन धेरै कसरत गर्नैैपर्छ।

सुन्दर मूर्ति बनाउनुजस्तै हो कविता लेख्नु। सुरुमा ढुंगामात्रै हुन्छ, त्यसलाई कस्तो मूर्तिको आकार दिने, मूर्तिकारले फ्रेम बनाउँछ। पटकपटक कुँदेपछि त्यसलाई कलाशिल्प प्रयोग गरेर, रङ हालेर सुन्दर बनाउँछ। ऊ निरन्तर त्यसमै घोटिइरहन्छ। कविता लेखनमा पनि निरन्तरताको साधना रहिरह्यो भने मात्र सुन्दर मूर्तिजस्तो कविता बन्न सक्छ।
कवि र कविता बाँचिरहन के लेख्ने?

पहिलेका अग्रजहरू भन्थे, स्वान्त सुखायका लागि लेख्ने। आदर्श लेख्नेहरू पनि धेरै थिए। अब त हामी एक्काइसौं शताब्दीका कवि हौं। भुइँमान्छेहरूको तहसम्म पुगेर चेतना विस्तार गर्नका लागि कविता लेख्ने हो। राम्रो कविता जन्मन कवि स्वतन्त्र हुनुपर्योम।

राज्यले पनि कविहरूको आवाजलाई सुन्नुपर्छ। अरूले लेखिरहेका भन्दा भिन्न विषय र आफ्नो शैली बनाइयो भने कविता सफल बन्छ। समाज, जीवनसँग संवाद गर्ने गरी सम्पेष्य बनाउन सक्नु अर्को कला हो।

आम मानिसको जीवन, तिनको समाजको चित्र जीवन्त रूपमा उपस्थित हुनैपर्छ। सामान्य मानिसका दैनिकी, जीवनभोगाइ र उनीहरूले बोल्ने भाषा टिपेर लेखिएका कविता अहिले बढी लेखिएका छन् । कवि सफल हुनका लागि मौलिकतामा विशेष ध्यान पुर्यालउनैपर्छ।

कविता क्षेत्रमा लाग्दै गरेका नयाँ पुस्ताहरूले कस्ता कविता पढ्नुपर्छ, जसले मार्गनिर्देश गर्न सकोस्।

जसको पढे पनि हुन्छ, तर राम्रो पढ्नुपर्योत। छनोट त आफूले पनि गर्नुपर्छ। सिद्धिचरणका सबै कविता पढिरहनु पर्दैन। भाषामा पकड र अभिव्यक्ति कला सुन्दर बनाउन वैरागी काइँलालाई पढ्नुस्।

गद्य कवितामै आफ्नो कलम तिखार्नका लागि गोपालप्रसाद रिमाल र भूपि शेरचन पढ्नुस्। आधुनिक कविताको प्रयोगवादी धार बुझ्न मोहन कोइरालाई नपढी हुँदैन। लयचेत र सुन्दर भाषा बनाउन माधवप्रसाद घिमिरेका काव्यहरू खोजीखोजी पढ्नुस्।

कविता सानो आकारको भए पनि गह्रुँगो विधा हो। यसलाई कहिल्यै पनि हल्का रूपमा लिनु हुँदैन। त्यो ठानियो भने कविताकै अपमान हुन्छ।

शनिबारको नागरिक दैनिकबाट

प्रकाशित मिति: २३ श्रावण २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्