यी हुन सक्छन् संघीय प्रदेशका सम्भावित राजधानी


 


6-pardeshइटहरी, धनकुटा वा बिराटनगर ?

प्रदेश नम्बर १ को राजधानीका लागि इटहरी र धनकुटा जुर्मुराइसकेका छन् । हाल पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेका कारण धनकुटाको दाबी जति बलियो छ, सोलु ओखलढुंगादेखि ताप्लेजुङसम्मका मान्छेको पायकका हिसाबले इटहरी उत्तिकै जायज छ । बिराटनगर र झापाले प्रादेशिक राजधानीका लागि कुनै लबिङ गरेको छैनन् । तर देशको राजनीति चलाउने शीर्षनेताहरु यीनै दुई ठाउँका जनप्रतिनिधि भएकाले जे पनि हुन सक्छ ।

जनकपुर, वीरगञ्ज वा अन्तै ?

प्रदेश नम्बर २ को राजधानीका लागि जनकपुरको नाम निर्विवाद जस्तो देखिन्छ । तर, देशको व्यापारिक राजधानी वीरगन्ज र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल तथा सप्तरीदेखि पर्साको बीचमा पर्ने हुनाले निजगढ चन्द्रनिगाहपुर क्षेत्र पनि भित्रभित्रै जुर्मुराउँदैछ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला भएका कारण पनि रौतहट आसपासको क्षेत्रले प्रादेशिक राजधानीका लागि लबिङ बलियो बनाउन सक्छ ।

चितवन, काठमाडौं वा हेटौडा ?

प्रदेश नम्बर ३ को राजधानीका लागि चितवनले प्रचण्डको बल प्रयोग गर्न सक्छ । त्यसो त चितवनले सुशील कोइरालामात्रै होइन एमाले नेता सुरेन्द्र पाण्डेको शक्ति पनि प्रयोग गर्दैछ ।

तर, मुलुकका राजधानी काठमाडौं रामेछापदेखि रसुवासम्म, मकवानपुरदेखि सिन्धुलीसम्मका जनताका लागि पायक पर्ने ठाउँका रुपमा रहेकाले सम्भवतः काठमाडौं सर्वस्वीकार्य हुन सक्छ ।

दावीकै लागि त हेटौंडा र बनेपाले पनि गर्न सक्छन् । तर, देशको राजधानी सम्मिलित प्रदेशको प्रादेशिक केन्द्र काठमाडौंमै हुन सक्ने बढी सम्भावना छ ।

पोखरा निर्विवाद

प्रादेशिक राजधानीमा कुनै विवादै नहुने सम्भवतः ४ नम्बर प्रदेश हुनेछ । चार नम्बर प्रदेशको राजधानी पर्यटकीय शहर पोखरा हुनेमा लगभग त्यस क्षेत्रका सबै जिल्लाका जनता लगभग सहमत देखिन्छन् ।

दाङ, बुटवल वा नेपालगञ्ज ?

प्रादेशिक राजधानीका लागि सबैभन्दा विवाद, तनाव र तानातान ५ नम्बर प्रदेशमा हुनेछ र भइरहेको छ । ५ नम्बर प्रदेशको राजधानीका लागि दाङ, बुटवल र नेपालगञ्ज प्रवल दाबेदार हुन् ।

नेपाल एकीकरण लगत्तैदेखि पश्चिमको गौंडाका रुपमा रहेको पाल्पा पनि प्रादेशिक राजधानीको दावेदार हो । राणा शासनको पालासम्म पाल्पामा बडा हाकिम बसेर त्यस क्षेत्रमा शासन गर्थे ।

प्रदेश नम्बर ६ को राजधानीका लागि धेरै ठूलो विवाद छैन । किनकि अखण्ड सुदूर पश्चिम कि खण्डित सुदूरपश्चिम भन्ने विवाद निकै पेचिलो बन्दैछ । कैलाली ६ नम्बर प्रदेशमै रहिरहेमा धनगढी प्रादेशिक राजधानीको दाबेदार हो ।

तर, सुर्खेतलाई ६ नम्बरमै राखियो भने उसले पनि प्रादेशिक राजधानीको दाबी गर्ने अहिले त्यहाँ चर्किएको आन्दोलनले नै संकेत गरिसकेको छ । अखण्ड मध्यपश्चिम मागेर आन्दोलित सुर्खेतको दावी पनि अन्ततः ६ नम्बर प्रदेशको राजधानी हुन पाउनुपर्ने नै हो ।

यसबाहेक हाल क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायल पनि ६ नम्बरको प्रादेशिक राजधानीको अर्को दावेदार हो ।

अनलाइनखबर डटकमबाट

प्रकाशित मिति: २७ श्रावण २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्