‘पूर्वी प्रदेश सामाजिक रूपले सन्तुलित’



6-pardesh-Final-Map1भोजपुर, साउन २८
संघीय गणतान्त्रिक नेपालमा पूर्वमा कस्तो प्रान्त निर्माण होला भन्ने चासो र चिन्ताले आकार ग्रहण गरेको छ । शनिबार रातिको सहमतिअनुसार साविकको पूर्वाञ्चल विकास क्षेत्रका १६ जिल्लामध्ये सिरहा र सप्तरीबाहेक १४ वटा प्रदेश नम्बर १ मा परेका छन् । कतिपयले यसलाई पूर्व प्रदेश भनेका छन् । यसमा हिमाली, पहाडी र तराई तीनैवटा भौगोलिक क्षेत्र समावेश छन् ।

त्यतिमात्र होइन, दक्षिणमा भारत र उत्तरमा चीन सीमा जोडिएको छ । दुवै छिमेकी देशसँग जोडिनु यो प्रदेशका बासिन्दा समृद्ध हुने एउटा महत्त्वपूर्ण आधार भएको सरोकारवाला बताउँछन् । उत्तरमा संखुवासभा, ताप्लेजुङ र सोलुखुम्बुजस्ता हिमाली जिल्लाले चीनलाई छुन्छन् भने दक्षिण तथा पूर्वमा सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङले भारत छोएका छन् ।

यो प्रदेशको क्षेत्रफल २५ हजार ९ सय ५ वर्गकिलोमिटर छ । जसमा हिमाली क्षेत्र १० हजार ४ सय ३८, पहाडी १० हजार ७ सय ४९ र तराई ४ हजार ७ सय १८ छ । यहाँ तीनवटा हिमाली, आठ पहाडी र तीन तराईका जिल्ला पर्छन् । यहाँ ४४ निर्वाचन क्षेत्र पर्छन् ।

०६८ को जनगणनाअनुसार यो प्रदेशमा ४५ लाख ३४ हजार ९ सय ४३ बसोबास गर्छन् । यहाँको जनघनत्व १ सय ७५ दशमलव ६ प्रतिवर्गकिलोमिटर छ । तराईका तीन र पहाडको उदयपुरबाहेक सबै जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । जनसंख्याको यो वितरणले भविष्यमा प्रदेशभित्र हुने विभिन्न राजनीतिक निर्णय र अवसरको बाँडफाँडमा तराईका जिल्लाको हालीमुहाली हुनसक्ने विश्लेषक बताउँछन् ।
तर त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक योगेन्द्र गुरुङ चाहिँ पहाड र हिमालमा सडक, स्वास्थ्य, शिक्षा रोजगारीका नयाँ सम्भावना तुरुन्तै पहिल्याएर बसाइँसराइलाई रोक्ने र संघीयतालाई गाउँमै बसेर अनुभूत गर्ने अवस्था सृजना गर्नुपर्ने बताउँछन् । ‘केन्द्रमा पाइने सबै अवसरको विकेन्द्रीकरण हुनुपर्छ,’ गुरुङ भन्छन्, ‘त्यसो भयो भने पूर्वी प्रदेशबाट अवसरको खोजीमा बाहिर गएका पनि फर्किन्छन् । जसले जनसंख्या सन्तुलन र अवसरमा पहुँच बढाउन मद्दत गर्छ ।’

जातीय बनावटका हिसाबले नेपालमा पाइने करिब सबै जाति यो प्रदेशमा बसोबास गर्छन् । सबभन्दा बढी भएको जाति क्षेत्री देखिन्छ । जुन यहाँको कुल जनसंख्यामध्ये १४.७७ प्रतिशत देखिन्छ । त्यसपछि राईको बाहुल्य छ । राईको ११.३२ छ । तेस्रो ठूलोमा पहाडी बाहुन देखिन्छ । उनीहरू ११.२ प्रतिशत छन् भने चौथोमा लिम्बू छन् ।

यो प्रदेशमा जनसंख्याको बनावटलाई अझ गहिरिएर हेर्ने हो भने जनजाति समूहको बाहुल्य देखिन्छ । कुल जनसख्याको ५०.५९ प्रतिशत जनजाति छन् भने गैरजनजातिको जनसंख्या ४६.४ प्रतिशत छ । यसैगरी मुस्लिमको ३.५ प्रतिशत छ । यो प्रदेशमा पहाडी मूलको संख्या बढी देखिन्छ । तथ्यांकअनुसार पहाडी मूलको जनसंख्या दुई तिहाइ छ । जसमा ७३.१८ प्रतिशत मानिस पहाडी समुदायका छन् । २२.४६ प्रतिशत मधेसी र ३.५८ प्रतिशत मुसलमान छन् ।

राष्ट्रिय जनगणना ०६८ को तथ्यांकमा जनसांख्यिक बनावटलाई हेर्दा ताप्लेजुङ, पाँचथर र तेह्रथुममा लिम्बू जातिको जनसंख्या उच्च छ । जसअनुसार ताप्लेजुङमा लिम्बूको जनसंख्या ५२ हजार ७ सय ८४ छ । पाँचथरमा ८० हजार ३ सय ३९ र तेह्रथुममा ३६ हजार ३ सय ७५ छ । यसैगरी पहाडी बाहुनहरू झापा र मोरङमा उच्च छन् । झापामा १ लाख ९२ हजार २ सय ८७ र मोरङमा १ लाख २६ हजार १ सय ९५ जनसंख्या छ ।

चार जिल्ला इलाम, भोजपुर, सोलुखुम्बु र खोटाङमा राई जातिको बाहुल्य देखिन्छ । जसमा इलाममा ६८ हजार ९ सय ६५, सोलुखुम्बुमा २० हजार ७ सय ६७, खोटाङमा ७५ हजार ५ सय ३० र भोजपुरमा ५८ हजार ३ सय ३८ राई जातिको छ । सुनसरीमा मात्र थारू जातिको बाहुल्य छ । यहाँ ९१ हजार ५ सय थारू छन् । धनकुटा, संखुवासभा, ओखलढुंगा र उदयपुरमा क्षेत्रीको जनसंख्या उच्च छ । धनकुटामा ३३ हजार २ सय ५३, संखुवासभामा २९ हजार १ सय २५ ओखलढुंगामा ३३ हजार ७ सय ८२ र उदयपुरमा ६८ हजार ३ सय ७२ क्षेत्री जातिको बसोबास छ ।

राजनीतिक रूपमा पूर्वी प्रदेशमा एमालेको बाहुल्य देखिन्छ । दोस्रो स्थानमा कांग्रेस छ । संविधानसभा निर्वाचन ०७० को परिणामअनुसार ४४ निर्वाचन क्षेत्रमध्ये एमालेले २३ र कांग्रेसले १७ वटामा विजय हासिल गरेको छ ।

कान्तिपुर दैनिकमा दमकबाट चेतन अधिकारी लेख्छन् सबै पार्टीका समकालीन राजनीतिका शक्तिशाली नेताको निर्वाचन क्षेत्र र गृह जिल्ला यही प्रदेशमा पर्छ । एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ यही प्रदेशका हुन् भने कांग्रेस महामन्त्री कृष्ण सिटौला, नेताहरू शेखर कोइराला, सुजाता कोइराला, फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छादार, संघीय फोरम अध्यक्ष उपेन्द्र यादव, अशोक राईको पनि यही प्रदेशमा घर छ ।

‘धेरै जना जुरे नेताको घर र निर्वाचन क्षेत्र यहीँ भएकाले राजनीतिले भविष्यमा कस्तो बाटो लिन्छ भनेर अहिल्यै भन्न सकिँदैन,’ राजनीतिशास्त्रका प्राध्यापक प्रेम भट्टराई भन्छन्, ‘उनीहरूको रुचि मिल्यो भने यहाँको राजनीति स्थिर हुन्छ, मिलेन भने सबभन्दा अस्थिर हुन सक्छ । तर संविधानले सबैको अधिकार किटान गरिदिएकाले उस्तो चलखेल होला जस्तो लाग्दैन ।’

जातीय र भौगोलिक रूपले एक नम्बर प्रदेश सन्तुलित देखिएको उर्लाबारी बहुमुखी क्याम्पसका पूर्व प्रमुख डा. गोपाल भण्डारी बताउँछन् । सिरहा र सप्तरीलाई पनि १ नम्बरमै राखेको भए राम्रो हुने बताउँदै भण्डारी भन्छन्, ‘अहिलेको विभाजनमा जातीय जनसंख्याको बनोट एक–अर्कालाई सन्तुलन गर्ने किसिमकै देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News