कुन प्रदेशमा कुन जाति बढी ?


 


काठमाडौ, साउन ३२

सीमांकनसहितको ६ संघीय प्रदेशमा क्षेत्री जातिको बाहुल्य देखिएको छ। छ प्रदेशमध्ये ३ वटा प्रदेशमा क्षेत्री, बाँकी तीनमा यादव, तामाङ र पहाडी बाहुन अग्रस्थानमा देखिएका छन्। राष्ट्रिय जनगणना २०६८ को तथ्यांक विश्लेषणले यो स्वरूप देखिएको हो।

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले भने, ‘हरेक प्रदेशको सीमाभित्रका जातजातिमध्ये बाहुल्य दस जातिको विश्लेषण गरिएपछि यो चित्र देखिएको हो।’ तथ्यांकअनुसार देशको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ।

संविधानसभाले किटान गरेको ६ प्रदेशको भूगोलका आधारमा विभागले जनसंख्या किटान गरेको छ। प्रदेश–१ को जनसंख्या ४५ लाख ३४ हजार ९ सय ४३ छ। जसमा क्षेत्री जाति अग्रस्थानमा रहेको छ।

यो प्रतिशत १४ दशमलव ७७ हो भने दोस्रोमा पहाडी बाहुन १२ दशमलव ०८ प्रतिशत र तेस्रोमा राई ११ दशमलव ३२ प्रतिशत रहेका छन्। त्यसपछि लिम्बु ८ दशमलव ०४ प्रतिशत, तामाङ ४ दशमलव ६६, मगर ४ दशमलव १७, थारू ४ दशमलव १५, नेवार ३ दशमलव ७२, मुसलमान ३ दशमलव ५९ र कामी ३ दशलमव २८ छन्। यी दस जातिले प्रदेशको कुल जनसंख्याको ६९ दशमलव ८० प्रतिशत ओगटेका छन्। यहाँ साक्षरता दर ७१ प्रतिशत रहेको छ।

त्यसैगरी प्रदेश २ को जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ रहेको छ। जसमा यादव १४ दशमलव ७८ प्रतिशत छन्। त्यसपछि मुसलमान ११ दशमलव ५८, थारू ५ दशमलव २७, तेली ५ दशमलव ०९, कोइरी ४ दशमलव ५६, चमार ४ दशमलव २१ र धानुक ३ दशमलव ४८ छन्। यस्तै, मुसहर ३ दशमलव ०१, कुर्मी २ दशमलव ८३, दुसाध २ दशमलव ७९ प्रतिशत रहेका छन्। यी १० जातिले कुल जनसंख्याको ५७ दशमलव ६० प्रतिशत ओगटेका छन्। साक्षरता दर ५० प्रतिशत रहेको छ।

प्रदेश ३ मा सबैभन्दा धेरै तामाङ जाति रहेका छन्। यहाँको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ। पहिलोमा रहेका तामाङ जाति २० दशमलव ४२ प्रतिशत छन्। दोस्रोमा पहाडी बाहुन १८ दशमलव २८ प्रतिशत, तेस्रोमा क्षेत्री १७ दशमलव २८ र चौथोमा नेवार १६ दशमलव ९२ रहेका छन्। त्यसपछि मगर ४ दशमलव ८९, कामी २ दशमलव ५, गुरुङ २ दशमलव २५, थारू १ दशमलव ६६, राई १ दशमलव ५३ र दमाई १ दशमलव ३५ छन्। यी १० जातिले प्रदेशको कुल जनसंख्याको ८७ दशमलव ०९ प्रतिशत ओगटेका छन्। साक्षरता दर ७५ प्रतिशत रहेको छ।

प्रदेश ४ को जनसंख्या २७ लाख ३५ हजार ६ सय ६१ रहेको छ। जसमा पहिलो नम्बरमा पहाडी बाहुन जातिले २० दशमलव २७ प्रतिशत ओगटेका छन्। त्यसपछि मगर १७ दशमलव ४३, क्षेत्री १२ दशमलव ३४, गुरुङ १० दशमलव २७, कामी ८ प्रतिशत, नेवार ३ दशमलव ८९ र थारु ३ दशमलव ७३ रहेका छन्। यहाँ सार्की ३ दशमलव ६७, दमाई ३ दशमलव ५१ र तामाङ १ दशमलव ९ प्रतिशत रहेका छन्। प्रदेशको कुल जनसंख्यामा यी दस जातिले ८५ प्रतिशत ओगटेका छन्। सीमांकनमा बागलुङ र नवलपरासी विभाजन गरिए पनि जनसंख्या प्रदेश ४ मै राखिएको विभागका उपमहानिर्देशक सुवालले जनाए। यस प्रदेशमा साक्षरता दर ७४ प्रतिशत रहेको छ।

प्रदेश ५ मा पनि सबैभन्दा धेरै क्षेत्री रहेका छन्। यहाँको जनसंख्या ४३ लाख २२ हजार ७ सय ५१ रहेको छ। यहाँ क्षेत्री १५ दशमलव ९७ प्रतिशत छ। त्यसपछि मगर १५ दशमलव ७७, थारू १४ दशमलव ४३, पहाडी बाहुन १२ दशमलव २३, मुसलमान ६ दशमलव ७१, कामी ६ दशमलव ६१, यादव ३ दशमलव ७६, दमाई २ दशमलव ०३, सार्की १ दशमलव ५८ र चमार १ दशमलव ५६ प्रतिशत रहेका छन्। प्रदेशमा यी दस जातिले कुल जनसंख्यामा ८० दशमलव ६४ प्रतिशत ओगटेका छन्। सीमा विभाजनमा टुक्रिए पनि रुकुमको जनसंख्या यसै प्रदेशमा गणना गरिएको विभागले जनाएको छ। साक्षरता दर ६६ प्रतिशत छ।

प्रदेश ६ को जनसंख्या ३९ लाख ६७ हजार ५ सय ५२ छ। जसमा सबभन्दा धेरै क्षेत्री जाति ४१ दशमलव १९ प्रतिशत रहेका छन्। त्यसपछि पहाडी बाहुन ११ दशमलव ५३, थारू ११ दशमलव २७, कामी १० दशमलव ९८ छन्। त्यस्तै, ठकुरी ६ दशमलव ७४, मगर ५ दशमलव १६, दमाई ३ दशमलव ०८, अन्य दलित २ दशमलव ७९, सार्की २ दशमलव ०५ र संन्यासी १ दशमलव २९ प्रतिशत रहेका छन्। यी दस जातिले प्रदेशको कुल जनसंख्याको ९६ दशमलव ०९ प्रतिशत ओगटेका छन्। साक्षरता ६३ प्रतिशत रहेको छ।

६ वटै प्रदेशको दसौं स्थानभित्र थारू जातिको उपस्थिति रहेको छ। क्षेत्री, पहाडी बाहुन, मगर, कामी जाति पाँच–पाँच प्रदेशको बाहुल्य जनसंख्यामा परेका छन्। तामाङ, नेवार, मुसलमान जाति तीन–तीन प्रदेशमा दसौं स्थानमा रहेका छन्। देशभर महिला ५१ दशमलव ५० र पुरुष ४८ दशमलव ५० छन्। देशभरिमा १ सय २५ जाति र १ सय २३ भाषा बोलिन्छन् ।

स्रोत : कान्तिपुर दैनिक

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्