खाडीका युवाको कथा


 


khadi-kathaकाठमाडौ, साउन ३२

मनका भावना पोख्ने मात्रै कला हुँदैनन्। समाजका यथार्थ झल्काउने गतिलो आधार पनि हुन सक्छ। पछिल्ला युवा पुस्ताले ललितकलामा विचार, समाज र यथार्थ विषयवस्तु चित्रण गर्न थालेका छन्। यतिबेला हितमान गुरुङले वैदेशिक रोजगारमा ज्यान गुमाउन बाध्य नेपाली युवाहरूको नियतिलाई कलाका विषय बनाएका छन्।

उनले २०१३ देखिको निरन्तर अनुसन्धान र अध्ययनका आधारमा सिर्जना कोरेका हुन्। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनी जारी छ। वैदेशिक रोगजार र युवाको अवस्थामा हितमानले खोज्न अझै छाडेका छैनन्। ग्यालरीमा राखिएका केही चित्रमा मात्रै सीमित नहुने उनले बताए। ‘यो निरन्तर चलिरहने प्रक्रिया हो,’ उनले भने, ‘थप काम अझै बाँकी छन्।’ ग्यालरीमा राखिएका हरेक चित्रमा रंगको सौन्दर्यसँगै कुनै न कुनै खाडी मुलुकमा ज्यान गुमाएको युवाको कथा झल्किन्छ।

‘आइ ह्याभ टु फिड माई सेल्फ : माई फेमिली एन्ड माई कन्ट्री’ शीर्षकमा हितमानले आफ्ना कला प्रदर्शनीमा राखेका हुन्। ग्यालरीको केन्द्र भागमा दुई वृद्धवृद्धाले पासपोर्ट समाइरहेको चित्र छ। श्यामश्वेत रंग पोतेर त्यो चित्र बनाए पनि कथा चाहिँ साउदीमा छोरा गुमाएका आमा–बुबाको पोट्रेट रहेको हितमानले बताए। एक वृद्धले पासपोर्टमा छोरा खोज्दै गरेको भाव चित्रमा अभिव्यक्त भएको छ। साथै, निराश र दु:खी आकृतिमा सन्तान गुमाउनुको पीडा झल्किन्छ।

एउटा चित्रको क्यानभासमा हितमानले स–साना पार्सपोर्ट साइजका तस्बिर कोलाज गरेर बीचमा एक वृद्ध आमाको फिगर उतारेका छन्। उनको हातमा कफन राखिएको छ। जसका बुट्टाहरूमा दुर्घटनामा परेका मानिसहरूका स–साना आकृति देख्न सकिन्छ। यसमा हितमानले चित्रको केन्द्रविन्दु कफन बनाएका छन् भने वरिपरि स–साना तस्बिरले विषयवस्तु अथ्र्याउने जुक्ति लगाएका छन्। नेपालका विभिन्न ठाउँको नाम उद्धृत गरिएको तस्बिरमा वैदेशिक रोजगारको प्रतिफल कफन रहेको भाव उनको यो चित्रले झल्काउँछ। यद्यपि वैदेशिक रोजगारको यो एउटा पाटो मात्रै हो। काममा विदेश जाने सबैको हविगत यस्तो हुँदैन।

हितमानले नेपालमा भूकम्प जाँदा परिवार छाडेर विदेशमा संघर्ष गरिरहेका नेपालीको समेत चित्रमार्फत सम्झना गरे। यसमा भने उनले आफैं मोडलिङ गरेका छन्। ‘९:११ एएम’ शीर्षक राखेका उनले नेपालमा जुन बेला भूकम्प गएको थियो, त्यसबेला कतारमा बिहानको ९ बजेर ११ मिनेट गएको बताए। त्यही सन्दर्भ जोडेर उनले चित्रको थिम उतारेका छन्। ‘त्यस समय कतारका नेपालीले बाँच्नका लागि गरेको संघर्ष देखाएको छु,’ उनले भने, ‘त्यतिबेला उनीहरू सायद हेलमेट टाउकोमा राखेर गगनचुम्बी घर बनाउँदै थिए होलान्।’

प्रदर्शनीमा राखिएका चित्रहरूमध्ये ‘एल्लो हेलमेट एन्ड ग्रे हाउस’ र ‘९: ११ एएम’ चित्र प्रदर्शन गर्न अस्ट्रेलिया लाने भएका छन् उनले। नोभेम्बरमा हुन लागेको ‘द एसिया प्यासिफिक ट्रेनियल’ कार्यक्रममा उनका यी कला छनोट भएका हुन्। हितमानले कफन, हेलमेट जस्ता प्रतिस्थापन कला राखेर पनि वैदेशिक रोजगारीको अवस्था झल्काउने प्रयास गरेका छन्। प्रदर्शनी ४ दिन सम्म जारी रहनेछ।

स्रोत : कान्तिपुर दैनिक

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्