मकै पाक्यो बारीमा (हेर्नुुहोस् फोटो फिचर)


 


makei jhuttta pardeiभोजपुर, भदाै ११

यतिबेला यहाँका कृषकका बारीमा मकै पाकेको छ । पहेंलै हुने गरी मकै पाकेपछि कृषकहरु मकै धन्क्याउनमा ब्यस्त देखिन्छन् । कृषकहरु कोही डोको लिएर बारीमा मकै भाँचिरहेका छन् भने कोही भाँचेको मकै आगँनमा बसेर स¥याउँदै र झुत्ता पार्दे गरेको देखिन्छ ।

कतै त मकै भण्डारणका लागि धांग्रो नै लगाइसकेका छन् । विशेषगरी पहाडमा मकै भण्डारका लागि धांग्रो लगाउने चलन छ । भोजपुरको प्रमुख अन्नबालीको रुपमा रहेको मकै यो बर्ष विगतकै बर्ष झैं फलेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यतिबेला भोजपुरको बेसीं भेगमा मकै थन्काउने काम सकिएको छ भने विच (कच्चाड) क्षेत्रमा धमाधम थन्काउने काम हुँदैछ । लेकतिर भने भर्खर मकै पाक्न सुरसार गर्देछ ।

makei 3मकैं बेसीं क्षेत्रमा ढिलो छरेर पनि छिटो पाक्ने गर्दछ । यस क्षेत्रमा बैशाखमा छरेको मकै साउनमा नै पाक्ने गरेको छ कच्चाड क्षेत्रमा चैत्रमा छर्ने गरिन्छ भने यतिबेला पाकिसकेको छ ।

त्यस्तै लेक क्षेत्रमा फागुनमै छरेको मकै भदौ देखी असोज कात्तिकसम्म नै पाक्ने गरेको छ । समयमै पानी परेकाले लेक र कछाड भागका कृषकहरुले बेलैमा मकै छरेक थिए ।

शुरुमा छरेको मकैलाई छरेपछि खडेरी लागेकोले यस बर्ष उत्पादनमा बृद्धि नहुने कृषि विकास कार्यालयले जनाएको छ । भोजपुरका प्रत्येक कृषकले मकै खेती गर्दे आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय भोजपुरका अनुसार भोजपुरमा ४२ हजार सात सय ३१ हेक्टर जमिनमा कृषकहरुले मकै बाली लगाउँदै आएका छन् । जसमा पाँच हजार सात सय २८ हेक्टर जमिनमा उन्नत जात र ३७ हजार तीन हेक्टर जमिनमा स्थानीय जातको मकै खेति कृषकहरुले गर्दे आएका छन् ।

makei 1कृषकहरुले उन्नत जातको मकै खेती गर्न थालेपछि उत्पादन समेत बढ्न थालेको छ । गत बर्ष भोजपुरमा एक लाख १२ हजार चार सय ९० मेट्रिकटन मकै उत्पादन भएको छ ।

अघिल्लो बर्षको तुलनामा यो २० प्रतिशतले बढी हो । अघिल्लो बर्ष बर्ष ९३ हजार सात सय ४२ मेट्रिकटन मकै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सरोजकान्त अधिकारीले बताए ।

स्थानीय भन्दा उन्नत जातको मकैबाट उत्पादन राम्रो हुन थालेपछि कृषकहरु उन्नत जातको मकै लगाउन आकर्षित भएका छन् । उन्नत जातको मकैमा मनकामना–३, गणेश–१, अरुण, देउती, सितला पर्छन् ।

कृषकहरुलाई कृषि विकास कार्यालयले उन्नत जातको विउ समेत वितरण गरेको छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रम अन्र्तगत यो बर्ष पाँच हजार हेक्टर क्षेत्रफल जमिनका लागि १२ हजार पाँच सय किलो विउ वितरण गरेको कार्यालयले जनाएको छ ।

makei dhangro ma rakhdeiयो बर्ष भोजपुर नगरपालिका र छ गाविसमा यो कार्यक्रम लागू भएको थियो । होम्ताङ, सिन्द्राङ, रानीबास, प्याउली, बास्तिम र मुलपानी गाविसका कृषकहरुलाई कार्यक्रम अन्र्तगत विउ वितरण गरिएको थियो ।

कृषकहरुले ७५ प्रतिशत अनुदानमा बिउ पाएका छन् । यो मूल्य प्रतिकेजी करिब १५ रुपैयाँ हुन आउँछ । पछिल्लो समय जिल्लामा मकै उत्पादनमा बृद्धि भए पनि प्रयोगमा भने कमी आउँन थालेको छ ।

यातायातको पहुँच विस्तारसँगै मकै बिक्रि गरेर चामल खरिद गर्ने कृषककको संख्या बढेको कृषि विकास कार्यालयले जनाएको छ । मकै उत्पादनले जिल्लाको खाद्य सुरक्षा बलियो भए पनि यसको प्रयोग भने कमी रहेको बरिष्ठ कृषि विकास अधिकृत अधिकारीले जनाए ।

चामल बाहेक अन्य बालीलाई कम मात्रामा खाद्यान्नको रुपमा प्रयोग हुन थालेपछि खाद्य क्षेत्रका अधिकारीहरुले चिन्ता ब्यक्त गर्न थालेका छन् । जिल्लामा मकै पशुपालनका लागि बढी मात्रामा प्रयोग हुन थालेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्