अरुणको नालीबेली पछ्याउँदै जन्मस्थानलाई नियाल्दा


 


पदयात्रामा निस्किनु र यसमा रमाउनु यो पंक्तिकारको मुख्य शोख हो । हुन पनि घुमफिरले हाम्रो शरिरीक बल र मानसिक शक्तिलाई अझ उजागर पार्ने काम मात्रै गर्दैन स्थानिय जनजीवनलाई पनि छेवैबाट हेर्ने र जान्ने मौका प्राप्त हुन्छ।

अझ यस्तो घुमफिरमा निस्कँदा तपाईँ आफूले एउटा क्यामेरा पनि साथमा बोक्नुभएको छ भने कुनै पल सोच्दै नसोचेको सुन्दर दृष्य कैद गर्ने अवसर पनि प्राप्त हुन आउँछ। प्रकृतिका बिभिन्न छ्टालाई कैद गर्ने अवसर आउँछ, दुर्लभ जन्तु वा चराचुरुङ्गीका तस्बिर खिच्ने अनि अरु यस्तै यस्तै मौकाहरु प्राप्त हुन्छ।

यो पंक्तिकारलाई भन्नुहुन्छ भने स्थानियता र समाजको झल्को प्रस्तुत हुने फोटाहरुप्रति बढी रुची छ। प्रकृतिका छटाहरुलाई कैद गरेर त कहिल्यै अघाइँदैन जस्तो लाग्छ । त्यै प्रकृतिका छटालाई कैद गर्ने मनोकामनालाई एकपटक साकार  पार्न यो पंक्तिकार केहि जोडी महिनाअघि आफ्नै घर भोजपुरतिर हान्निदा पनि प्राप्त भएको थियो ।

अघिल्लो दिन काठमाडौंदेखि तुम्लिङ्टारसम्मको तारा एयरको उडानबाट बिश्वकै गहिरो उपत्यका, अरुण उपत्यकामा अवतरण गरिसकेपछि मेरो घरतर्फको गन्तब्य शुरु भएको थियो। अरुण उपत्यका, अरुण नदिले बनाएको धेरैनै ठूलो र निकै फराकिलो उपत्यका हो। शंखुवा-सभा र भोजपुर दुबै जिल्लामा फैलिएको यो उपत्यकाले  पूर्बी पहाडी क्षेत्रमा इलामपछि दोश्रो स्थानको रुपमा नेपालको पर्यटन क्षेत्रमा निकै ठूलो फड्को मार्ने संभावना देखाएको छ।

तुम्लिङ्टार धावनमार्ग पक्की भएर आफ्नो रुप बदलिसकेको छ। निकै लामो यो धावनमार्गमा मैले चढेको तारा एयर मात्र हैन आन्तरिक बायु सेवामा नेपालकै ठूलो मानिएको बुद्ध एयरले पनि आफ्नो सेवा शुरु गरिसकेको छ। तुम्लिङ्टार बिमानस्थलको बारेमा अलिकति भन्नैपर्छ यहाँ। भोजपुरको उत्तरी क्षेत्रको नजिक पर्ने भएकोले तुम्लिङ्टार बिमानस्थल भोजपुर उत्तरी क्षेत्रका बासिन्दाका लागि एकदमै सहज बिमानस्थल हो।

धरानबाट धनकुटा हुदै सडक बाटो पनि यो उपत्यकामा भित्रिसकेको छ। डोजरले खनेका सडक बाटाहरु त तुम्लिङ्टार पनि नाघेर गाउँ-गाउँ पुगिसकेका छन्। गाबिसको बजेट र स्थानीय बासीको होस्टे र हैंसेले अहिले यो उपत्यका वरिबरिका गाँउहरु पूरै सडकमग्न भएका छन्। गाउँतिर आएको यो उत्साहलाई प्रसंशा गर्नैपर्छ।

सुदीप अधिकारी

अव मूल कुरातिर फर्कौ। म घर फिर्दा तुम्लिङ्टार-खाँदबारी हुदै संखुवा-सभाकै हेलुवाबेसी जाने कच्ची सडक बाटो पच्छ्याएर छिटै पनि घर पुग्न सक्थें तर मलाई खै किन हो किन पुरानै मूल बाटो पैदलै जान मन लाग्यो।

तेर्सो र अरुण किनार किनारै हिडिने यो बाटो सजिलोनै छ। मोरङतिरबाट आफ्नो जन्मस्थान भोजपुरमा आफन्तहरुसँग भेटघाटमा हिडेका एकजना दाइ पनि साथी फेला परिहाले। मलाई पनि बाटो काट्ने साथी भईहाले ती दाइ। निकै बोलक्कड रहेछन् ती दाइ। मेरा कुरा भन्दा पनि आफ्नो कुरा नै निकै सुनाए। धेरै बर्ष पहिले नै भोजपुरबाट तराई बसाई झरेका रहेछन्।

तुम्लिङ्टारबाट शंखुवा-सभापट्टि आधा घण्टा, पैतालिस मिनेट जति अगाडी हिडेपछि सतिघाट भन्ने ठाउँ आईपुग्छ। त्यहाँ थुप्रै खाजा नास्ताका भोजनालय र होटलहरु पनि छन्। पारिपट्टी भोजपुर जिल्ला हो। अरुण नदीलेनै भोजपुर र संखुवा-सभा जिल्लालाई छुट्ट्याएको छ। नदीमाथिका पुलबाट वारि-पारी गर्ने बित्तिकै फरक जिल्ला पुगिहालिन्छ।

अँ, सतिघाटपारी भोजपुरको दिंला जाने गाडी लाग्दोरहेछ। यसपालि यो बाटो आउँदा यो एउटा अर्को फरक कुरा देख्न पाईयो, प्रगति र परिवर्तनको। पहिले पहिले कोशी पहाडका मानिसहरु दुई दिन लगाएर धरान निस्किन्थे। पहाडमै जन्मे हुर्केकाहरुलाई दुई दिननै हिड्नुपरे पनि सहजै हुन्छ तैपनि सडक सुबिधा नहुँदाको जीवन निकै कष्टकर हुनेनै हुन्छ।

तर अव बिकासको काम सरकारको मुख ताकेर मात्रै केहि नहुने रहेछ भन्ने कुरा गाउँलेले बुझिसकेपछि अव यसरी भित्री पहाडी भेगमा पनि जताततै गाडी पुग्न थालेका रहेछन्। नेपालका गाउँहरु छिट् छिटो बिकासमा फड्को मार्दै गरेको यो ज्वलन्द उदाहरण हो।

अव हामी भने पारी नलागेर अरुणको किनारै किनार संखुवा-सभाकै चेवा बेसी हुँदै कात्तिकेघाट तर्फ लम्कदै थियौ। घाट पुग्न लाग्दा एक हुल खच्चडहरु पिठ्युमा अलैचीको भारी बोकेर तुम्लिङ्टार तर्फ झर्दै थिए। खच्चडको मूलीसँग छोटो भलाकुसारी गर्दा थाहा भयो कि ती अलैची भोजपुरको दोभानेबाट किनेर ल्याईएका रहेछन्।

पचास-साठी जति संख्याका ती खच्चडले बोकेको अलैचीको भाउ भने, बजारको त कुरै छोडौं कृषकको खेतमै प्रति मन ६० हजार रुपैयाँ पुगिसकेको रहेछ। अब थाहा लाग्छ पहाडी गाउँका अलैची जस्तो नगदे बालीका किसानले कति राम्रो कमाई गर्न थालीसकेका रहेछन् आजकाल। यसो हुनु दोभाने मात्र हैन समग्र भोजपुर जिल्लाकै दिगो आर्थिक बिकासको  संकेत हो।

भारि बोक्ने काममा पनि ठूलै परिवर्तन आएको रहेछ। मानिसले पिठ्युमा बोक्ने भारिको स्थान अब खच्चडले लिएको छ। अबका गाउँलेहरु पनि शारिरीक श्रम कम बौद्धिक श्रम बढि गर्नपट्टि लागेका देखिन्छन्।

अरुण नदीमा बनेको कात्तिके घाटको झोलुङ्गे पुल तरेपछि अव भने हामी भोजपुर छिर्यौ। अव एतापट्टिको ठाउँ झन त्यत्तिकै विस्तृत र रमझम भैसकेको रहेछ एक बर्षकै अन्तरालमा। सायद भोजपुरकै सबैभन्दा बढी ढान फल्ने र क्षेत्रफलको हिसाबले पनि सबैभन्दा ठूलो फाँट बालुवानी बेसीमा तेर्सै तेर्सो हिड्न थालेका थियौ।

यो बेसीले ठ्याक्कै मधेसको समथर ठाउँलाई संझाउछ तर मौसम भने अहा ! कति शितल ! कृषिमा आधुनिकीकरण लगायत रुद्राक्षको ब्यापार, ठेक्कापट्टा तथा बैदेशिक रोजगारीले यहाँको बस्ती बिस्तारमा ठूलै आर्थिक भूमिका खेलेको रहेछ। अब भने रात परिसकेको थियो। हामी, मैले पहिलेदेखी राम्ररी चिनेको होटलदाईको होटलमानै त्यो रात बस्ने निर्णयमा पुग्यौं।

होटल दाइकी श्रीमतीले हाम्रो लागी आफ्नै हातले खाना बनाईदिनुभो। कति मिठो भात ! रायोको साग र खोर्सानीसँग पिसेको गोलभेडाको अचारसँग। भोलीपल्ट बिहान अलि छिटै उठेर छिटै घर पुग्ने सल्लाह हामीले बेलुकि सुत्नु अघिनै गर्यौं। बिहानको हिडाई भने अलि उकालो पर्यो। मलाई त ठिकठिकै थियो तर मेरा सहयात्री ती दाइलाई भने निकै गार्हो पर्यो उकाली बाटो।

रातको समयमा अरुण नदीलाई हुस्सुले छपक्कै छोप्ने हुनाले बाटो अँध्यारोनै थियो। मसँग भएको टर्चलाईटले हामीलाई ठूलो सहयोग पुर्यायो। घाम झुल्कनै लाग्दा हामी अलि माथिनै पुगिसकेका थियौ। भरखरै बनेको नयाँ घरमा पानी पिउने गरि आराम गर्ने बिचार गर्यौं। जव त्यहाँबाट हामी आफूले छोडेर आएको अरुण उपत्यकालाई नियाल्ने कोशीस गर्यौं, वाह ! त्यो नालिबेली उपत्यकालाई हुस्सुले हिउँले हिमाललाई छोपेझै गरि छोपेको, तह-तह देखिने पत्रै पत्र, पहाडको पल्लो छेउबाट सूर्यले आफ्ना किरण छर्दै गर्न लागेको त्यो पल अतिनै सुन्दर थियो।

मैले हत्तपत्त मेरो क्यामरा मेरो झोलाबाट निकाले र त्यो खास सुन्दरमय पललाई लगातार कैद गरे। मैले धेरै पटक यो बाटो हिडीसकेको थिए तर यस्तो खास अवसर भने यसपाली मात्रै प्राप्त गरेको थिएँ। सुन्दर भन्दा सुन्दर द्रिष्य आफ्नो कयामेरामा कैद गर्न पाएकोमा यसपालीको घरतर्फको यात्रालाई मनमनै धेरै धन्यवाद दिएँ।

अब मेरा सहयात्री दाईको आफन्तको घर आईसकेको थियो। वहासँग मैले वहाँको मोरङको ठेगाना लिए अनि हामी फेरि भेट्ने बाचा गरि म भने आफ्नो अगाडीको बाटो बढें। म अव बाटो हिड्ने एक्लै भएँ। मलाई उकाली ओराली हिड्नु त्यति गार्हो थिएन। एक्लै थिएँ त्यसैले पनि मेरो गति बढ्यो। छिटो हिंडे घर पनि छिटै पुगिने थियो।

केहि जंगलको बाटो, अलिकति ओराली अनि फेरि घर पुग्ने बेलामा थोरै उकाली, घाम कडा नहुंदै म घर पुगे। आफ्नो घर आफ्नै हुन्छ। अनि जन्म दिने बुबा-आमाको दर्शनको खुसीमय पलले यात्राको सारा थकानलाई पनि त्यसै भुलेँ।

मलाई अव यो कुरा पक्का भएको छ अर्को पटकको यही ठाउँको यात्रामा स्थानीय जीवनशैलीदेखी भौतिक पूर्वाधार लगायत कुरामा आमूल परिबर्तन भईसकेको म यो पंक्तिकारले देख्न पाउनेमा ढुक्क छु ।

[email protected]

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्