काठमाण्डौं—भोजपुरको दूरी


 


दाह्रेगौडाको उकालोमा साताभरीका लागि चाहिने चामल र खाजाको झोला बोकेर ठसठस कन्दै उकालो चढेको ठीक दुई दशक वितिसकेछ । तर पनि मानसपटलबाट त्यो रमाइलो क्षण अझै हटेको छैन । बरु झन्झन् रोमाञ्चक लाग्दछ सम्झँदा ।

गाउँ गाउँबाट सदरमुकामका स्कूलहरुमा डेरा लिएर पढ्न जाने बाध्यता अझैपनि छ, नजिकमा राम्रा स्कूलको अभावमा । मेरो भोगाई त्यत्ति पूरानो होइन पुस्तान्तरकै कुरा गर्दा । तरपनि मानसिको जीवनमा २ दशक भनेको निकै लामो समय मानिन्छ ।

२०४७ सालतिरको कुरा हो । म त्यसबेला टक्सारस्थित यशोधरा माविमा कक्षा ९ मा पढ्दै थिएँ । मलाई संझना भएसम्म त्यो जेठ या असार महिनाको कुनै एउटा शनिबारको दिन थियो ।

म ओखरबोटेबाट सदरमुकामतिर एक्लै हिडें । बतासे नकट्दै बाटैमा अन्धमुस्ले पानी दक्र्याैं । हावा र हुरी यतिविध्न थियो कि न त म सदरमुकाम पुग्न सक्ने अवस्थामा थिएँ न त घर फर्कन सक्ने अवस्था नै । छाताले थेग्ने कुरै थिएन । लुथु्रक्क भिजिएन मात्र । कतिखेर कहाँ चिप्लिएर ढलिने हो भन्ने त्रास मनमा थियो ।

अलि आँटिलै व्यक्ति भएकोले म एक्लै आउनजान समेत त्यत्ति संकोच मान्दैनथे । अर्काे कुरा त्यसवेला हाम्रो गाउँबाट शहरमा पढ्न जाने सायद त्यो बर्ष म एक्लो थिए“ ।

पिखुवा तर्दा झमक्कै भैसकेको थियो । दाह्रेगौडाको उकालो चढ्न त बाँकी नै । अब माथि कसरी पुग्ने ? मनमा एउटा त्रास कायमै थियो । तर बाध्यता, दाह्रेगौडो चढ्नुको विकल्प थिएन ।

अनन्तराज लुँइटेल

झमक्कै रात परेपनि टक्सार पुगियो । लखतरान त्यसदिन आगो झोसेर खाना पकाउने हुत्ति हुदो हो त आज मलाई यो संझना आउदैनथ्यो होला । खाजाको रुपमा भुटेर लगेका मकैको भरमा रात विताईयो ।

दाह्रेगौडाको सास्ती कतिसम्म भने दिउँसोको टन्टलापुर घाममा मात्रै नभएर विहान बेलुका पनि पसिना छुटाइदिन्छ र घाँटी सुकाईदिन्छ । हिउँदका दिनमा पिखुवामा एक छप्ल्याङ मारेर उकालो चढ्दाको अनुभव भने विछट्टकै मानिन्थ्यो ।

पौडन नजान्नेलाई पनि एकछिन जिउ भिजाएर उकालो चढ्न औधी रमाईलो लाग्ने । स्कूले ठिटाहरुको लागि त झन विछट्टै रमाइलो । शहरतिरका स्कूले विद्यार्थीले त्यस्तो रमाइलो अनुभव कहाँ पाउनु ?

दाह्रगौडो चढ्दाको अनुभव त्यत्तिवेला जति कठिन भएपनि अहिले संझदा निकै नै रोमाञ्चक लाग्ने । खोला तर्न खोज्दा कतिपटक चिप्लिएको अनुभव अहिले संझदा झसङ्ग हुने खालका पक्कै छन् ।

विद्यार्थी कालका ती अनुभवहरु अहिले रोमाञ्चक लाग्ने खालका छन् र ती अनुभवले जीवन जीउन सिकाएका छन् । त्यस्ता दाह्रेगौंडाहरु जीवनका कुइनेटाहरुमा दिनदिनै चढ्नुपर्छ र पिखुवाहरु दिनदिनै तर्नुपर्ने हुन्छ । जीवनका कुइनेटाहरुमा त दाह्रेगौडोको त शहर या गाउँ, पहाड या तराई जताजतै छ्यापछ्याप्ती सामना गर्नुपर्छ ।

गाउकैै स्कूलमा कक्षा ७ सम्म पढेर राम्रो अध्ययनको लागि भौतारिदै शहर पसेको म जस्तो ठिटोको हालत अहिले पनि गाउँमा बदलिन सकेन भने भोली हज्जरौं हज्जार युवायुवतीको भविष्य अन्यौलमा पर्न जाने निश्चित छ र त्यो २१ औं शताब्दीको प्रगतिको युगको लागि पनि लाजमर्दाे विषय हुनजानेछ ।

चतरा झर्दा मोटरको अनुहार देखेको मजस्तो ठिटोको हालत अहिले पनि उही त नहोला गाउँमा किनभने अहिले मोटर सदरमुकामसम्म पुगिसकेको छ । विजुलीका तारहरु मात्र होइन, हातहातमा मोवाइल हुनु पनि अनौठो होइन । पत्रपत्रिका बजारसम्म पुग्ने अवस्थामा पुगिसकेको छन् । तरपनि यो प्रयाप्त छ त ?

टक्सारको यशोधरामा ९ र १० कक्षा अध्ययन गर्ने अवसर पाएको म त्यसवेला दंग थिए । तर जब राजधानी आइयो त्यसपछि आफ्नो र आफ्नो ठाउँको हैसियत अनुभव भएको थियो । एसएलसीमा प्रायः यशोधराका विद्यार्थी नै प्रथम हुने गर्दथे । तरपनि जम्मा दुईवटा स्कूल थिए नाम चलेका यशोधरा र विद्योदय माविहरु ।

भोजपुरबाट स्कूल सकेर आएका मानिसहरुले काठमाण्डौंमा राम्रै स्थान ओगटेका पनि छन् । जागिरमा होस् वा पेशामा नै पनि जमेका छन् । तर त्यो के मा प्रयोग भएको छ भन्ने कुरा महत्वपूर्ण विषय हो । समग्र भोजपुर जिल्लाकै विकासका लागि कति चिन्तित भए र कतिले के योगदान गर्न सके भन्ने कुरा भने सोच्नुपर्ने विषय बनेको छ ।

भोजपुर छाडेर राजधानीको व्यस्त जीवनमा होमिएको २ दशक वितेको पत्तै छैन । तर त्यत्रो समय वितिसक्दा पनि राज्यले जिल्लाको विकास र शिक्षाको क्षेत्रमा उपयुक्त लगानी गर्न नसकेको विषयमा जोडदार रुपमा कतैबाट पनि उठाइएको छैन ।

शिक्षाको क्षेत्रमा तात्विक विकास भएको नदेखिंदा जिल्लालाई माया गर्नेहरुको लागि नरमाइलो लाग्दो रहेछ । यो जमानामा पनि राज्यले शिक्षामा लगानी गर्न नसकेको र गाउँ गाउँका बालबालिकाहरुको अवस्था ज्यूँका त्यूँ हुँदा मनै कटक्ट हुदो रहेछ अरु विकास निर्माण, रोजगारी वा स्वास्थको कुरो त झनै परको विषय हो ।

पाँच कक्षामा पढ्ने मेरी छोरी अपेक्षा राजधानीको सुविधा सम्पन्न स्कूलमा पढ्दै गर्दा उनकै उमेर समूहका नानीहरु भोजपुरको कुनै कुनामा अहिले पनि शिक्षाको अवसरबाट बञ्चित हुने कुरा सुखद बन्न सक्दैन ।

तर त्यसको लागि सोचिदिने कसले ? एउटा व्यक्तिले, एउटा समूहले वा सिंगो राज्यले ? राजधानीका स्कूलहरुमा ल्यापटपमा जिस्कदै जीवन जिउन सिक्ने नानीहरुकै उमेरका बालबच्चाहरुले कम्प्युटर कस्तो हुन्छ भन्ने कुरा देशका कतिपय ठाँउमा अहिले पनि चित्रमा मात्र देखका होलान् सायद ।

अनि उनीहरुले भोली राजधानीसंग कसरी प्रतिस्पर्धा गर्ने ? यो दूरी भौगोलिक हिसाबले त त्यत्ति टाढाको लाग्दैन तर विचारका हिसाबले कति टाढा छ भन्ने कुरा गहिरिएर हेर्नुपर्ला कि?

दि हिमालयन टाइम्समा पुर्व कानुन पत्रकारको रुपमा रहेका लुइँटेल अधिवक्ता हुन् । यो लेख करिब तीन बर्ष अगाडि लेखिएको भए पनि अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले प्रकाशित गरिएको छ । 

प्रधान-सम्पादक

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्