जो ज्यान हत्केलामा राखेर उद्धारमा खटिए


 


गोंगबुमा पाँच दिनसम्म सात तले घरले पुरिएका ऋषिराम खनाल र ६ दिनसम्म भग्नावशेषमा थुनिएका पेम्बा तामाङलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गर्यो । संयोगले ती दुवै चमत्कारिक उद्धारको नेतृत्व एकैजनाले गरेका थिए, प्रहरी निरीक्षक लक्ष्मण बस्नेत ।

आफ्नो ज्यान जोखिममा राखेर अरुको ज्यान जोगाउन खटिएका सेना, प्रहरी र सशस्त्रका हजारौं सुरक्षाकर्मीमध्ये बस्नेत एक हुन्। अनवरत उद्धारमा खटिएर चमत्कारिक सफलता पाइरहेका उनलाई जोखिम मोलेर खट्ने जाँगर कसरी आयो? तीन वर्षअघि यस्तै गर्मीयाममा बस्नेत छुट्टीमा घर गएका थिए।

रौतहट जिल्लाको सन्तपुरस्थित उनको गाउँको नहरले एकजना स्कूले बालक बगायो। तालिमप्राप्त प्रहरी ठानेर गाउँलेले उनलाई गुहारे। नहरको भेलमा हामफालेर प्रयास त गरे तर सफल भएनन्।

उल्टो आफैं घाइते भए। ‘मेरो शरीरमा भन्दा मनमा गहिरो चोट लाग्यो,’ तीन वर्षअघिको घटना सम्झँदै बस्नेत भन्छन्, ‘अप्ठेरोमा परेकालाई उद्धार गर्न पाए पो कुममा फूली लगाएको सार्थक हुन्छ।’ मोरङको सीमा कार्यलयमा उनी कार्यरत थिए ।

गाउँको घटनाले पोलिरहेका बस्नेतले उद्धारको विज्ञ हुने लक्ष्य राखे। संगठनले उनलाई विपद् व्यवस्थापन तालिम केन्द्रमा पठायो। २०६४ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भएका लक्ष्मण तनमन लगाएर तालिममा लागे। अब्बल भए।

संगठनले उनलाई विपद् व्यवस्थापनको प्रशिक्षक बनाएर चितवन कुरिनटारमा राख्यो। ‘तालिम दिनुको अतिरिक्त उद्धार कर्यमा पनि हामी खटिइरहेका हुन्छौँ,’ बस्नेतले भने।

गल्छीदेखि नारायणगढबीच नारायणी नदीमा खसेका दर्जनौं सवारी साधनको उद्धारमा उनको टोली खटेको थियो। ‘मेरै टोलीले जाजरकोट दुर्घटनामा ४७ जनाको शवलाई भेरी नदीबाट झिकेको थियो,’ उनले भने, ‘हामी खोजी र उद्धार कार्यदलका सदस्यले पानी, भग्नावशेष, पहरा, भीरमा फसेकालाई कसरी उद्धार गर्ने भन्ने तालिम लिएका छौँ।’ बस्नेतको टोली शुक्रबार पनि पेम्बा तामाङलाई उद्धार गरेको गोंगबुको भत्किएको भवनमै कार्यरत छ।

‘यो घर सात तले छ हामीले उद्धार सकेका छैनौं, उद्धार कार्यमा सफलता पाउन अथक प्रयास गर्नुपर्छ,” उनले भने। भूकम्प गएको दिनदेखि बस्नेतको टोलीले मुस्किलले चार घन्टा विश्राम लिएको छ। गोंगबुको सयपत्री होटलबाट ऋषिराम खनाललाई उद्धार गर्ने दिन त बस्नेतको टोली लगातार २२ घन्टा काममा घोटिएको थियो।

‘छ दिनसम्म भत्केको घरमा थुनिएका पेम्बासम्म पुग्न म आफैंले पाँच घन्टा काम गरे,’ बस्नेतले भने, ‘मेरो टोलीका साथीहरु झनै बढी जोखिम लिएर काम गरिरहनुभएको छ।’ ज्यान जोखिममा राखेर उद्धारमा खटिनु पर्दा पनि बस्नेतलाई कुनै थकाई महसुस भएको छैन। बरु आफनो गाउँको नहरमा बगेको बालकलाई बचाउन नसक्दा लागेको घाउँ क्रमश: पुरिँदै गएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्