दूरदर्शी, प्रेरक हर्क गुरुङ


 


अनिल पोख्रेल

हर्क गुरुङ अन्तर्राष्ट्रिय रूपमा प्रसिद्धि आर्जन गर्न सफल भूगोलविद्, योजनाविद्, सामाजिक विश्लेषक एवम् अन्वेषणकर्ता र चिन्तनशील विद्वान हुन् । उनको जन्म विक्रम संवत् १९९६ मा लमजुङको तराँचे गाउँमा लाहुरे परिवारमा भएको थियो ।

harka gurung 1उनका बुबा भारतीय फौजमा सुवेदार थिए । नौ वर्षको उमेरसम्म उनले गाउँका दौंतरीहरूसँग लेक, बेंसी, भेडीगोठ, खेत र खोला घुम्दै समय बिताएका थिए ।

बालक छँदा उनको मनमा पढ्ने र ज्ञान हासिल गर्ने लालसाले सधैँ सताइरहन्थ्यो । अध्ययन गर्ने इच्छालाई मूर्त रूप दिन बुबाका साथ लागेर काठमाडांैको दरबार हाइस्कुलमा भर्ना भए ।

त्यसपछि उनलाई बुबाले भारतको देहरादुनस्थित त्यहाँको गोर्खाली पल्टनको चिल्डे«न्स स्कुलमा भर्ना गरिदिए । त्यहीँ उनले प्राथमिक तहको अध्ययन गरे भने जालन्धर, पञ्जाबको किङ जर्ज मिलिटरी स्कुलबाट माध्यमिक तहको पढाइ पूरा गरे ।

त्यसपछि उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट भूगोल विषय लिएर आइए उत्तीर्ण गरे । उनले भूगोल विषयमै २०१६ सालमा भारतको पटना कलेजबाट प्रथम श्रेणीमा बिए अनर्स उत्तीर्ण गरे ।

लाहुरे परिवारमा जन्मिए तापनि मोजमस्ती, ऐसआराम भन्दा पनि पढाइ र अनुसन्धानमा तल्लिन रहन्थे । २०१८ सालमा स्कटल्यान्डको एडेनबरा विश्वविद्यालयबाट स्नातकोत्तर तह (एमए) उतीर्ण गरेका उनले २०२२ सालमा सोही विश्वविद्यालयबाट पोखरा उपत्यकाको भूगोल विषयमा विद्यावारिधि (पिएचडी) गरेका थिए ।

भूगोल विषयमा उच्चशिक्षा अध्ययन गरेर उनले भूगोलविद्का रूपमा विशिष्ट छाप छोड्न सफल भएका थिए । गुरुङले नेपालजस्तो विकासोन्मुख मुलुकलाई भौतिक पूर्वाधार र सुविधाको पूर्ण उपयोग गरी वातावरणको विकास र प्रचारप्रसारको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा दिई विदेशी मुद्रा आर्जन गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका थिए ।

डाक्टर गुरुङ बहुमुखी प्रतिभाका धनी थिए । उनले भूगोल, जनसङ्ख्या, जनजाति, पर्यटन, अर्थशास्त्र, पर्वतारोहण, पर्यावरण र विकाससम्बन्धी विभिन्न पुस्तक, प्रतिवेदन र आलेखहरू प्रकाशित गरेका थिए ।

प्रसिद्ध अमेरिकी पत्रिका नेशनल जियोग्राफ्रीमा समेत उनका प्रशस्त लेख र अन्तर्वार्ताहरू प्रकाशित भएका थिए । नयाँ विषयमा खोज र विविध सूचना सङ्कलन गर्न रुचाउने गुरुङले केही समय राष्ट्रिय समाचार समितिमा समाचार अनुवादकका रूपमा समेत काम गरेका थिए । ‘द कमनर’ नामक अङ्ग्रेजी पत्रिकाको खेल पत्रकारका रूपमा समेत उनले केही समय काम गरेका थिए ।

हिमाली क्षेत्रका मनोरम दृश्य र परिवेशलाई तस्बिरमा कैद गरेर उनले राम्रो फोटोग्राफरका रूपमा समेत पहिचान बनाएका थिए । उनले खिचेका तस्बिरहरू विभिन्न पत्रपत्रिका, पुस्तकहरू र त्यसबेलाका सरकारी भित्तेपात्रोहरूमा प्रकाशित छन् ।

डाक्टर गुरुङ चित्रकलामा समेत पोख्त थिए । २०१३ सालमा भएको राष्ट्रव्यापी चित्रकला प्रतियोगितामा उनी प्रथम भएका थिए । त्यसबेला उनले कोरेको डाँफे र मुनालको चित्र पछि गएर हुलाक टिकटका रूपमा समेत प्रकाशित भएको थियो ।

नेपालको सम्पूर्ण भूभागको अध्ययन, अनुसन्धान र अवलोकन गरेका कारण उनलाई ‘नेपाली टोनी हेगन’को उपनामबाट समेत विभूषित गरिएको छ । सरकारी सेवामा पनि उनले काम गरे ।

राष्ट्रिय योजना आयोगको सदस्य र पछि उपाध्यक्षका रूपमा २०२५ देखि २०३२ सालसम्म योजनाकार बने । विकेन्द्रीकरणको अवधारणा सफल बनाउनका निम्ति नेपाललाई २५ वटा जिल्लामा पुनर्वर्गीकरण गर्ने प्रस्ताव ल्याएर उनले आफूभित्र रहेको कुशल प्रशासकीय क्षमतालाई समेत उजागर गरेका थिए ।

उनले त्रिभुवन विश्वविद्यालय, एडेनबरा विश्वविद्यालय, स्कटल्यान्ड र स्कुल अफ् ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज, लन्डनमा प्राध्यापक एवम् शोधनिर्देशकका रूपमा समेत काम गरेका थिए । उनले पञ्चायतकालीन राज्यमन्त्रीका रूपमा शिक्षा, पर्यटन, उद्योग–वाणिज्य, यातायात मन्त्रालयको कार्यभारसमेत सम्हालेका थिए ।

विकास अध्ययन र नक्साङ्कनमा विशेष रुचि भएका डाक्टर गुरुङका १५ वटा पुस्तक, सात वटा यात्रा वृत्तान्त र छ सय ७५भन्दा बढी लेख तथा प्रतिवेदनहरू प्रकाशित छन् । उनका प्रसिद्ध कृतिहरूमा मैले देखेको नेपाल, अन्नपूर्णदेखि धवलागिरीसम्म, फेसेज अफ् नेपाल, नेपालका नक्साहरू आदि हुन् ।

मैले देखेको नेपाल पुस्तकमार्फत उनले नेपालका हरेक भूभाग र त्यहाँको वस्तुस्थितिका बारेमा प्रभावपूर्ण रूपमा आफ्नो धारणा अभिव्यक्त गरेका छन् । यस पुस्तककमा समेटिएका आलेख सामान्य यात्रावृत्तान्त मात्र नभई नेपालको भौतिक भूगोल र सामाजिक, सांस्कृतिक परिवेशबारे विलक्षण विद्वान एवम् अनुसन्धाताका गहन टिप्पणीहरू हुन् ।

उनलाई बाघ विशेषज्ञका रूपमा समेत चिन्ने गरिन्छ । २०६३ साल असोज ७ का दिन कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना व्यवस्थापन स्थानीय तहमा हस्तान्तरण गरी ताप्लेजुङ सदरमुकाम फर्कने क्रममा घुन्सानजिकै विमान दुर्घटनामा परी ६७ वर्षको उमेरमा गुरुङको दुखद् अवसान भयो ।

आज डाक्टर गुरुङ हाम्रासामु नभए पनि उनले संरक्षणका क्षेत्रमा गरेका योगदानका कारण विश्वले गौरव एवम् श्रद्धाका साथ स्मरण गरिरहेछ । उनको जीवनगाथा साँच्चै नै अनुकरणीय छ, जसले नेपाली युवालाई राष्ट्र विकासमा योगदान गर्न र प्रगतिपथमा लम्किन प्रेरणा दिइरहेको छ । डाक्टर गुरुङजस्ता विशेषज्ञ संरक्षणविद् एवम् विकास योजनाकारको अभाव नेपाललाई सधैँ खट्किरहनेछ ।

प्रकाशित मिति: २५ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्