आइपीएलको उपाधि चेन्नईले उचाल्यो, हात पार्यो २० करोड भारु


 


मुम्बई, जेठ १४
शेन वाट्सनको शतकको मद्दतले चेन्नई सुपर किंग्सले सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल)को उपाधि उचालेको छ ।

सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नईले एघारौं आइपीएल क्रिकेटको उपाधि उचालेको हो। चेन्नई यो जितसँगै तेस्रो पटक उपाधि जित्न सफल भएको छ । यससंगै चेन्नईले भारतीय २० करोड रुपैयाँ पनि प्राप्त गरेको छ।

महेन्द्रसिंह धोनीको कप्तानीमा आइतबार साँझ मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर फिल्डिङ रोजेको चेन्नईले हैदरावादलाई १७८ रनमा रोक्यो।

जवाफी व्याटिङ्गमा आएको चेन्नईले शेन वाट्सनको ११७ रनको योगदानमा ९ बल अगावै २ विकेटको क्षतिमा १७९ रनको विजय लक्ष्य भेट्टायो। ५७ बल खेलेका वाट्सनले ११ चौका र ८ चौका प्रहार गरे। आइपीएलको फाइनलमा कुनै खेलाडीले शतक प्रहार गरेको यो पहिलोपटक हो।

चेन्नईको जितमा सुरेश रैनाले ३ चौका र १ छक्कासहित ३२, अम्बाती रायडूले १६ र फाडु प्लेसिसले १० रन जोडे। बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्राथवेटले समान १–१ विकेट लिए।

यसअघि टस हारेर व्याटिङ्गको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन बनायो। हैदरावादका लागि कप्तान केन विलम्सनले ४७ रन बनाए। ३६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।

युसुफ पठानले नटआउट ४५ रन जोडे। २५ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। शिखर धवन २ चौका र १ छक्कासहित २६, शकिब अल हसनले २ चौका, १ छक्कासहित २३ र कार्लोस ब्राथवेटले ३ छक्कासहित २१ रन बनाए।

बलिङतर्फ कर्ण शर्मा, रवीन्द्र जडेजा, डायन ब्राभो, लुंगी निग्दी र शार्दुल ठाकुरले समान १–१ विकेट लिएका थिए।

प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्