अब को बन्ला राष्ट्रपति ?


 


rastapati vawanकाठमाडौं, असोज १

संविधानसभाबाट ३ असोजमा नयाँ संविधान जारी हुँदै छ । संविधान जारी भएसँगै नयाँ राष्ट्रपतिसहित प्रधानमन्त्री परिवर्तन प्रक्रिया पनि सुरु हुनेछ ।

राष्ट्रपतिको उम्मेदवारको चर्चा भए पनि दलहरूबीच औपचारिक छलफल भने भइसकेको छैन । नयाँ संविधानमा गरिएको व्यवस्थाअनुसार ३ असोजमा संविधान जारी भएको बढीमा एक महिनाभित्र नयाँ राष्ट्रपति चयन हुनेछन् ।

राष्ट्रपतिको चर्चामा कांग्रेसमा हालकै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, कांग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङ तथा मानबहादुर विश्वकर्मा छन् । कांग्रेसभित्र हालकै राष्ट्रपति डा. रामवरण यादवलाई नै निरन्तरता दिने विषयमा छलफल हुन थालेको छ ।

पाँच वर्ष पार्टी सभापति र डेढ वर्षदेखि प्रधानमन्त्री रहेका सुशील कोइराला राष्ट्रपतिका लागि इच्छुक छन् । कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारमा केबी गुरुङको पनि चर्चा छ ।

डा. रामवरण यादव, कोइराला नहुने अवस्थामा संस्थापन र देउवा पक्ष दुवैको रोजाइ गुरुङ हुने कांग्रेसका एक नेताले बताए । कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा पनि चर्चामा रहेका राष्ट्रपतिका अर्का उम्मेदवार हुन् ।

कांग्रेसमा आदिवासी, जनजाति, दलितजस्ता समुदायबाट राष्ट्रपति बनाउनुपर्ने माग पनि उठेकाले विश्वकर्मा पनि सम्भावित रहेको केही नेताहरूको भनाइ छ । प्रधानमन्त्रीमा दाबी गर्दै आएको एमालेले राष्ट्रपतिलाई प्राथमिकतामा राखेको छैन ।

एमालेका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीमा अध्यक्ष केपी ओलीलाई पार्टीबाट सर्वसम्मत उम्मेदवारका रूपमा एमालेले अगाडि सार्ने भएको छ । परिस्थिति फरक ढंगले विकसित भएमा र पार्टीले राष्ट्रपति पाउने अवस्थामा एमालेभित्र चार नेताको नाममा अनौपचारिक कुराकानी हुने गरेको छ ।

एकपटक अध्यक्ष र प्रधानमन्त्री भइसकेकाले र महाधिवेशनमा ओलीसँग भद्र सहमति पनि भएकाले वरिष्ठ नेता झलनाथ खनालको नाम पहिलो विकल्पका रूपमा लिने गरिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पनि एमालेबाट राष्ट्रपतिको उम्मेदवार हुन सक्छन् ।

एमालेमा राष्ट्रपतिको सम्भावित उम्मेदवारमा महिला भएकाले विद्या भण्डारीको नाम पनि चर्चामा छ । सभामुख सुवास नेम्वाङ पनि राष्ट्रपतिका बलियो सम्भावित उम्मेदवार हुन् ।

सात वर्ष संविधानसभा अध्यक्ष र सभामुख, जनजाति र कसैलाई नबिझाउने स्वभावका कारण पनि उनको सम्भावना रहेको एमालेका एक नेताले बताए । उता, एकीकृत माओवादीले राष्ट्रपति पद नलिने अनौपचारिक निर्णय गरेको छ ।

एमाओवादी अध्यक्ष प्रचण्डले सेरेमोनियल राष्ट्रपति नबन्ने घोषणा गरिसकेका छन् । सत्तासमीकरणमा एमाओवादीको भागमा राष्ट्रपति परेमा भने त्यसमा अमिक शेरचनको नाम चर्चामा छ । पुराना नेता तथा जनजाति भएकाले पनि उनको सम्भावना रहने एक स्थायी समिति सदस्यले बताए ।

प्रकाशित मिति: १ आश्विन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्