यस्तो छ बाबुराम भट्टराईको पार्टी फुटाउने तयारी


 


baburam-bhattaraiकाठमाडौ, असोज ५

पत्नी हिसिला यमीका साथ विदेश जान लागेका एमाओवादी नेता बाबुराम भट्टराईले अन्तिम अवस्थामा सोमबार यात्रा रद्द गरेका छन् । पार्टी फुटाउने अभियानमा लागेका एमाओवादीको मधेस राष्ट्रिय मुक्ति मोर्चा, नेपालका नेताहरुसँग लामो छलफल भएपछि भट्टराईले यात्रा रद्द गरेका छन् ।

साथै, पार्टीभित्रका मधेसी, जनजाति र अध्यक्ष प्रचण्डसँग असन्तुष्ट नेताहरुलाई जम्मा पारेर पार्टी फुटाउने निष्कर्ष समेत निकालिएको छ ।संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट रहँदै आएका भट्टराई सपत्नी पश्चिमा मुलुकको भ्रमणमा जाँदै थिए ।

हिजो बिहान एमाओवादीका असन्तुष्ट १४ जना मधेसी नेताहरू छलफल र भेटघाटका लागि उनकै निवास सानेपा पुगेका थिए । रामचन्द्र झा, प्रभु साह, रामकुमार शर्मा लगायत मधेसी नेताहरूले भट्टराईलाई नयाँ पार्टी गठनको अभियानमा नेतृत्व लिन आग्रह गरेका थिए ।

उनीहरूबीच तीन घन्टा छलफल भएको थियो । रामचन्द्र झाले प्रचण्डले आफूलाई धोका दिएको भन्दै रोष प्रकट गरेका थिए । त्यसैगरी, अन्य मधेसी नेताहरुले पनि प्रचण्डलाई धोकेबाज नेताका रुपमा चित्रित गरेका थिए ।

एमाओवादीलाई फुटाउन उनीहरु एकमत भए पनि एकले अर्कोलाई बीचैमा धोका दिने, सम्झौता गर्ने कुरामा भने अन्तिम समयसम्म शंका व्यक्त गरेका थिए । खासगरी मधेसी नेताहरुले भट्टराईले खुट्टा टेक्ने हो भने आफूहरु नेता मान्न तयार रहेको बताएका थिए ।

जवाफमा भट्टराईले खुट्टा तपाईंहरुले टेक्नुपर्छ, खासगरी रामचन्द्र झाले खुट्टा टेक्ने हो भने अभियान सफल हुने बताएका थिए । अन्त्यमा भट्टराई र झा दुवैले एकअर्कालाई सहयोग गर्ने र भट्टराईको नेतृत्वमा पार्टी विभाजनको गृहकार्य पूरा गर्ने निर्णय भेलाले गरेको छ ।

यसका लागि पार्टीभित्रका मधेसी, जनजाति र प्रचण्डप्रति असन्तुष्ट अन्य नेताहरुलाई समेत समेट्ने उनीहरुको रणनीति छ । सकेसम्म केन्द्रीय कमिटीमा प्रचण्डविरुद्ध बहुमत पुर्‍याएर अध्यक्षबाट अपदस्थ गर्ने र त्यो सम्भव नभए संसदीय दलबाट ४० प्रतिशत पुर्‍याएर नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने रणनीति उनीहरुले पारित गरेको छलफलमा सहभागी स्रोतले जनाएको छ ।

यसबारेमा मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले पनि पुष्टी गरे । शर्माले पुष्टी गर्दै भने, ‘हो, हामी नयाँ तरिकाले अगाडि बढ्न खोज्दैछौ ।’ हिजै भट्टराईले गंगा श्रेष्ठ, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, नवराज सुवेदी लगायत आफ्नो गुट र पूर्वजनमोर्चाको समूहलाई समेत बोलाएर छलफल गरेका थिए ।

प्रचण्डले तीन दलको संयुक्त सभामा टुँडीखेलमा भाषण गरिरहँदा भट्टराई पक्षीय नेताहरुको बेग्लै भेला सानेमामा भइरहेको थियो । उनीहरुले यसअघि प्रचण्डले नेतृत्व गरेको ३० दलीय मोर्चालाई ब्युँताउनुपर्ने र त्यसको नेतृत्व बाबुराम भट्टराईले गर्नुपर्ने निष्कर्ष समेत निकालेका छन् । यसमा एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई पनि सहमत गराउने प्रयासमा भट्टराई र मधेसी मुक्ति मोर्चाका नेताहरु रहेका छन् ।

ओएनएसबाट

प्रकाशित मिति: ५ आश्विन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्