बाँदरको पिरले गावैं विस्थापित


 


monkey - Copyभोजपुर, असोज ६
कतै बाढीले विस्थापित, कतै पहिरोले विस्थापित त कतै हात्तिको डरले विस्थापित । तर पूर्वि पहाडी जिल्ला भोजपुरको केही गाउँमा भने बाँदरका कारण पुरै गाउँ नै विस्थापित भएका छन् ।

बाँदरका कारण बास्तिम गाविस—३ को लेकगाउँ पुरै विस्थापित भएको छ । बाँदरले खेतबारीमा लगाएको कमाई खाएपछि यहाँका पुरै परिवार विस्थापित भएका हुन् ।

उनिहरु अन्यत्र बसाँइ सर्न बाध्य भएका छन् भने यो गाउँ पुरै बाँझिएको छ । खेतबारीमा लगाएको कमाई उठाउन नपाएपछि यही ठाउँका महेन्द्र पाण्डे मोरङ बसाँइ सरेर गएका छन् भने उनको जग्गा बाँझै छ ।

पाण्डे जस्तै गुमानसिंह कार्की, टेकबहादुर कार्की, गोपाल सार्कीको परिवार पनि आफ्नो सयौं रोपनी जग्गा छाडेर अन्यत्र बसाँइ सर्न बाध्य भएका छन् । यही ठाउँका इन्द्रबहादुर कार्की, कुमार कार्की, हर्कबहादुर कार्की, धनबहादुर खत्री लगायत दर्जनौ यो टोलका स्थानीय बसाँइ सरेका छन् भने यो ठाउँ पुरै सुनसान बनेको छ ।

घर थोत्रा भएका छन् भने खेतबारी बाझै छन् । त्यस्तै सदरमुकाम नजिककैको रहेको आम्तेक गाविसका दर्जनौ परिवार बाँदरकै कारण विस्थापित भएका छन् ।

खेतबारीमा लगाएको कमाई बादरले नष्ट गरेपछि आम्तेक—१ का गणेशबहादुर श्रेष्ठ टक्सार गाविसमा बसाँइ सरेर आएका छन् । आम्तेकमा रहेको ३० रोपनी बढी जग्गा बाँझै छाडेर श्रेष्ठले टक्सारमा खेतबारी किनेर बसोबास गर्न थालेका छन् ।

दुःख गरेर कमाइ लगायो बाँदरले सबै सखाप पारदिन्छ, दिनहुँ बादरले सताउन थालेपछि गाउँबाटै विस्थापित भएको श्रेष्ठले बताए । लगाएको कमाई बाँदरले उठाउन नदिएपछि यहाँका थुप्रै परिवार विस्थापित भएका छन् भने अन्यत्र बसाँइ सर्न बाध्य भएका छन् ।

यही ठाउँका भिम बहादुर विक आफ्नो घरबारी छाडेर अन्यत्र जान बाध्य भएका छन् । विक जस्तै छामरानी राईको परिवार धरान बसाँइ सरेको छ ।

सिताराम राई धरान नै बसाँइ गएका छन् भने उनको जग्गामा बाँदरको रजाँइ छ । घरमा लगाएको मकैको थांग्रोमा समेत बाँदरले खान थालेपछि यस क्षेत्रका स्थानीय त्रसित भएका छन् भने घर नै छाडेर अन्यत्र तथा जिल्ला बाहिर बसाँइ सर्न थालेका छन् ।

जसले दिनहुँ गाउँ खाली बनेका छन् भने घरजग्गा रित्ता र बाँझै अवस्थामा देखिन्छन् । कृषक धमाधम गाउँ छाडेर हिड्न थालेपछि बाँदर अन्य गाँउतिर जाँदा थप अन्य गाउँका सर्वसाधारण हैरान बनेका छन् ।

यस क्षेत्रका किसानको मुख्य बालीको रुपमा रहेकोे मकै, कोदो धान लगायत बाली बाँदरले खाए पछी किसानहरु चिन्तित बनेका हुन । बर्षेपिच्छे बाँदरले बितण्डा मच्चाउँन थालेपछि गाउँले सुरक्षित ठाउँमा सर्न बाध्य भएका हुन् ।

बाँदरले न कमाई लगाउन दिन्छ, न पाकेको बाली उठाउन न नै दिन्छ, विस्थापित भएका श्रेष्ठले भने पाँच बर्षदेखी बाँदरले सताउन थालेपछि सुरक्षित स्थानमा बसाई सर्न बाध्य भयौं । बास्तिम र आम्तेकका कृषक मात्रै हैन् जिल्लाको अधिकांश ठाउँका मानिस यतिबेला बाँदरका कारण हैरान भएका छन् ।

कोट, गागने, खावा गाविस लगायतका कृषकको पीडा एकै छ । गाउँमा बाँदर खेद्ने मान्छे नहुँदा अझ समस्या बढेको उनिहरुको भनाई छ । धेरै युवा विदेश गएका छन्, बृद्धबृद्धा मात्र घरमा छन्, आम्तेकका भरत कार्कीले भने उनिहरु बाँदर खेद्न सक्दैनन् लगाएको बाली सबै बाँदरले खान्छ ।

बाँदर तर्साउन प्रयोग गरिने घरेलु हतियार भरुवा बन्दुक प्रशासनले संकलन गरेपछि बाँदरको सङख्या बढेको कृषकहरुको भनाई छ । गत बर्ष भोजपुरमा ठुलो संख्यामा अबैद्य हतियार संकलन भएको थियो ।

अबैद्य हतियार संकलन सँगै गाउँलेहरुले बाँदर खेद्नका लागि भरुवा बन्दुक राख्न पाउनु पर्ने माग राख्दै प्रशासनमा निवेदन दिएका थिए । बादरले सताएको भन्दै स्थानीयले प्रशासनमा उजुरी समेत दिने गरेका छन् ।

प्रकाशित मिति: ६ आश्विन २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्