विवादस्पद अभिव्यक्ति दिँदा तामाङको मन्त्री पद गुम्यो, अाजै राजीनामा दिँदै


 


काठमाडौं, साउन ८
बंगलादेशमा चिकित्सा शास्त्र पढ्न जाने नेपाली छात्राहरुको चरित्रमाथि असर पर्ने गरि अभिव्यक्ति दिएका मन्त्री शेरबहादुर तामाङको मन्त्री पद गुमेको छ ।

मन्त्रीको अभिव्यक्तिको सर्बत्र आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको हो ।

उनले आजै दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने तयारी गरेको जनाइएको छ ।

नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनुपरेको दाबी गरेका थिए ।

उनले आफ्नो अभिव्यक्तिको आलोचना भएपछि विज्ञप्ति निकाल्दै माफी मागेका थिए । तर, उनले आफ्नो अभिव्यक्तिको भने बचाउ नै गरे ।

डा. गोविन्द केसीको अनसनलाई लिएर सरकारको आलोचना हुँदै गएपछि नेकपाले हिजो साँझ मात्रै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: ८ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्