शीर्ष नेताहरुको कस्तो हुँदैछ दशैँ ?


 


काठमाडौं, असोज २९

नेपालीहरुको महान चाड दसैंको रमझममा अधिकांश नेपाली रमाइरहेका छन् । राजनीतिक दलका अधिकांश शीर्ष नेता पनि काठमाडौंमै आफन्त, शुभेच्छुक तथा कार्यकर्ताका साथ दसैं मनाउने तयारीमा छन् ।

अघिल्लो दसैंको फुर्सदमा बाम गठबन्धन बनाएर निर्वाचनको तयारीमा जुटेका नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले यस वर्षको दसैंलाई पनि पार्टी एकीकरणको बाँकी प्रक्रिया टुंग्याउन प्रयोग गर्ने तयारीमा लागेका छन् ।

पार्टी सत्तामा पुगेपछि कार्यव्यस्तताका कारण एकीकरणसम्बन्धी काममा समय दिन नभ्याएको बताउँदै आएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तल्ला कमिटी एकीकरणको मोडालिटी तय गर्न दसैंको फुर्सदिलो समयलाई उपयोग गर्ने तयारीमा हुनुहुन्छ ।

दुवै अध्यक्षको काठमाडौंमा नै दसैं बनाउने कार्यक्रम छ । प्रधानमन्त्री ओली यसअघि दसैंमा केही दिन गृह जिल्ला झापा जाने गनुहुन्थ्यो । यस पटक उहाँ एक दिन मात्र झापा आउने र बाँकी समय काठमाडौंमै बस्ने तय भएको छ । टीकाको दिन पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै टीका लगाउनु हुने भएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भने यसपटक पुत्र शोक परेकाले दसैंमा टीका नलगाउनु हुने भएको छ ।

टीका नलगाए पनि आफन्त, शुभेच्छुक र कार्यकर्तासँग भेटघाट गरेर खुमलटारस्थित निवासमा नै उहाँले दसैं मनाउने तयारी गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दसैं पनि काठमाडौंमै हुने भएको छ । सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमै दसैं मनाउने तय भएको उनको निजी सचिवालयले जनाएको छ ।

नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालको दसैं पनि काठमाडौंमै बित्ने भएको छ । नेता नेपालको गृह जिल्ला रौतहट र खनालको गृह जिल्ला इलाम हो ।

प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्