वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २१० रनको लक्ष्य


 


काठमाडौं, वैशाख २० । वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले ।

यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे ।

सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए ।

दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड–विकेटमा क्याच आउट भए ।

१४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए ।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए ।

अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई–दुई ओभरमा क्रमशः १५ र २५ रन दिए ।

प्रकाशित मिति: २० बैशाख २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्