जाे ७० वर्षदेखि जंगलमा छन्…


 


स्याङ्जा–घरमा श्रीमति, तीन छोरा र एक छोरी । नातिनातिना त १२ जनान पुगिसके। तर, उनी ७० वर्षदेखि घना जङ्गलमा एक्लै बस्छन्। स्याङ्जाको दुर्गम गाउँ वाङसिङ–८ का डिल्लीराम उपाध्यायको दैनिकी झवाट्ट हेर्दा कहालीलाग्दो छ। सात वर्षको उमेरदेखि नै घरबाट झण्डै पाँच सय मिटरको दुरीमा रहेको गोपेको पातलाखर्क जङ्गलमा बस्न सुरु गरेका उनी कुनै बाध्यताले जङ्गल बसेका भने होइनन्। निरन्तर ७० वर्षदेखि घना जङ्गलकोबीच बस्दै आएका उनलाई अहिले पनि घर भन्दा जङ्गल नै प्यारो छ। ‘जङ्गलमा राम्रो कमाई छ, घरमा के छ र?’ जङ्गलमा एक्लै १० वटा भैसी पाल्दै आएका उनी जंगल बस्नुको कारण खोल्छन्, ‘बाजे र बाबुको पेशा पछ्याएको मात्रै हो।’
जंगलमा भैसी बाध्ने सामान्य टहरो छ। त्यही टहरोमा भैसीसँगै उनले रात काट्दै आएका छन्। ‘बिहान भएपछि भैसी फुकाएर चर्न पठाउछु’, उनले भने, ‘बेलुका भएपछि भैसी आफैं टहरोमा आइपुग्छन्।’ चारैतिरबाट स्याउलाले बारिएको टहरोको बीचमा बस्छन् उनी। टहरोमा न बत्ती छ, न ढोका नै छ। उनको जङ्गलको साथी भनेकै भैसी र आगो हो। टहरोभित्रै रहेको अगेनामा आगो बाल्छन् उनी।
‘आगो भएपछि के को डर?’ जंगलमा एक्लै बस्दा डर लाग्दैन भन्ने प्रश्न गर्दा उपाध्यायले भने, ‘जंगल छाडेर घरमा त बस्न मनै लाग्दैन।’ जंगलमा पालिएका भैसीबाट कमाई पनि लोभलाग्दो छ। उनले दुध बिक्रीबाट मात्रै बार्षिक दुई लाख कमाउछन्। घिउ बिक्रीको कमाई पनि कम नभएको उनी बताउछन्। ‘दुई/दुई लाखको दुध र घिउ बिक्री गर्छु’ जङ्गलको कमाईका बारेमा उनी भन्छन्–’स्याङ्जा सदरमुकामदेखि घिउ खोज्दै म कहाँ आउने गरेका छन्।’ दुध भने गाउँमै बिक्री हुने गरेको उनले बताए।

प्रकाशित मिति: ८ जेष्ठ २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्