सरकारले गर्यो सोलुखुम्बुमा हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार


 


सोलुखुम्बु -सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयदेखि प्र्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको छ ।

डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवं युवा सङ्घ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गर्भवती महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो । दुई दिनसम्म प्रसव बेथा लगेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि पठाइएको बताइएको छ ।

गत मङ्सिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवती महिला पार्वती बस्नेतकोसमेत उद्धार गरिएको थियो । घरआँगन नामक संस्थाका अध्यक्ष दीपक सिलवालका अनुसार विभिन्न जिल्लाका सात जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ ।

एक्काइस प्रतिशत महिला बीस वर्षभन्दा कम उमेरमै आमा

सोलुखुम्बुमा आर्थिक वर्ष २०७४÷२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् ।

सोलुखुम्बु जिल्ला अस्पतालको प्रसूतिगृहमा प्रसूति गराउन आएका महिलामध्ये २१ प्रतिशत २० वर्ष नपुगेरै आमा बन्ने गरेको चिकित्सकको भनाइ छ । २०२ जना आमामध्ये ६१ महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । जम्मा ३०२ जनामध्ये ४१ जनाको शल्यक्रिया गरेर बच्चा जन्माएका र बाँकी २६३ जनाको सामान्य तरिकाबाट बच्चा जन्माएको जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी सानी शेर्पाले बताउनुभयो ।

छ गर्भवती महिलाको ज्यान गयो

गत आर्थिक वर्ष २०७४÷०७५ मा सोलुखुम्बुमा छ जना गर्भवती महिलाले ज्यान गुमाएका छन् ।

छेस्काम पेल्माककी ३२ वर्षीया महिला र देउसा चेराखुकी १८ वर्षीया महिलाको शाल अडकिएर तथा अत्यधिक रक्तस्राव भएर मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

त्यसैगरी टाक्सिन्दु रिङमुकी ५० वर्षीय महिला र देउसा गैरीगाउँकी १८ वर्षीया महिलाकोे अत्यधिक रक्तस्रावका कारण ज्यान गएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै काँकु नामकी २४ वर्षीया महिला र देउसा रनेमकी ३० वर्षीया अर्की महिलासहित गत वर्षमा छ जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये चारको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँच नगराउनु वा अस्पतालमा प्रसूति नगराउनु मुख्य कारण रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डाक्टर मिङ्मार ग्याल्जेन शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति: २० पुस २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्