प्रदेश नं १ को नाम र राजधानी चाँडै : मुख्यमन्त्री राई


 


काठमाडौं, पुस २१

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी चाँडै टुंगिने बताउनु भएको छ । किराँत राई यायोक्खा काठमाडौँले शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरेको साकेला उधौली कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेश संसद्को आगामी हिउँदे अधिवेशनबाट प्रदेश नं १ को नामकरण टुङ्गो लगाइने बताउनुभयो ।

“अब केही समयपछि प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउँदैछौँ त्यसले प्रदेशको स्थायी राजधानी र नामाकरणका विषय टुङ्गो लगाउनु छ । यी दुवै विषयमा छलफल र बहस व्यापक बनाएका छौँ । लामो समयदेखि बहसका विषय रहेको चुनौतीपूर्ण भए पनि यसलाई सहमतिका आधारमा टुङ्गो लगाउछौँ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री राईले प्रदेशको नाम किराँत राख्नेबारे सम्बद्ध निकाय र विज्ञको राय लिइएको र अन्य विचार र भावनालाई पनि आत्मसात् गरी तथ्यपूर्ण र तर्कपूर्ण आधारको जगमा उभिएर नामाकरणका विषयलाई निरुपण गरिने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री राईले भूमि पूजक किराँती समुदायले हर्षोल्लासका साथ मनाउने साकेला सांस्कृतिक चाडको आफ्नै गरिमा र महत्व रहेको उल्लेख गर्दे सामाजिक सद्भाव, एकता र भाइचारा अभिवृद्धिमा साकेलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

मुलुक परिवर्तनका लागि रामप्रसाद राई, नारदमणि थुलुङ, रन्तकुमार राई आदि किराँती योद्धाको अथक योगदान रहेको बताउँदै ऐतिहासिक सांस्कृतिक किराँती धरोहर र सम्पदाको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राईले किराँतीको मुख्य देवता तीन चुलामा आगो बाली सुम्निमा र पारूहाङको तस्बीरमा माल्यार्पण गरेर उद्घाटन गर्नुभएको साकेला उधौली नाच साकेला थानमा गोलाकार भएर नाच प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री राईसहित किराँती समुदायका अगुवा, सांसद, कलाकार आदिको उपस्थित रहेको थियो ।

प्रकाशित मिति: २१ पुस २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्