देउवाको नेतृत्वमा छाँया सरकार बनाउँदै काँग्रेस


 


काठमाडौँ, पुस २५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोली बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गर्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको वक्तव्यप्रति सांसदहरुले प्रश्न गर्न पाउने अधिकारबाट सभामुख महराले वञ्चित गराएको निष्कर्ष निकाल्दै भोली बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरेको हो ।

संसद नियमावली र संसदीय विधि अनुरुप पनि संसद सदस्यहरुलाई प्रधानमन्त्रीसँग प्रश्न गर्ने व्यवस्था गरिदिन सभामुख महरालाई आग्रह गरिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

संसद् सदस्यहरुको अधिकारलाई सुनिश्चित गर्न पनि सभामुख महराले प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउने व्यवस्था गर्नुपर्ने कांग्रेसको भनाइ छ । कांग्रेस संसदीय दलले सभामुख महरालाई सदनको गरिमा बचाउन र साझा व्यक्तिको रुपमा भूमिका निर्वाह गर्न पनि ध्यानाकर्षण गराएको छ ।

यसैबीच सरकारको कामलाई सन्तुलन कायम राख्न भन्दै कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार गठन भएलगत्तै छायाँ सरकार बनाउने भनेर चर्चा भए पनि सरकार गठन भएको १० महिना पछि मात्रै कांग्रेसले छायाँ सरकार बनाउने तयारी थालेको हो ।

कांग्रेसको विधानमा नै विपक्षी दलको नेतृत्वमा रहेको सरकारको कामलाई सन्तुलनमा राख्न छायाँ सरकार बनाउने प्रावधान राखेको छ । काँग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाया सरकार बनाउने तयारी गरेको हो ।

प्रकाशित मिति: २४ पुस २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्